News Portal

  • राजमार्ग सडक ठूलो खतरामा

    हिमाली संचार संवाददाता
    ३०९ पटक

    धादिङ -मनसुन सक्रिय भएसँगै मुलुकभर मौसम बदली भई पटकपटकको भारी वर्षा हुँदा मुलुकका अधिकांश राजमार्गमा यसपालि अत्यधिक पहिरो खसेको छ ।

    भारी वर्षापछि खसेको पहिरोले पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग होस् या त्रिभुवन राजमार्ग धेरै स्थानमा पहिरो खसेको छ । यसपालि नागढुङ्गादेखि मुग्लिनसम्म भने अत्यधिक पहिरो छ । राजमार्गको भित्ता पहिराले छियाछिया पारेको छ । सयौँ ठाउँमा पहिरो गएको छ ।

    धादिङको जवाङ खोला नजिक त्रिशुली नदीको कटानले झण्डै १० मिटर जति सडक बगेको छ । त्यहाँ अहिले एकतर्फी मात्रै सडक सञ्चालनमा छ । त्यसको नजिकै घुमाउनेमा पनि तल्लो तहबाट नदीले कटान गरिरहेको छ भने माथिल्लो क्षेत्रबाट आएको भेल पहिराले सडकमा ठूलो क्षति गरेको छ । धेरैजसो स्थानमा ढल पुरिएकाले सडकमा भेलबाढी बगिरहेको छ ।

    कतिपय स्थानमा भने पहिरो खस्न ठिक्क परेको छ । कतिपय स्थानमा पहिरो खसेर जोखिम अवस्थामा रहेकाले सानो पानी पर्दा थुप्रिएको माटो बगेर सडक ठप्प पार्ने अवस्थामा देखिन्छ । सवारी चालक कृष्ण परियारले भगवान् भरोसामा सवारी सञ्चालन गरिरहेको बताए । यसपालि मलेखुको पछिल्लो डेउडीसमेत खसेको छ । सडकको तल्लो तह पहिराले कटान गर्दा सडक एकतर्फी छ ।

    कुरिनटारको बारवाङ खोलाको सतह गेगरले भरिएकाले राजमार्गको पुल नै जोखिममा छ । केही हप्ताअघिको बाढीका कारण धादिङ र चितवनको सिमानामा रहेको मौवाखोला पुल छेउको सडक बगाएको थियो । अस्थायीरूपमा जालीसहितको पर्खाल लगाएर सडक सञ्चालन गरिए पनि जोखिम भने कायमै छ ।

    “वर्षा भयो भने झुण्डिएका पहिराले थिच्ला भन्ने डर छ, बढी घाम लाग्दा माथि खस्न लागेका ढुङ्गाले हान्ला भन्ने डर छ, डराइडराइ सवारी चलाउनुपरेको छ”, ट्रक चालक परियारले दुःखेसो पोखे ।

    सडकमा यत्रतत्र खसेको पहिरो र थुप्रिएको गेगर नहटाउँदा थप जोखिम छ । धादिङको फुर्केखोलामा भने यसपालि सडकमै बाढी कुदेकाले माटो, बालुवा र गेगरले भरिएको देख्न सकिन्छ । वर्षा भएको केही दिन बितिसक्दा यहाँको पहिराले ल्याएको बाक्लो गेगर हटाइएको छैन । राजमागर्गभरि लहरै पहिरो खसेर यात्रु र सवारी चालकहरु त्रासमा यात्रा गर्न बाध्य छन् । सानो वर्षा हुँदा नै ठूलो खतरा छ ।

    पहिरो खसेर सडकमा थुप्रिएको ढिस्को फ्याँक्न सकएको छैन । कतै ठूलो ढुङ्गा खसेर सडकमा बज्रिएको छ । कतै सडक एकतर्फ सञ्चालनमा रहेको छ भने कतै खोल्सा नै सडकमा बगिरहेको छ । सडकभन्दा तल्लो भागमा नदीले कटान पनि गरेको छ ।

    यसपालि पृथ्वी राजमार्गको धादिङ खण्डमा भने सयौँ पहिरा छन् । कतिपय भित्तो खसेको छ, कतिपय स्थानमा खोल्साले खोलेर बगाएको छ भने धेरैजसो भेल पहिरो सडक नै बगाउने गरी खसेको छ ।

