News Portal

सत्तारुढ दल  नेकपाले नेता कार्यकर्ताका लागि आचारसंहिताकाे नियम बनाउँदै 

हिमाली संचार संवाददाता
४७६ पटक

काठमाडौँ — सत्तारुढ नेकपाले नेता कार्यकर्ताका लागि आचारसंहिता बनाएको छ । आइतबार बसेको सचिवालय बैठकपछि पार्टी कमिटीमा जारी भएको ‘विशेष परिपत्र ७’ अनुसार पार्टीका नेता कार्यकर्ताले आगामी दिनमा अनिवार्य आचारसंहिता पालना गर्नुपर्ने भएको छ ।

आफ्ना छोराछोरीको विवाहलाई सरल र मितव्ययी बनाउनेदेखि आफ्नै कमाईबाट पार्टीमा अनिवार्य लेबी बुझाउनुपर्ने आचारसंहिता बनाएको छ। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले जारी गरेको परिपत्रमा भनिएको छ, ‘हामीलाई इतिहासले जनताको जनवाद कार्यान्वयन गर्ने, समृद्धि हासिल गर्ने र समाजवाद निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी प्रदान गरेको छ। हामी सही नीति र प्रभावकारी संगठनात्मक प्रबन्धका साथ अघि बढेका छौं। यसका लागि पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूले आचारसंहिता पालन गर्न जरुरी छ।’ नेकपाले ११ बुँदे आचारसहिंता बनाएको छ।

परिपत्र अनुसार पहिलो बुँदामा प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्ने उल्लेख छ। र, पार्टी सदस्यहरु जुनसुकै प्रकारको श्रमीक बन्न तयार हुनुपर्ने उल्लेख छ। ‘आफूले गरेको श्रमबाट आर्जित कमाइबाट राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्छ। पार्टीलाई आफ्नो कमाइबाट नियमित रुपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्छ,’ परिपत्रमा भनिएको छ।

यस्तै आचारसंहिताको दोस्रो बुँदा अनुसार सबै तहका नेता, कार्यकर्ता र सदस्यले आफ्नो परिवारमा श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्ने भावना विकास गर्नुपर्ने उल्लेख छ।

परिपत्रमा भनिएको छ, ‘बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकपूर्ण वातावरणमा सबैले सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गुर्नपर्छ। १६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरी गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्छ। कार्यविभाजन गर्दा सबभन्दा अप्ठेरो काम आफूले लिनुपर्छ। परिवारका सदस्यहरू सबैसँगै बसेर खाना खानुपर्छ। बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई काम लगाउनुहुँदैन र उनीहरूसित प्रेम, सहयोग र सद्भावपूर्ण व्यवहार गर्नुपर्छ।’

परिवारमा गालीगलौज, झगडा, भेदभाव र अरुसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्ने आचारसंहितामा उल्लेख छ। ‘कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ। छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ। जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ।’

घरका सबै काम आफ्नै परिवारका सदस्यहरूको सहयोगमा सम्पन्न गर्नुपर्ने र नसक्ने अवस्थामा मात्र बाहिरबाट सहयोगी राख्नुपर्ने आचारसंहिताको बुँदा ३ मा छ। काममा राहेको सहयोगीलाई सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्नुपर्ने र खानपिन, बस–उठ गर्दा कुनै किसिमको भेदभाव नहुनेगरी परिवारका अन्य सदस्यहरूसँग गरिने व्यवहारसरह सम्बन्ध विकास गर्नुपर्ने आचारसंहितामा छ।

चौथो बुँदामा भनिएको छ, ‘पार्टी सदस्यले आफूमा व्यक्तिवादी, स्वार्थी भावना विकसित हुन नदिन कुनै किसिमको व्यवसाय वा उद्योग संचालन गर्दा सकेसम्म सामूहिक नेतृत्वमा संचालन गर्नुपर्छ। व्यवसायमा संलग्न श्रमजीवीहरूलाई न्यूनतम रुपमा पनि कानून बमोजिमको पारिश्रमिक र सुविधा र सम्मानपूर्ण व्यवहार गर्नुपर्छ।’

कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भएमा तुरुन्तै पार्टीबाट निष्काशन गर्नुपर्छ र त्यस्तो व्यक्तिलाई जनप्रतिनिधिमूलक निकायमा उम्मेद्वार बन्न बन्देज लगाउनुपर्ने आचारसंहिताको पाँचौं बुदामा छ।

यस्तै पाँच वर्ष पुगेका बालबालिकालाई अनिवार्य विद्यालय पठाउनुपर्ने र घरमा सिक्ने सिकाउने वातावरण सिर्जना गरी हुकाउनुपर्ने आचारसंहिताको छैटौं बुँदामा छ।

पार्टी सदस्यले ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पुर्‍याएर काम गर्नुपर्ने र भ्रष्टाचार, कालोबजारी, गैरकानूनी कमिशन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफुसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कुरा आचारसंहिताको सातौं बुँदामा छ।

यस्तै आठौं बुँदामा सामूहिक जीवन प्रणालीलाई जोड दिँदै परिवारका निम्ति मात्र सोच्ने र काम गर्ने स्वार्थी प्रवृत्तिको विकास हुन नदिन उत्पादन, वितरण र उपभोगमा सामूहिकता कायम गर्नुपर्ने उल्लेख छ। सोही बुँदामा थप भनिएको छ, ‘महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनकाबीच बनभोज वा सहभोज गर्नुपर्दछ र सामूहिक भावना सिर्जना गर्नुपर्दछ। त्यस्ता कार्यक्रमहरूमा मद्यपान, धुम्रपान र छाडा व्यवहार गर्न प्रतिबन्ध नै लगाउनुपर्छ। मनोरन्जनका निम्ति शुभकामना आदान–प्रदान, मेलमिलाप, सार्वजनिक महत्वका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि संचालन गर्नुपर्छ।’

आचार संहिताको नवौं बुदाँमा पार्टीका प्रत्येक सदस्यले आˆनो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ। ‘आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, सहरबजार, स्कूल, कलेज सबै ठाउँ र संस्थानहरूमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्सोहन गर्नुपर्छ। आफ्नो जीवनलाई सधैं जनताबीच खुल्ला किताब जस्तै राख्न प्रयत्न गर्नुपर्छ।’

समाजमा रहेका कुरिती, कुसंस्कार र अन्धविश्वासजस्ता चलन समाप्त गर्न बालविवाह, बहुविवाह, दाइजो, बोक्सी, छाउपडी, उचनीचि, छुवाछुत, जातपात र जातिभेद अन्त्य गर्न सक्रियतापूर्वक लाग्नुपर्ने आचारसंहिताको दशौं बुँदामा छ।

आचारसंहिताको एघारौं बुँदामा भनिएको छ, ‘आचारसंहिता कार्यान्वयन गर्ने र गराउने जिम्मेवारी सबै पार्टी कमिटीहरूको हो। मुख्य जिम्मेवारी केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीको हो। यसको पालना नगर्ने तथा पटक–पटक सचेत गराउँदा पनि नसुध्रने सदस्यलाई कानूनसंग सम्बन्धित सवालमा कानून बमोजिम, पार्टी अनुशासनसँग सम्बन्धित सवालमा पार्टी विधान, नियमावली र निर्णय बमोजिम कारवाही गर्नुपर्दछ।’

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...