फूलखर्क क्षेत्रमा ट्राफिक नियम उल्लंघन गर्ने मोटरसाइकल चालकविरुद्ध कडा कारबाही हुने

धादिङ, गंगाजमुना – धादिङको गंगाजमुना गाउँपालिका–५ अन्तर्गत इलाका प्रहरी कार्यालय फूलखर्कले ट्राफिक नियम उल्लंघन गर्ने मोटरसाइकल चालकविरुद्ध कडा निगरानी र कानुनी कारबाही गर्ने जनाएको छ।
कार्यालयले जारी गरेको परिपत्रअनुसार पछिल्लो समय हेलमेट नलगाई मोटरसाइकल चलाउने, हेलमेटको फित्ता नबाँध्ने, सवारी चालक अनुमति पत्र (लाइसेन्स) तथा बिलबुक साथमा नराख्ने, अत्यधिक गति र अनावश्यक रूपमा मोटरसाइकल पड्काउँदै चलाउने प्रवृत्ति बढ्दै गएको पाइएको छ।

यसलाई नियन्त्रण गर्न प्रारम्भिक चरणमा प्रहरीले चालकलाई सम्झाइबुझाइ गर्ने जनाएको छ। तर, त्यसपछि पनि अटेरी गरी ट्राफिक नियम उल्लंघन गर्ने चालकको मोटरसाइकल नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाइने इलाका प्रहरी कार्यालय फूलखर्कले जनाएको छ।
प्रहरीले विशेषगरी मोटरसाइकल चालकहरूलाई अनिवार्य रूपमा हेलमेट प्रयोग गर्न, हेलमेटको फित्ता बाँध्न, सवारी चालक अनुमति पत्र र सवारीका आवश्यक कागजात साथमा राख्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा सुनिश्चित गर्न तथा अनुशासित सवारी सञ्चालनको वातावरण निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीको भनाइ छ। प्रहरीले सबै सवारी चालकलाई ट्राफिक नियमको पालना गरी सुरक्षित र जिम्मेवार ढंगले सवारी चलाउन अनुरोध गरेको छ।


















