News Portal

  • वैदेशिक रोजगारीले थपेको पीडा, एउटाको शव नआउँदै अर्काे बिदेशिन तयार

    हिमाली संचार संवाददाता
    ३८१ पटक

    टीकाराम नेति
    झापा : वैदेशिक रोजगारीका लागि कुवेत गएका झापा शिव सताक्षी नगरपालिका माईधारका विष्णु घिमिरेको लास बाकसमा बेरिएर आएको घटना सेलाउन नपाउँदै उनकै भाइ गोकुल घिमिरे रोजगारीका लागि कतार गए । घिमिरेको घर नजिकै राजेश बजगाईंको घर छ । उनको घरमा पनि कुवेतको रोजगारीबाट प्राप्त रकमले घरपरिवारको खर्च टर्दै आएको थियो । त्यहाँ कार्यरत ठूलो बुबा यज्ञप्रसाद बजगाईंको लास आएको केही साता बित्न नपाउँदै राजेश पनि रुँदै वैदेशिक रोजागारीका लागि दुबईतर्फ लागे ।

    नजिकैमा ओम चापागाईंको घर छ । साउदीमा मृत्यु भएको ६ महिनापछि २ साताअघि उनको लास घर आइपुग्यो तर मृतकका चार जना दाजुभाइ र एक बुहारी कसैले पनि किरिया गर्न पाएनन् किनभने उनीहरू सबै विभिन्न मुलुकमै रोजगारीका लागि गएका छन् ।

    यसरी विदेशबाट लास आएको घाउ र पीडा सेलाउन नपाउँदै त्यही घरका अन्य सदस्य पनि धमाधम बिदेसिन बाध्य छन् । मुनाले परिवारको पालनपोषणको सम्पूर्ण भरोसाको केन्द्रबिन्दु रहेका एकमात्र यज्ञप्रसाद बजगाईंको कुवेतबाट बाकसमा बेरिएर लास आएको १० महिनापछि आफैले पालनपोषण गर्दै आएका देवर राजेशलाई केही महिनाअघि दुबई पठाउन भ्याइन् । तर, पनि परिवार पाल्न गाह्रो भएपछि मुना आफैं पनि वैदेशिक रोजागारीमा जाने सोचमा छिन् ।

    मुना भन्छिन्, ‘घर चलेको पनि विदेशले नै हो, घर उजाडिएको पनि विदेशले नै हो । म अहिले दोधारमा छु, घरमा बसेर के गर्नु ? छोराछोरी भोकै हुने भए, वैदेशिक रोजगारीमा जानैपर्छ होला । म पनि बाकसमै बेरिएर त आउने होला नि । देवरलाई त पठाएँ, म किन बस्नु ?’

    मंसिरमा कुवेतमा मृत्यु भएका विष्णुप्रसाद घिमिरेको किरिया गर्न मात्र घर आइपुगेका गोकुल घिमिरे पनि दाजुको किरिया सकेलगत्तै कतार गए । घिमिरे परिवारका एक बुहारीसहित ६ जना विभिन्न खाडी मुलुकमै छन् । मृतक विष्णुकी श्रीमती कमला भन्छिन्, ‘जुन घरमा विदेशबाट लास आउँछ, त्यही घरमा झन् विदेश जाने क्रम बढ्दो छ । यहाँ बसेर के गर्नु ? न सरकारले रोजगार दिन सक्छ न त भाषण गरेजस्तो काम गर्न सक्छ ।

    श्रीमान् विष्णुको कुवेतमा उपचार गरेको अस्पतालको खर्चबापतको ३५ लाख रुपैयाँ भुक्तान गर्न नसक्दा करिब ६ महिना पछि मात्र लास ल्याएर १७ दिनअघि दाहसंस्कार गरिएको थियो । पीडितहरूका अनुसार जीविकोपार्जन गर्न कुनै पनि उपाय नभएपछि आफन्तको विदेशबाट आएको लासको प्रवाह नगरी आफूहरू पनि रोजगारीका लागि बिदेसिन बाध्य हुनुपरेको छ ।

    उता, जिउँदो श्रीमान्को किरिया गर्न बाध्य मोरङ बेलवारीकी सन्तोषी तामाङ पनि परिवार पाल्न नसक्ने अवस्थामा पुगेपछि वैदेशिक रोजगारमा गएर भए पनि परिवारको गर्जो टार्ने सोचमा पुगेकी छन् । सन्तोषीका श्रीमान् साउदीको एक अस्पतालमा कोमामा उपचाररत हुँदा हुँदै हुन्डाई कम्पनीले एसओएस मेनपावरको पहल र नेपाल सरकारले अर्कैको लासमा उनको पासपोर्ट डकुमेन्ट राखेर पठाएपछि जिउँदो सुवासको किरिया परिवारले गरेको थियो ।

    सरकारले स्वदेशमै रोजगार सिर्जना गर्न नसक्दा र वैदेशिक रोजगारको दलदलमा फसेपछि त्यहाँबाट माथि उठ्न नसकेका कारण मृत्युसँग मान्छेलाई डर लाग्न छाडेको उनले बताइन् । तीनवटै तहका सरकार यस विषयमा गम्भीर बन्नुपर्ने शिव सताक्षी नगरपालिका उपप्रमुख भोजकुमारी नेपालले बताइन् । उनले भनिन्, ‘जुन घरमा लास आए पनि वैदेशिक रोजगार यहाँको रहर नभई बाध्यता हो ।

    जिल्ला प्रशासन कार्यालय झापाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३÷०७४ मा २० जना र आव २०७४÷७५ मा २७ जना झापालीको वैदेशिक रोजगारका क्रममा मृत्यु भएको छ । यसमा अवैध बाटो हुदै जानेहरूको संख्या भने समावेश गरिएको छैन । यसैगरी, वैदेशिक प्रवर्धन बोर्डको तथ्यांकअनुसार यो वर्षको पुस मसान्तसम्मको ११ महिने अवधिमा २२ महिलासहित ७ सय ८८ जना विभिन्न मुलुकमा काम गर्न गएका कामदारको मृत्यु भएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अविरल वर्षाले देशभर बाढी र पहिरो, ११ मुख्य राजमार्ग प्रभावित

    देशभर लगातार भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले ठूला क्षति पुर्‍याउँदै गएका...

    १५ वर्षीय बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो

    विराटनगर, साउन ४ – उदयपुरका एक १५ वर्षीय बालकको पेटभित्र अड्किएको कैंची नोबेल मेडिकल कलेज...

    सिद्धान्त हराएको राजनिति – कमला थापा

    २०८२ साउन ४ गते। पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी सक्रिय राजनितिमा फर्किने र एमालेको पार्टि अध्यक्ष हुने...

    झण्डै दशकपछि एमाले कार्यालयमा विद्यादेवी भण्डारी, अध्यक्ष ओलीसँग महत्वपूर्ण भेटवार्ता हुने

    काठमाडौं, साउन ४ – झण्डै १० वर्षअघि एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएर राष्ट्रपतिको पद सम्हालेकी...

    अक्टोबरमा एनआरएनएको अधिवेशन हुनै सक्दैन, कानुनी रूपमा पनि अघि बढ्छौं : अध्यक्ष श्रेष्ठ

    काठमाडौँ, साउन ४ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले सर्वोच्च अदालतको...