आज : २०२६-०७-२२, बुधबार

कुवेत मानव तस्करी काण्डः दुई दोषीलाई ७ वर्ष जेल, पीडितलाई जनही १० लाख क्षतिपूर्ति

काठमाडौं -वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपाली महिलालाई खाडी मुलुक पठाई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा अदालतले दुई जनालाई सात–सात वर्ष कैद सजाय सुनाएको छ।

अदालतको निर्णयअनुसार मानव तस्करीमा संलग्न सुशीला थारु र सशीराम खड्कालाई ७ वर्ष कैद सजायका साथै पीडितलाई जनही १०–१० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ।

यसैबीच, उक्त नेटवर्कमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान कार्य पनि सम्बन्धित निकायले जारी राखेको जनाएको छ। अनुसन्धानका क्रममा मानव बेचबिखनमा संलग्न गिरोहले नेपालबाट महिलाहरूलाई “निःशुल्क रोजगारी” र आकर्षक आम्दानीको प्रलोभन देखाउँदै खाडी मुलुक पठाउने गरेको खुलेको छ।

पीडितहरू गन्तव्य मुलुक पुगेपछि भने उनीहरूमाथि विभिन्न बहानामा आर्थिक शोषण हुने, ठूलो रकम असुल्ने, श्रम शोषण तथा मानसिक यातना दिने गरेको आरोप अनुसन्धानबाट सार्वजनिक भएको छ।

मानव अधिकारकर्मीहरूले वैदेशिक रोजगारीका नाममा हुने यस्ता अपराध नियन्त्रणका लागि कानुनको कडा कार्यान्वयन, दलाल तथा गिरोहमाथि प्रभावकारी कारबाही र विदेश जानुअघि आधिकारिक निकायबाट जानकारी लिएर मात्र प्रक्रिया अघि बढाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

सरोकारवाला निकायले मानव बेचबिखनमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउने प्रतिबद्धता दोहोर्याएका छन्।