News Portal

  • नेपाल सरकारले नीतिगत सुधार गरे विप्रेषण बढ्छ : बस्नेत

    हिमालीसंचार संवाददाता
    २८९ पटक

    रामप्रसाद ढुंगेल/युएई – वैदेशिक रोजगारीको क्रममा परदेशमा रहेका नेपालीहरुलाई वैधानिक तरिकाले रकम भित्र्याउन नेपाल सरकारले नीतिगत सुधार गर्नुपर्ने युएईमा कार्यरत आइएमई प्रतिनिधि उत्तमकुमार बस्नेतले बताएका छन् ।

    नेपाल पत्रकार महासंघ युएई शाखाले आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रममा बस्नेतले नेपाल सरकार, रास्ट्रबैकले श्रम स्वीकृति नवीकरण गर्दा आधिकारिक रूपमा रेमिट्यान्स पठाएको लिखित प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरे र यसरी वैधानिक तरिकाले रकम नेपाल पठाउनेहरुलाई सरकारले बोनस रकम दिने व्यवस्था गरेको खण्डमा बिप्रेसण बढने सुझाव दिएका हुन् ।

    बस्नेतले बङ्गलादेशले आफ्ना प्रवासी नागरिकहरुका लागि विप्रेषणमा बोनसको व्यवस्था गरेका कारण त्यो देशको विदेशी मुद्रा सँचिती उल्लेख भएको उदाहरण पेस गरेका छन् । राष्ट्र बैंकले नै विप्रेषणसम्बन्धि नीतिलाई कडाइका साथ पालना गर्नुपर्ने युएईमा कार्यरत नेपालीहरु बढी पैसा पाइने मोहमा अवैध ढंगले रेमिटेन्स (हुण्डी) गर्ने क्रम बढेको तर उक्त रकम सुन तस्करी तथा अवैध हातहतियार खरिदमा खर्च हुने कुराको ज्ञानको अभाव धेरैमा रहेको बताएका छन् ।

    नेपाल पत्रकार महासंघ युएई शाखाले युएईमा कार्यरत नेपाली बैंकर्ससँग माघ ९ गते शुक्रबार आयोजना गरेको अन्तरकृयामा सहभागि अधिकांश वक्ताहरुले नेपाल सरकारले नीतिगत रुपमै हुण्डीलाई निरुत्साहित गर्न आवश्यक रहेकोमा जोड दिए ।

    सिद्दार्थ बैंकका युएई प्रतिनिधि नवीन पौडेलले राजनीतिक भ्रष्टाचारका कारण जनतामा देशको अर्थतन्त्र सुधार गर्न किन हामीले मात्रै योगदान गर्ने भन्ने आक्रोश प्रवासी नेपालीहरुमा पलाएकोले पनि हुण्डी रोक्न नसकिएको बताए । पौडेलले पनि राष्ट्र बैंकले नै विप्रेषणसम्बन्धि नीतिलाई कडाइका साथ पालना र नियमन नगर्दा श्रमिकहरु अवैधानिक च्यानलको लोभमा परेको जानकारी दिए ।

    हुण्डी नियन्त्रणका लागि विगतमा नेपाली दूतावास अबुधाबीमा ज्ञापनपत्र बुझाएर समाधानका उपायहरु सहितको सुझाव दिएको स्मरण गर्दै पौडेलले सरकारले नै यस विषयमा जिम्मेवार बन्नुपर्ने बताए । “सचेतना नभएर अबैध कारोबार भएका होइनन् , पौडेलले भने, “हुण्डी गर्नेहरु सचेत साथीहरु नै छन् । दरिलो प्रमाण र कानुनी बाध्यताका कारण कारबाही गर्न नसकिएको पौडेलले स्वीकार गरेका छन् । आफ़्नो अनुभवका आधारमा नेपाल सरकार तथा रेमिस्टयान्स सरोकार समूहले क़ेही वर्ष पहिला नेपाली दूतावासको अनुरोधमा वैधानिक विप्रेषण बढ़ाउन सकिने उपायहरुसहित क़ेही बुदाहरू उल्लेख गरी बुझाएको पनि पौडेलले स्मरण गराए ।

    नेपाली संघ/संस्थाहरुको प्रतिवदता आवश्यक

    छलफलमा पत्रकार महासंघ, युएईका अध्यक्ष लक्ष्मण खनालले नेपाली राजनीतिले नेपालीहरुको सोचाइलाई प्रभाव पार्ने गरेको भन्दै सबैले आ-आफ्नो स्थानबाट पहल गर्नुपर्नेमा जोड दिए । युएईमा रहेका संघ/संस्था प्रमुखहरुले आफू पनि हुण्डी नगर्ने र आफ्ना सदस्यहरुलाई हुण्डी गरेको थाहा पाएमा कारबाही गर्ने व्यवस्था लागु गरे हुण्डी निरुत्साहित हुने बताए ।

