गुम्बा विद्यालयमा शिक्षिकाद्वारा विद्यार्थीमाथि निर्मम कुटपिट, भिडियो भाइरलपछि चौतर्फी आक्रोश

काठमाडौं खुमलटारस्थित खवालुङ मोनेस्ट्री स्कूल (गुम्बा विद्यालय) मा एक शिक्षिकाले साना विद्यार्थीमाथि निर्मम कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले व्यापक ध्यान तानेको छ।
सार्वजनिक भएको करिब ३२ सेकेन्ड लामो भिडियोमा शिक्षिकाले बालबालिकामाथि अमानवीय व्यवहार गर्दै कुटपिट गरेको देखिन्छ। भिडियो सार्वजनिक भएसँगै सर्वसाधारण, अभिभावक तथा बालअधिकारकर्मीहरूले घटनाको कडा भर्त्सना गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
सामाजिक सञ्जालमा बालबालिकामाथि हुने कुनै पनि प्रकारको शारीरिक वा मानसिक हिंसा अस्वीकार्य रहेको भन्दै तीव्र प्रतिक्रिया आइरहेका छन्। साथै, गुम्बा विद्यालयसहित देशभरका शैक्षिक संस्थामा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी अनुगमन, उत्तरदायित्व र सुधारका कदम चाल्नुपर्ने आवाज पनि उठेको छ।
घटनाबारे सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।


