    ठाउँठाउँमा पहिरो पन्छाउने क्रम जारी रहे पनि न्यून मजदुरले काम गरिरहेकाले सडकको यात्रा ठूलो जोखिममा रहेको छ । चितवनको कुरिनटारस्थित केवुलकारको तल्लो स्टेशन नजिक भने माथि खोस्रिएको ठाउँबाट भत्किएर ठुलो पहिरो खसेकाले त्यहाँको सडक जोखिमपूर्ण बनेको छ ।

    अझै पनि पानी पर्दा यहाँ भने सडक ठप्प हुने देखिन्छ । भूगर्भविद् शिव बाँस्तोला पानी पर्यो भने पहिलेका पहिरा खसेको ठाउँ पनि सक्रिय हुने भएकाले सावधानी अपनाउनुपर्ने बताउनुहुन्छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल यसपालि औसतभन्दा बढी पानी परिसकेकाले सामान्य वर्षाको बेलामा समेत लामो यात्रा नगर्दा नै राम्रो हुने सुझाव छ । “मनसुन सक्रिय रहेकाले थोरै पानी पर्दा पनि धेरै खतरा हुन्छ”, पोखरेलले भने, “यो बेलामा आफ्नो घर वरिपरि पनि सुरक्षित हुने गरी सावधानी अपनाउन र यात्रा गर्दा पनि विशेष ध्यान दिनुपर्छ ।”

    यसपालि भेल पहिरोले मुलुकमा ठुलो जनधनको क्षति पुर्याएको छ । भौतिक सम्पत्ति मात्रै होइन पहिरोले मानवीय क्षतिसमेत धेरै भएको छ । प्राधिकरणका अनुसार जेठ ३० पछि (मनसुन सक्रिय भएपछि) डेढ महिनाको अवधिमा मुलुकभर पहिरोले मात्रै १६३ जनाको ज्यान गइसकेको छ । पैँतालीस जना अझै हराइरहेका छन् । खोजी जारी रहेको जनाइएको छ ।

    यसपालि नारायणगढ–मुग्लिन सडकखण्डमा भने विगत वर्षको तुलनामा कम पहिरो खसेको छ । आज राससको स्थलगत अनुगमनमा समेत मुग्लिनको सीमित क्षेत्रमा केही ठुलो पहिरो खसेको छ भने अधिकांश क्षेत्रमा पहिरो अडिएको देखिन्छ ।

    कतिपय स्थानमा रक नेटिङका कारणले पनि पहिरो अडिएको पाइएको छ । कतिपय स्थानमा भने रुख विरुवा पलाउन थालिसकेको छ । यद्यपि चार किलो, जलविरेलगायत केही स्थानमा भने यसपालि पनि ठूलाठूला पहिरो खसेर पटकपटक सडक अवरुद्ध बन्यो । जलविरेको पहिरो भने अझै राम्ररी हटिसकेको छैन ।

    त्यहाँ सामान्य पानी पर्दा नै पानी जमेर ठुलो जोखिम हुने गरेको छ । चार किलोमा भने पटकपटक पहिरो खसेकाले यो वर्ष पनि बेलाबेलामा दुईतीन दिनसम्मै सवारी जाम हुँदा यात्रुलाई सास्ती भएको थियो ।

    सत्र किलोलगायत दुई स्थानमा  दुई वर्षअघि भत्किएको सडक अझै नबन्दा सडक एकतर्फी नै छ । टोपेखोला, घुमाउनेलगायत धेरै स्थानमा भने यसपालि पहिरो अडिएको देखिन्छ तर जोखिम भने कायमै छ । कतिपय स्थानमा माथिबाट पहिरो र ढुङ्गा खस्ने अवस्था समेत देखिएको छ ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सभामुख घिमिरे: संसद् विघटन नगरी समाधान खोज्नु उचित हुन्थ्यो

    काठमाडौँ, असोज २ – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन नगरी संसदभित्रै समाधान खोज्नु नै राम्रो...

    बालकोट निवास ध्वस्त, ओलीका लागि नयाँ बसोबास खोजी

    काठमाडौं, असोज २ – जेन–जी आन्दोलनपछि सुरक्षा घेराभित्र रहन बाध्य भएका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

    आज २०८२ साल असोज २ गतेको राशिफल

    आज असोज २, २०८२ (सेप्टेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कोटेश्वर भाटभटेनीमा भेटिएका युवकको पहिचान, मृत्यु हुने संख्या ७४

    काठमाडौं, असोज १ – कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा भेटिएको युवकको परिचय खुलेको छ। काठमाडौं...

    ऊर्जा मन्त्री घिसिङको पहिलो निर्णय : डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउने तयारी

    काठमाडौं, असोज १ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै मन्त्री कुलमान घिसिङले पहिलो...