    लुम्बिनी वेल्फेयर सोसाइटीले हुण्डी गरेको सार्वजनिक स्थानमा बताउने आफ्नो अध्यक्षलाई कारवाही गरेको स्मरण गर्दै अध्यक्ष खनालले सबै सामाजिक संस्था देशप्रति जवाफदेही हुनुपर्ने अध्यक्ष खनालले तर्क पेस गरे। कतिपय ब्यक्तिहरु समाज सेवाको आवरणमा संस्थामा बसेर अवैधानिक कार्य गर्ने गरेको भन्दै राष्ट्रभक्ति ब्यवहारमा उतार्न खनालले आग्रह समेत गरे । आम जनसमुदायमा वित्तीय साक्षरता जगाउन जरुरी रहेको भन्दै बैंकर्सहरुलाई त्यो भूमिका खेल्न खनालको आग्रह थियो । उनले नेपाली बिज्नेस काउन्सिल, युएईका नेपाली बैकर्स र पत्रकारहरुबीच यो विसयमा त्रिपक्षीय अन्तरक्रिया गर्नुपर्ने बताएका छन् ।

    उच्च पदस्थहरुको रेमिट्यान्स तथ्यांक माग

    यसैगरी नेपाल पत्रकार महासंघ युएई शाखाका सल्लाहकार हरि नेपालीले युएईमा कार्यरत बैंकर्स र नेपाली पत्रकारहरुले सहकार्य गर्नुपर्ने धारणा राखेका थिए । सो अवसरमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष मेघराज सापकोटाले युएईमा कार्यरत पत्रकारहरुले सुचनाको श्रोत गोप्य राख्ने गरेको भन्दै गैरकानूनी कार्यमा संलग्नहरुको विवरण उपलब्ध गराउन बैंकर्स प्रतिनिधिहरुलाई अनुरोध गरे ।

    सापकोटाले युएईमा कार्यरत कुन विशिस्ट व्याक्तिहरुले बैधानिक च्यानलबाट पैसा पठाएको छ या छैन ? त्यसको रेकर्ड उपलब्ध गराउन पनि अनुरोध गरेका छन् ।

    करिब १ लाख श्रमिकले मात्रै वैधानिक बाटो प्रयोग गर्छन्

    युएईमा कार्यरत करिब ६५ देखि ९० हजार कामदारहरुले मासिक रूपमा वैधानिक बाटोबाट रकम पठाउने गरेको औसत तथ्यांक रहेको जानकारी दिदै अल अन्सारी एक्सचेञ्जका अडिटर खगेन्द्र कटवालले बाकी नेपालीहरुको पैसा कुन प्रयोजनका लागि खर्च भएको छ ? त्यसको खोजी गर्नुपर्ने बताउँदै अर्को दरिलो तर्क पेस गरेका छन् कि मासिक ५ हजार दिराम भन्दा बढी तलब खाने नेपालीहरुले युएईबाट वैधानिक रेमिट्यान्स पठाएको देखिएको छैन । युएईमा करिब तीन लाखभन्दा बढी नेपाली रहेको अवस्थामा करिब १ लाख नेपालीहरुले मात्रै पैसा पठाउन वैधानिक बाटो अपनाउने गरेकोले ६६ देखि ७० प्रतिशत रकम हुण्डी  भइरहेको डरलाग्दो तथ्यांक कटवालले पेस गरे ।

    यसैगरी पत्रकार विनोद श्रेष्ठले सही सुचना उपलब्ध गराए आफुहरु जस्तो सुकै खतरा मोलेर पनि सुचना प्रवाह गर्ने र भण्डाफोर गर्ने जानकारी गराए ।

    नेपाल पत्रकार महासंघ युएई शाखाका पूर्व अध्यक्ष भुपराज बस्यालले बैधानिक तरिकाले बिप्रेषण पठाउन निरन्तर लेख रचना प्रकाशित गर्नु पर्नेमा जोड दिएका थिए। सो छलफलमा हिमालयन बैंकका रमिल राज प्रधान, ग्लोबल आइएमई बैंकका माधव रेग्मी र अर्जुन चापागाईं, जिएमईका परमेन्द्र वैध्य, सिटी एक्सप्रेसका प्रश्न पराजुली, अल फरदान एक्सचेञ्जका सौगात श्रेष्ठ, सराफ एक्सचेञ्जका शिवराज खडका र आइएमईका ईश्वर अधिकारीले हुण्डीको समस्या र समाधानका उपायहरुबारे सुझाव दिएका थिए ।

    अन्तरक्रिया  कार्यक्रममा बैंकका प्रतिनिधिहरुलाई पालैपालो बोल्न दिइएको थियो जहाँ समग्र रुपमा  युएईमा हुण्डीलाई नै मुख्य चुनौती का रूपमा लिएर नेपाल सरकारले बैधानिकता र नीतिगत रुपमा आवश्यक प्रक्रिया पुरागरी हुण्डीलाई रोक्न अपरिहार्य रहेको जसबाट नेपालमा रेमिट्यान्स बढ्ने कुरामा जोड दिएका थिए ।

