News Portal

  • अवैध रूपमा अमेरिका पठाउने एजेन्ट पक्राउ

    हिमालीसंचार संवाददाता
    ५५४ पटक

    काठमाडौँ।
    अवैध रूपमा अमेरिका पठाउने एजेन्ट गोमा जीसीलाई प्रहरीको मानव बेचबिखन ब्युरोले दाङको घोराहीबाट पक्राउ गरेको छ। गत चैतमा अवैध रूपमा अमेरिका जान हिँडेका ८ नेपालीसहित १८ जना कोलम्बियाको निकोक्लीबाट कपुरगाना जाने क्रममा डुंगा दुर्घटनामा परेका थिए।

    दुर्घटना भएको स्थान कोभेनास कोस्ट गार्डका एक सैनिकले हराएका भनिएका कसैको सूचना नमिलेको कान्तिपुरलाई बताए। गोमाका श्रीमान् टोपबहादुर जीसीले दाङ घोराहीका एन्जल बुढामगर, रेशम मगर र हेमराज अधिकारीलाई अमेरिका लैजान हिँडाएका थिए। टोपबहादुर २०७३ फागुनमा दाङ तुलसीपुरका नरेन्द्र बस्नेतलाई अमेरिका लैजान ७५ लाख ९७ हजार रुपैयाँ लिएको आरोपमा पक्राउ परेका थिए।

    २०७६ जेठ २७ गते प्रहरीले उनलाई मानव बेचबिखन तथा ओसारपसार र संगठित अपराधमा मुद्दा चलाएको थियो। उनलाई २०७६ असार ५ गते काठमाडौं जिल्ला अदालतले १५ लाख धरौटीमा रिहा गर्न आदेश दियो। थुनामुक्त भएलगत्तै उनले अवैध रूपमा अमेरिका पठाउने धन्दा सुरु गरेका थिए। प्रहरी स्रोतका अनुसार हाल युक्रेन रहेका टोपबहादुरले अमेरिका जान हिँडेकाबाट रकम बुझ्ने काममा श्रीमतीलाई लगाएका थिए।

    कसले पुर्‍यायो नेपाली युवालाई कोलम्बिया ?

    क्यारेबियन सागरमा डुंगा दुर्घटनामा परेर बेपत्ता भइरहेका सात नेपालीको अवस्था अज्ञात रहेका बेला उनीहरूलाई कसले त्यहाँसम्म पठायो भन्ने खोजी सुरु भएको छ। विश्वव्यापी कोरोना संक्रमणको फैलावट र अन्तरदेशीय उडानहरू प्रभावित भइरहेका बेला उनीहरूलाई कसले पुर्‍यायो त कोलम्बिया ?

    २०७७ चैतमा दुई फरक–फरक एजेन्टबाट विभिन्न देश हुँदै कोलम्बिया पुगेका ८ नेपाली असार ५ गते निकोक्लीबाट डुंगा चढेर कपुरगाना जाने क्रममा दुर्घटनामा परेका थिए। उक्त डुंगामा ८ नेपालीसहित १८ जना रहेको कोलम्बियाको कोभेनास कोस्ट गार्डले जनाएको छ।

    घटनापछि कान्तिपुरसँग सम्पर्कमा आएका एक परिवारका सदस्यहरूका अनुसार क्यारेबियन सागरमा हराइरहेका दाङका तीन जनालाई लैजाने एजेन्ट दाङकै टोपबहादुर जीसी हुन्। उनी तिनै मान्छे हुन्, जसलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरी २०७६ जेठ २७ गते मानव बेचबिखन तथा ओसारपसार र संगठित अपराधमा मुद्दा चलाएको थियो। थुनामा परेका जीसीलाई २०७६ असार ५ गते काठमाडौं जिल्ला अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो।

    २०७३ फागुनमा उडेका दाङ तुलसीपुरका नरेन्द्र बस्नेत गैरकानुनी बाटोबाट १२ वटा देश हुँदै महिनौंपछि अमेरिका पुगेका थिए। अध्यागमन विभागको हिरासतमा १७ महिना बसेर उनी २०७५ पुस २४ मा अमेरिकाबाट डिपोर्ट भए। यो अवैध यात्रामा ७५ लाख ९७ हजार रुपैयाँ गुमाएर फर्केका नरेन्द्रकै उजुरीका आधारमा जीसी पक्राउ परेका थिए। स्रोतका अनुसार छुटेलगत्तै उनी दुबई पुगेका थिए। अहिले भने युक्रेनमा बसेर संगठित मानव तस्करीको सञ्जाल चलाइरहेका छन्।

    स्रोतका अनुसार अमेरिका जानका लागि एन्जल बुढामगरको परिवारले मात्रै २७ लाख ७२ हजार रुपैयाँ बुझाएको छ। दाङकै रेशम डिंगामगर र हेमराज अधिकारीको परिवारले पनि टोपमार्फत नै अमेरिका जानका लागि रकम बुझाएका थिए। चैत पहिलो साताबाट सुरु भएको यो यात्रामा उनीहरू दुवैले करिब ३० लाख खर्चिसकेको देखिन्छ। यी तीनै जनालाई जीसीले सुरुमा पर्यटक भिसामा दुबई पुर्‍याएका थिए। उनीहरूलाई दुबईस्थित जीसीकै फ्ल्याटमा करिब डेढ महिना राखेर युक्रेन, फ्रान्स हुँदै कोलम्बिया पुर्‍याइएको थियो।

