आज : २०२६-०७-२५, शनिबार

श्रम संस्कृति पार्टीद्वारा विपन्न परिवारको घर निर्माण अन्तिम चरणमा

मकवानपुर – श्रम संस्कृति पार्टी जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा तथा जिल्ला अध्यक्ष रुद्रबहादुर मुक्तानको नेतृत्वमा राक्सिराङ गाउँपालिका–३, लावतीस्थित एक विपन्न परिवारको घर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

मानवता, श्रम र सहयोगको भावनालाई केन्द्रमा राखेर सञ्चालन गरिएको यस अभियानमा नेपाल तथा विभिन्न देशमा रोजगारी, अध्ययन र व्यवसायका सिलसिलामा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले आर्थिक सहयोग प्रदान गरेका छन्। उहाँहरूको सहयोग र सद्भावले घर निर्माण कार्य सफलताको अन्तिम चरणमा पुगेको हो।

अभियानको मुख्य विशेषता श्रमदाता स्वयंसेवकहरूको निस्वार्थ श्रमदान रहेको छ। श्रम संस्कृति पार्टीका स्वयंसेवकहरूले आफ्नो समय, श्रम र समर्पणका साथ निरन्तर खटिँदै घर निर्माण कार्यलाई अन्तिम चरणसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

जिल्ला अध्यक्ष रुद्रबहादुर मुक्तानले श्रम, एकता र सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित यस अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि विपन्न, असहाय तथा आवश्यकता भएका परिवारहरूको जीवनस्तर उकास्न यस्ता सामाजिक अभियानलाई निरन्तरता दिइने बताउनुभयो।

श्रम संस्कृति पार्टीले समाज परिवर्तनको आधार श्रम, सहयोग र मानवीय सेवामा रहेको विश्वास व्यक्त गर्दै यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने नेपाल तथा विदेशमा रहनुभएका सम्पूर्ण सहयोगी, शुभेच्छुक र श्रमदाता स्वयंसेवकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।