News Portal

वैदेशिक रोजगारीले थपेको पीडा, एउटाको शव नआउँदै अर्काे बिदेशिन तयार

हिमाली संचार संवाददाता
४५५ पटक

टीकाराम नेति
झापा : वैदेशिक रोजगारीका लागि कुवेत गएका झापा शिव सताक्षी नगरपालिका माईधारका विष्णु घिमिरेको लास बाकसमा बेरिएर आएको घटना सेलाउन नपाउँदै उनकै भाइ गोकुल घिमिरे रोजगारीका लागि कतार गए । घिमिरेको घर नजिकै राजेश बजगाईंको घर छ । उनको घरमा पनि कुवेतको रोजगारीबाट प्राप्त रकमले घरपरिवारको खर्च टर्दै आएको थियो । त्यहाँ कार्यरत ठूलो बुबा यज्ञप्रसाद बजगाईंको लास आएको केही साता बित्न नपाउँदै राजेश पनि रुँदै वैदेशिक रोजागारीका लागि दुबईतर्फ लागे ।

नजिकैमा ओम चापागाईंको घर छ । साउदीमा मृत्यु भएको ६ महिनापछि २ साताअघि उनको लास घर आइपुग्यो तर मृतकका चार जना दाजुभाइ र एक बुहारी कसैले पनि किरिया गर्न पाएनन् किनभने उनीहरू सबै विभिन्न मुलुकमै रोजगारीका लागि गएका छन् ।

यसरी विदेशबाट लास आएको घाउ र पीडा सेलाउन नपाउँदै त्यही घरका अन्य सदस्य पनि धमाधम बिदेसिन बाध्य छन् । मुनाले परिवारको पालनपोषणको सम्पूर्ण भरोसाको केन्द्रबिन्दु रहेका एकमात्र यज्ञप्रसाद बजगाईंको कुवेतबाट बाकसमा बेरिएर लास आएको १० महिनापछि आफैले पालनपोषण गर्दै आएका देवर राजेशलाई केही महिनाअघि दुबई पठाउन भ्याइन् । तर, पनि परिवार पाल्न गाह्रो भएपछि मुना आफैं पनि वैदेशिक रोजागारीमा जाने सोचमा छिन् ।

मुना भन्छिन्, ‘घर चलेको पनि विदेशले नै हो, घर उजाडिएको पनि विदेशले नै हो । म अहिले दोधारमा छु, घरमा बसेर के गर्नु ? छोराछोरी भोकै हुने भए, वैदेशिक रोजगारीमा जानैपर्छ होला । म पनि बाकसमै बेरिएर त आउने होला नि । देवरलाई त पठाएँ, म किन बस्नु ?’

मंसिरमा कुवेतमा मृत्यु भएका विष्णुप्रसाद घिमिरेको किरिया गर्न मात्र घर आइपुगेका गोकुल घिमिरे पनि दाजुको किरिया सकेलगत्तै कतार गए । घिमिरे परिवारका एक बुहारीसहित ६ जना विभिन्न खाडी मुलुकमै छन् । मृतक विष्णुकी श्रीमती कमला भन्छिन्, ‘जुन घरमा विदेशबाट लास आउँछ, त्यही घरमा झन् विदेश जाने क्रम बढ्दो छ । यहाँ बसेर के गर्नु ? न सरकारले रोजगार दिन सक्छ न त भाषण गरेजस्तो काम गर्न सक्छ ।

श्रीमान् विष्णुको कुवेतमा उपचार गरेको अस्पतालको खर्चबापतको ३५ लाख रुपैयाँ भुक्तान गर्न नसक्दा करिब ६ महिना पछि मात्र लास ल्याएर १७ दिनअघि दाहसंस्कार गरिएको थियो । पीडितहरूका अनुसार जीविकोपार्जन गर्न कुनै पनि उपाय नभएपछि आफन्तको विदेशबाट आएको लासको प्रवाह नगरी आफूहरू पनि रोजगारीका लागि बिदेसिन बाध्य हुनुपरेको छ ।

उता, जिउँदो श्रीमान्को किरिया गर्न बाध्य मोरङ बेलवारीकी सन्तोषी तामाङ पनि परिवार पाल्न नसक्ने अवस्थामा पुगेपछि वैदेशिक रोजगारमा गएर भए पनि परिवारको गर्जो टार्ने सोचमा पुगेकी छन् । सन्तोषीका श्रीमान् साउदीको एक अस्पतालमा कोमामा उपचाररत हुँदा हुँदै हुन्डाई कम्पनीले एसओएस मेनपावरको पहल र नेपाल सरकारले अर्कैको लासमा उनको पासपोर्ट डकुमेन्ट राखेर पठाएपछि जिउँदो सुवासको किरिया परिवारले गरेको थियो ।

सरकारले स्वदेशमै रोजगार सिर्जना गर्न नसक्दा र वैदेशिक रोजगारको दलदलमा फसेपछि त्यहाँबाट माथि उठ्न नसकेका कारण मृत्युसँग मान्छेलाई डर लाग्न छाडेको उनले बताइन् । तीनवटै तहका सरकार यस विषयमा गम्भीर बन्नुपर्ने शिव सताक्षी नगरपालिका उपप्रमुख भोजकुमारी नेपालले बताइन् । उनले भनिन्, ‘जुन घरमा लास आए पनि वैदेशिक रोजगार यहाँको रहर नभई बाध्यता हो ।

जिल्ला प्रशासन कार्यालय झापाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३÷०७४ मा २० जना र आव २०७४÷७५ मा २७ जना झापालीको वैदेशिक रोजगारका क्रममा मृत्यु भएको छ । यसमा अवैध बाटो हुदै जानेहरूको संख्या भने समावेश गरिएको छैन । यसैगरी, वैदेशिक प्रवर्धन बोर्डको तथ्यांकअनुसार यो वर्षको पुस मसान्तसम्मको ११ महिने अवधिमा २२ महिलासहित ७ सय ८८ जना विभिन्न मुलुकमा काम गर्न गएका कामदारको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...