    कोलम्बियाबाट सम्पर्कमा आएका एक नेपालीका अनुसार अहिले पनि कोलम्बियाको निकोक्ली र मेडलिनमा जीसीलाई पैसा बुझाएर गएका करिब एक दर्जन नेपाली महिनौंदेखि अलपत्र छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोकी प्रमुख एसएसपी दुर्गा सिंहका अनुसार मानव बेचबिखनका गम्भीर मुद्दामा धरौटीमा छुटेका व्यक्तिहरू पछिल्लो समय उही धन्दामा लागेको सूचना मिलेको बताइन्।

    उनले जीसीतिर संकेत गर्दै भनिन्, ‘धरौटीमा छुटेपछि पुरानै शैलीमा मानव तस्करी सुरु गरिएको देखिन्छ।’ कोलम्बियमा जहाज दुर्घटनामा परेका परिवारका सदस्यलाई आफूहरूले सम्पर्क गर्न प्रयास थालिसकेको बताउँदै एसएसपी सिंहले इन्टरपोलमार्फत पनि घटनाबारे बुझ्न सुरु गरेको जानकारी दिइन्। उनले भनिन्, ‘यो घटनामा को–को संलग्न छन् भन्नेबारे मसिनो अध्ययन सुरु भइसकेको छ।’

    डुंगा दुर्घटनामा परेका पर्वतका २, स्याङ्जाका १ र म्याग्दीका १ जनालाई भने ब्राजिलमा बस्ने एक नेपाली एजेन्टले त्यहाँसम्म पुर्‍याएको सम्पर्कमा आएका परिवारका सदस्यहरूले बताए। मानव बेचबिखन नियन्त्रण ब्युरोका एक अधिकारीका अनुसार लामो समयदेखि ब्राजिलमा व्यापार/व्यवसाय गरेर बस्ने ती व्यक्तिले पर्वत र कास्कीमा एजेन्टहरू नै खटाएका छन्।

    तिनै एजेन्टमार्फत करिब ४० लाख रुपैयाँ खर्चेर अवैध बाटोबाट अमेरिका पुगेका एक नेपालीका अनुसार अनेकन् नाम फेरिराख्ने ती व्यक्ति वर्षौंदेखि नेपालीलाई अवैध बाटोबाट अमेरिका पठाउने काममा सक्रिय छन्। क्यारेबियन सागरमा हराइरहेका नेपालीका परिवारजनले अहिलेसम्म उनीहरूको अवस्था के छ भन्ने यकिन सूचना पाएका छैनन्।

    धेरैजसोका परिवारका सदस्य सरकारी संयन्त्रभन्दा पनि मानव तस्करीको सञ्जालमा संलग्न अनेकन् एजेन्टमार्फत सूचनाको खोजीमा जुटेको देखिन्छ। कोलम्बियामा डुंगा दुर्घटनामा परेर ७ जना हराइरहेका र एक नेपालीको उद्धार भएको समाचार कान्तिपुरमा प्रकाशित भएपछि मानव तस्करीका एजेन्टहरूले केही व्यक्तिका परिवारका सदस्यलाई पत्रकारहरूको सम्पर्कमा नबस्न भनेको देखिन्छ।

    एक पीडित परिवारका सदस्यले भने, ‘सरकारलाई भनौं भने अवैध यात्रामा हिँडेको भनेर उल्टै कारबाही गर्ला भन्ने डर, एजेन्टले सूचना अरूलाई दियो भने फसेको रकम पनि नउठ्ने धम्की दिएका छन्। हामी त धर्मसंकटमा पर्‍यौं।’ आर्थिक वर्ष २०७६/७७ मा मात्रै महिनौं लामो अवैध र कष्टकर बाटोमार्फत अमेरिका छिरेका ४५ जना नेपाली डिपोर्टमा परेका थिए।

    जबकि २०७५/७६ मा यो संख्या १८ जना थियो। यो संख्याले संगठित मानव तस्करको समूहले अवैध अमेरिका यात्राका क्रममा बर्सेनि कति धेरै नेपालीलाई ओसारिरहेको छ भन्ने बुझाउँछ। यो संख्याले बर्सेनि अर्बौं रुपैयाँ मानव तस्करहरूले उठाइरहेका छन् भन्ने पनि देखाउँछ।

    मानव बेचबिखन अनुसन्धान ब्युरोकी प्रमुख दुर्गा सिंह बेरोजगारीको बढ्दो समस्या र अवसरको खोजीमा रहेकालाई आश्वासन दिएर सजिलै फसाउन सकिने परिपाटीले मानव बेचबिखनका गम्भीर घटना भइरहेको बताउँछिन्। उनले भनिन्, ‘कोलम्बिया दुर्घटनाले मानव तस्करीको दुःखद् पाटो उजागर गरेको छ। यसमा संलग्नमाथि गम्भीर अनुसन्धान र कडा कारबाही जरुरी छ।’ -कान्तिपुर

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ३० गतेको राशिफल

    आज असोज ३०, २०८२ (अक्टोबर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    राप्रपा जुम्लाका नेता–सदस्य निलम्बित

    काठमाडौं, २९ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका चार जना नेता–सदस्यलाई एक...

    विपिन जोशीको सम्झनामा जेन जी युवाहरुले बुधबार दीप प्रज्वलन गर्ने

    काठमाडौं, असोज २९ – इजरायलमा अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा जेनजीका युवाहरू बुधबार...

    एमालेको महाधिवेशन मङ्सिरमा पोखरामा हुने, ओलीले प्रस्ताव गरे

    काठमाडौं, असोज २९ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन मङ्सिर...

    ओली : पार्टी कमिटीले भने मात्र राजीनामा दिन्छु, फेसबुकले होइन

    काठमाडौं, असोज २९ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद र चुनौती समाधान...