    युएईमा मनी लान्डरिङ अर्थात  हुन्डी, हाल नेपाली बैंकरहरूको लागि सबैभन्दा ठूलो चुनौती बनेको बताउदै एलएम एक्सचेञ्जका हेड अफ रेमिट्यान्स मोहनलाल तामाङले नेपालको अर्थव्यवस्थाको लागि पनि खतरा भएको र यसको समाप्तिका लागि सबै जना  जागरूक हुन जनचेतना अभियानको आवश्यकता रहेको बताएका छन् ।

    हुण्डीको स्वरुप बदलिँदो

    सिभिल बैंकका युएई प्रमुख सन्जिप जंग सिहले आफ्नो बैकिङ करिअरका १४ वर्ष वैधानिक रेमिट्यान्सको सुधारको लागि खर्च गरेको बताउदै अहिले त भिजिट भिसामा आउने र फर्कदा सुन, ल्यापटप, आइफोन लाने प्रवृती बडेकोमा चिन्ता प्रकट गरेका थिए ।

    प्रभु बैकका युएई प्रमुख कृष्ण कुमार दुलालले जसरी एक वर्षको अन्तरमा मात्रै टेलिभिजन नेपाल लैजाने व्यवस्था गरिएको छ, त्यसैगरी सुन र बहुमुल्य ग्याजेटहरुमा अनुगमन गर्ने नीति नेपाल सरकारले लिनुपर्ने सुझाव दिएका छन् ।

    कोरोनाको फैलावटले फ्लाइटहरु रोकिएको अवस्थामा सुन तस्करी हुन नसकेको कारण हुण्डी रोकिएकोले त्यो बेला रेमिट्यान्स बडेको बताउदै उद्दारको फ्लाइटमा यात्रा गर्नेहरुले समेत सुन ल्यापटप लगायत अन्य सामाग्रीहरु समेत बोकेर नेपाल गएको र अहिले त हुण्डीको स्वरुप विस्तार हुँदै गएको युएईका  नेपाली बैंकहरुका प्रतिनिधिहरुको चिन्ता छ ।

    सरकारी प्रोत्साहन आवश्यक

    हुण्डीलाइ थोरै भए पनि कम गर्नको लागि नेपाल सरकारले अन्य मुलुकको जस्तो रेमिटान्सको पैसामा केही प्रतिशत रकम थपेर प्रोत्साहन गर्नुपर्ने रिया  मनी ट्रान्सफरका प्रतिनिधि कमल  क्षेत्रीले सुझाव दिएका छन् ।

    आइएमइले आफ्नो वालेट आइएमइ पेमा रकम पठाउनेलाई ६० रुपैयाँ सम्म बोनस रकम थप गरिदिने र वालेटमा जम्मा भएको पैसाको व्याज समेत उपलब्ध गराउने योजना रहेको आइएमई प्रतिनिधि ईश्वर अधिकारीले जानकारी दिए ।

    हुण्डीको पुर्णतया निर्मुल गर्न राज्यका सम्बन्धित निकायहरुले नीतिगत सुधार गरी कार्यान्वयनम जोड दिएमा पक्कैपनि धेरै हद सम्म नियन्त्रण हुनेमा शंका छैन भन्दै हिमालयन बैंकका युएई प्रतिनिधि वीर चन्दले यसका साथै स्वयं बैंकर्शहरु पनि आ आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन अपरिहार्य देखिएको स्वीकार गरेका छन् ।

    पत्रकार महासंघ युएई शाखाका अध्यक्ष लक्ष्मण खनालले युएईमा कृयाशिल विभिन्न संघ/संस्थाहरुले पनि बैंकर्सहरुसंग सहकार्य गरी आम मजदुरहरुमा जनचेतना जगाउनु पर्ने र बैंकर्सहरुले पुँजी निर्माण गर्न सक्ने सकारात्मक कार्यक्रमहरु ल्याउनु पर्ने बताए । उक्त कार्यक्रममा युएईका करिब २० भन्दा बढी बैंकहरुका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । सबैले आ-आफ्ना अनुभव र धारणा राखेका थिए । सबैको धारणा हुण्डी निवाकरण मै केन्द्रित थियो ।

    नेपाल पत्रकार महासंघ युएई शाखाका सहसचिव आरपी ढुंगेलको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रमको संचालन पत्रकार महासंघ युएई शाखाका सचिव मोहन बस्यालले  गरेका थिए भने सभापतित्व नेपाल पत्रकार महासंघ युएई शाखा अध्यक्ष लक्ष्मण खनालको रहेको थियो। कार्यक्रमको उदेश्यबारे प्रकाश पार्दै उपाध्यक्ष मेघराज सापकोटाले कार्यक्रममा सहभागी सबैलाई स्वागत मन्तव्यले आभार प्रकट गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal