News Portal

गाउँपालिकाकाे कार्यालय आफ्नै घरमा राखेर भाडा असुल्दै अध्यक्ष

हिमाली संचार संवाददाता
७४६ पटक

खगेन्द्र बुढा/कालिकोट : जिल्लाको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले अवैधानिक रूपमा घर भाडा वापत मासिक पचास हजार रुपैयाँ बुझ्दै आएको पाइएको छ ।

वडा नं ९ को थिर्पुमा रहेको उनको घरका १२ वटा कोठा गाउँपालिकालाई भाडामा दिएर पचास हजार बुझ्दै आएका हुन् । कोठा भाडामा लिँदा सामान्य प्रक्रिया समेत अवलम्बन नगरी उनले घर भाडा असुलेका हुन् ।

सार्वजनिक तथा सरकारी कार्यालयले कसैको घर भाडामा लिनुपर्ने भए टेण्डर आह्वान गर्नुपर्ने सार्वजनिक खरीद नियमावलीमा व्यवस्था छ तर गाउँपालिकामा प्रतिस्पर्धा विनै अध्यक्ष बमले आफ्नो घर मासिक पचास हजारमा १२ कोठा भाडामा लगाएका हुन् । घर भाडामा लिने उनले कुनै सूचना प्रकाशित गराएनन् ।

गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख राजबहादुर बमले भने, ‘अध्यक्षकै घरमा कार्यालय छ । भाडा कति छ मलाई थाहा भएन ।’

गाउँपालिकामा रहेका केही निजी क्लिनिकलाई बन्द गराउन खोजेर आमा र बुवाको नाउँमा उनले एनएमबी नामक अस्पताल निर्माण गरी मेडिकल क्षेत्रमा एकलौटी राज गर्न खोजेको उनीमाथि आरोप लागेको छ । यतिसम्म कि फार्मेसी बिनाका क्लिनिक चल्न नदिने निर्णय गरेर आफ्नो अस्पताल चलाउन यस्तो गरिएको उनीमाथि आरोप छ ।

‘एनएमबी अस्पतालदेखि अन्य निजी संरचनामा कार्यदलका सदस्यलाई काम गराउने र राज्यकोषबाट भुक्तानी दि नलगाउने गरेका छन्,’ स्रोतले भन्यो, ‘उनीहरू ड्रेसमै काम गर्दै आइरहेका थिए ।’

पलाता स्रोतका अनुसार निर्माण कार्यदलको गठन गरी पलाताका १ सय पचासभन्दा बढी युवालाई रोजगारी दिने घोषणासहित युवालाई भर्ती गरेका अध्यक्ष बमले आफ्नै अस्पताल निर्माण, शौचालय निर्माण र घरको काममा समेत लगाएका थिए ।

‘उतिबेला मासिक २४ हजार तलब दिने भनेर हामीलाई काममा लगाइएको थियो,’ नाम उल्लेख नगर्ने शर्तमा एक जनाले भने, ‘अहिले वडा नं ९, २, ४ र ६ नम्बरका ४० भन्दा बढी युवाले काम गरे बापतको पारिश्रमिक नपाएको बताउँदै काम छोडिसकेका छन् । अन्य युवा पनि काम छोड्ने तयारीमा छन् ।’

अहिले निर्माण कार्यदलको गतिविधि शून्य भइसकेको बताइएको छ । अध्यक्ष बमको आफ्नै भाडामा डोजर अध्यक्ष बमले अध्यक्ष भएसँगै सडक खनाउन डोजर भाडामा ल्याए ।

अहिले उनले जुम्लाबाट डोजर ल्याएर काम गराइरहेका छन् । अर्को डोजर भने कम्पनीले फिर्ता लिइसकेको गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख राजबहादुर बमले बताए ।

गाउँपालिकाका अधिकांश आयोजनामा उनकै डोजर प्रयोग भइरहेका छन् । ‘गाउँपालिकामा सम्पन्न भएका पचास प्रतिशत आयोजनामा अध्यक्ष बमका डोजर प्रयोग भइरहेका छन्,’ स्रोतले दाबी गरेको छ ।

