News Portal

ठेक्का लिएर पप्पुले बनाएनन पुल

हिमाली संचार संवाददाता
४७४ पटक

हरिराम उप्रेती
गोरखा : ठेक्का सम्झौताअनुसार काम भएको भए गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार र चितवनको इच्छा मनकामना गाउँपालिका चुमखोला गत वर्ष नै सडक सम्पर्कमा जोडिने थिए । पृथ्वीराजमार्गमा पर्ने उक्त रुटमा त्रिशूली नदीमाथि निर्माण गरिने मोटर पुलको ठेक्का पप्पु कन्स्ट्रक्सनले पाएको थियो ।

सम्झौताको अवधि सकिएको वर्ष दिन बित्यो। पुल अझै बनेको छैन। ०७४ पुस २९ सम्म निर्माण सक्ने सम्झौता थियो। ०७१ असार २९ मा ठेक्का सम्झौता गरेको कम्पनीले हालसम्म दुवैतर्फ पिलर मात्र उठाएको छ। त्यसभन्दा अघि काम बढेको छैन।

०७४ को असारयता निर्माणस्थलमा ठेकेदार कम्पनीका कामदार नआएको भन्दै स्थानीय आक्रोशित छन्। ‘काम गर्छु भनेपछि समयमै सक्नुपथ्र्यो। दुई/चार महिना यताउता भएको होइन, वर्षौँ बितिसक्यो,’ बुट्टारका मीनबहादुर सुनारले भने, ‘ठेकेदारका मान्छेलाई सोध्यो, सुरु गरिहाल्छौं भन्छन् तर आउँदैनन्।’ पुल निर्माणलाई गति दिन माग गर्दै केही समयअघि सडक डिभिजनमा प्रमण्डलसमेत गएको उनले बताए।

स्थानीयले निर्माणको काम छिटो अघि बढाउन माग गरेपछि गत असोज १ मा बाह्रकिलो–छेवेटार–भालुस्वाँरा सडक आयोजनाका तत्कालीन प्रमुख, ठेकेदार र पुल निर्माण महाशाखाका प्रतिनिधिलगायत बुट्टार पुगेर तिहारलगत्तै काम थाल्ने बताएका थिए। मेसिनरी सामग्री लैजान ठेकेदार कम्पनीलाई सुविधाका लागि बेलिब्रिज निर्माणका विषयमा पनि उक्त बैठकमा छलफल भएको थियो। ‘असोजताका तिहारलगत्तै काम सुरु गर्ने भनेका थिए। अहिलेसम्म कोही मान्छे साइटमा आएका छैनन्,’ सुनारले भने, ‘अब केही उपाय लागेन।’

मोटर पुलको उक्त योजनामा हालसम्म ३० प्रतिशत मात्रै प्रगति भएको बाह्रकिलो–छेवेटार–भालुस्वाँरा सडक आयोजना प्रमुख रवीन्द्रकुमार दासले बताए। ‘ठेकेदारले निर्माण सामग्री र इक्युपमेन्ट बुट्टारसम्म पुर्‍याउन समस्या परेको बहाना गर्दै आएको छ,’ उनले भने। प्राविधिक समस्याका कारण पुल निर्माणले गति लिन नसकेको उनले बताए।

‘जमिनबाट २४ मिटर तल खन्नुपर्ने थियो, १४ मिटर खनेपछि कडा चट्टान भेटियो,’ दासले भने, ‘चट्टान फोड्न रोटरी ड्राइभिङ मेसिन चाहिने भयो। त्यो मेसिन गोरखातर्फ लान नसक्दा काम हुन सकेन।’ ५ सय टनको उक्त मेसिन गोरखातर्फ ल्याउन बेलिब्रिज वा कुनै वैकल्पिक उपायको खोजी भइरहेको आयोजना कार्यालयले जनाएको छ। साँघुरो बाटोका कारण अन्य सडकबाट मेसिन निर्माणस्थल लैजान गाह्रो परेको उनले दाबी गरे।

असोज १ को छलफलमा बेलिब्रिज जडान भए निर्माण व्यवसायीले चट्टान फोर्ने मेसिन लगेर काम गर्ने प्रतिबद्घता जनाएका थिए। ‘पुल निर्माणस्थलभन्दा डेढ किलोमिटर तल–माथि दुवैतर्फ क्षेत्रको स्थलगत अध्ययन पनि गर्‍यौं। ६०/७० मिटर पानीको बहाव नै छ,’ प्रमुख दासले भने, ‘बेलिब्रिज पनि ५० मिटरको मात्र हुन्छ।’ उक्त ठेकेदार कम्पनीलाई ०७६ माघसम्म म्याद थप गरिदिने तयारी भएको दासले बताए।

आयोजनाले बेलिब्रिज जडान नगरेका कारण ठेकेदार कम्पनीले काम गर्न नसक्ने जवाफ सडक विभागलाई दिएको स्रोतले जनायो। पुल निर्माण नहुँदा स्थानीयमा निराशा रहेको गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए। ‘धेरै पटक काम चाँडो सुरु गर्न भन्यौं। अहिलेसम्म भएन,’ उनले भने। १७ करोड लागत रहने पुल १ सय ५१ मिटर लम्बाइको हुने डिजाइनमा छ। ठेक्का लिएको कम्पनीले चार वर्षसम्म काम नगर्दा पनि सरकारले कडाइ गर्न नसक्नु दु:खद रहेको उनले बताए।

गाउँपालिकालाई पृथ्वीराजमार्गसँग सडक सञ्जालले जोडे स्थानीयलाई लाभ पुग्ने सुनारले बताए। पुल नहुँदा गोरखातर्फका किसान आफ्ना कृषि उपज डोकामा बोकेर बिक्री गर्न पृथ्वीराजमार्गसम्म पुग्नुपर्छ। पुल निर्माण सम्पन्न भए गण्डकी गाउँपालिकाको ताङलीचोक, मकैसिङ र भुम्लीचोक साथै सहिद लखन गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन्।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...