अविरल वर्षाले काठमाडौं–हेटौँडा सडक सम्पर्क ठप्प, सयौं यात्रु बीच बाटोमै अलपत्र

हेटौँडा-हिजोदेखि लगातार परेको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौं जाने दुवै प्रमुख सडकमार्ग अवरुद्ध हुँदा सयौं यात्रु बीच बाटोमै अलपत्र परेका छन्।
कान्ति लोकपथअन्तर्गत बागझोरामा आएको बाढीले सडक बगाएपछि उक्त मार्ग पूर्ण रूपमा बन्द भएको छ। त्यसैगरी, चितवन–मुग्लिन हुँदै काठमाडौं जोड्ने पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। सम्बन्धित निकायले पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको जनाएको छ।
दुवै मार्ग बन्द भएपछि हेटौँडाबाट काठमाडौंतर्फ प्रस्थान गर्ने यात्रुहरू बसपार्क तथा विभिन्न स्थानमा रोकिएका छन्। लामो समयसम्म यात्रा अवरुद्ध हुँदा यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ भने दैनिक जनजीवनसमेत प्रभावित बनेको छ।
प्रशासनले मौसममा तत्काल सुधार आउने संकेत नदेखिएकाले थप बाढी र पहिरोको जोखिम कायम रहेको जनाएको छ। अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न तथा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सबैलाई आग्रह गरिएको छ।


