अध्यक्ष बमले आफैंले भाडामा डोजर ल्याई लाखौं रुपैयाँ कमिसन खाने गरेको स्थानीयको भनाइ थियो ।

यतिसम्म कि उनको गाउँपालिकामा उपभोक्ता समिति गठन गर्दा उनका आफन्त बाहेक अरूलाई प्रवेश निषेध झैं छ । पाँच वर्षका लागि स्थायी उपभोक्ता समितिका रूपमा उनका दाजु र भाइले काम गर्नेछन् । ‘उनका दुइ दाजुहरू लंक र गंग पाँच वर्षका लागि उपभोक्ता समितिमा छन् । उनीहरूले १ करोडभन्दा बढीको काम सिंचाइ कुलोमा गरेका हुन् । र यो वर्षमा पचास लाख रकम सोही सिंचाइ कुलोमा छ,’ कार्यकारी प्रमुखले स्वीकार गरे ।

अध्यक्ष बमका भाइ हुन् राजबहादुर बम । उनी स्थानीय निकायमा तत्कालीन जिल्ला विकास समिति कालिकोटमा जागिरे भएका हुन् । उनी अहिले उक्त गाउँपालिकाको कार्यकारी प्रमुखको हैसियतमा काम गर्दै आइरहेका छन् ।

संविधान तथा निजामति कर्मचारी ऐन अन्तर्गत कार्यकारी प्रमुख संघीय सरकारको कर्मचारी नै हुनुपर्नेमा त्यहाँ त्यस्तो छैन । दाजु अध्यक्ष छन्, नियमविपरित उनका भाइ नासु (स्थानीय निकायबाट) कार्यकारी प्रमुख छन् । दुवैको मिलेमतोमा उनीहरूका भाइहरू लंक बम र चक्र बमको नेतृत्वमा विभिन्न स्थानमा गठन गरिएका उपभोक्ता समितिमा हालीमुहाली बढिरहेको स्थानीयको आरोप छ ।

यता, कार्यकारी प्रमुख बमले हालसम्म ४० जना पलाता निर्माण कार्यदलले तलब नपाएको बताए । ‘सार्वजनिक सुनुवाइ कार्यक्रमममा यो कुरा उठेको हो,’ उनले भने, ‘उनीहरूलाई घर निर्माण तथा ट्वाइलेट निर्माणमा लगाइएको मैले पनि देखेको थिएँ ।

राज्यको सम्पत्ति त्यसरी दिन हुँदैन भनेर मैले नै आवाज उठाएको हो ।’ उनले आफू जेठ १० गतेदेखि आएको अध्यक्ष बमको गाउँले दाजु नाता पर्ने स्वीकार गरे । ‘म २१ वर्ष जिल्ला विकास समिति कालिकोटमा काम गरेको हुँ,’ उनले भने, ‘पलातामा लामो समय अधिकृत नहुँदा म निमित्त भई काम गरिरहेको छु,’ उनले आफूले अध्यक्षसँग मिलेर त्यस्तो केही गरेको प्रमाणित भए जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताए ।

अध्यक्ष बमले आफ्ना दुई दाजु लंक र गंगलाई उपभोक्ता समिति जिम्मा दिएको स्वीकार गरे । ‘४२ लाख बराबरको जग्गा वडा कार्यालयलाई दिएको हुँदा हामीले उहाँलाई एक करोड पचास लाख बराबरको सिंचाइको उपभोक्ता बनाएका हौं,’ उनले भने, ‘मेरो दुई वटा डोजर छ । एक मेरो श्रीमतीको नाउँमा छ र अर्को सालाको नाउँमा छ ।’ तर आफूले पलातामा कामै नगरेको उनको दाबी थियो । उनले आफ्नो घरमा गाउँपालिका कार्यालय राखेको र त्यसबापत महिनाको ५० हजार भाडा लिँदै आएको पनि स्वीकार गरे ।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...