News Portal

कुवेतमा ८ लाखमा बेचिएकी नेपालगन्जकी रामकली पिडा !

हिमाली संचार संवाददाता
११८९ पटक

नेपालगन्ज – बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन) लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पुर्‍याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई ३ लाखमा रामकलीलाई बेचे ।

दिल्लीका जगतले कुवेतमा रहेका बंगालीबाट ८ लाख रुपैया लिएर रामकलीलाई सुम्पिए । बंगालीबाट अरबीले कति रुपैयामा किनेर लगे, त्यो कुरा रामकलीलाई थाहा भएन । रामकलीले यत्तिमात्रै देखेकी थिइन् कि बंगालीको कोठाबाट अरबीले उनलाई लैजादा १ हजार ५ सय केडी अर्थात सात लाख ८० हजार रुपैया गनेर दिएको थियो ।

१ जना नेपाली महिला खाडीमा पुग्दा कति ठाउँमा बिक्री हुँदोरहे छ भन्ने यो एउटा उदाहरणमात्र हो । गत माघ ११ गते नेपालगञ्ज हुँदै दिल्ली जाने बसमा गएकी रामकली १२ गते दिल्ली पुगेकी थिइन् । उनी त्यही दिन दिल्लीबाट दुबई उडिन । दिल्ली एयरपोर्टसम्म रामकलीलाई पुर्‍याउन श्रीमान समेत गएका थिए ।

दुबईमा ३ घण्टा रोकिएपछि जहाज कुवेत पुग्यो । कुवेतमा रामकलीलाई ६ दिनपछि एक जोडी अरबी आएर किनेर लग्यो । दलालले रामकलीलाई घरमा काम गर्ने हो । झाडु, पोछा, खाना पकाउने, बच्चा हेर्नुपर्छ भनेका थिए । त्यसवापत उनलाई मासिक ५० हजार नेपाली मिल्छ भनिएको थियो । अरबीले घरमा लगेपछि ‘८ लाखमा किनेर ल्याएको हो, जे भन्छु त्यही गर’ भन्दै कुटपिट र हिंसा गर्न थाल्यो ।

६ दिनपछि रामकली त्यो घरबाट भागेर बंगालीको कोठामा आइन् । नराम्रो काम परेको गुनासो गरिन् । त्यसपछि बंगाली एजेन्टले अर्को घरमा काम गर्न पठायो । त्यो घरमा ३ दिन बस्दा पनि त्यस्तै हिंसा भयो । त्यहाँबाट पनि भागेर पुनः त्यही आइन् । बंगाली एजेन्टले फेरि अर्को घरमा पठायो । त्यो घरमा ७ दिन बस्दा पनि रामकलीमाथि हिंसाले निरन्तरता पायो । यो घरका साहुले त एकतलाबाट तल फालिदिए ।

तेस्रो घरबाट पनि भागेर आएपछि रामकलीलाई बंगाली एजेन्टले चौथो घरमा काम गर्न पठायो । एवं रीतले रामकलीले ७ महिना कुवेतमा बस्दा ६ वटा घर चाहारिन् । शुरुका ३ वटा घरमा नराम्रो काममा परेपछि उनले घरमा श्रीमानलाई फोन गरेर ‘उद्धार’ गर्न भनेकी थिइन् । श्रीमानले पनि स्थानीय दलाल मार्फत उद्धारको प्रक्रिया अघि बढाएका थिए ।

रामकलीले कुवेतमा ७ महिना काम गरिन् । ३ महिनाको मात्रै तलव पाइन् । त्यो पनि २७ हजार पाँच सयको दरले । दुःख सहेर पनि उनले ९० हजार रुपैया घरमा पठाइन् ।
रामकलीका श्रीमानले २०७५ बैशाख २४ गते केआई नेपालमा उद्धारका लागि निवेदन दिएका थिए । त्यही निवेदनलाई आधार मानेर केआई नेपालले परराष्ट्र मन्त्रालय हुँदै कुवेतस्थित नेपाली दुताबाससँग समन्वय गरेर रामकलीलाई नेपाल झिकाएको छ ।

साउन ७ गते काठमाडौं आइपुगेकी रामकलीलाई लिन श्रीमान पनि एयरपोर्टमा पुगेका थिए । ३४ हजार साथमा लिएर आएकी रामकली र श्रीमान त्यो दिन काठमाडौंकै एक होटलमा बसे । रामकलीसँग भएको पैसाले घरमा पंखा हाल्नेदेखि श्रीमानका जेठी श्रीमतीतर्फका छोराछोरीलाई कपडा किनियो । पैसा सकियो । पैसा सकिएपछि श्रीमानले रामकलीलाई ‘तँ अरबीको श्रीमती, मसँग नजिक नआइज, एड्स सर्छ’ भनेर कुटपिट गर्न थाले । एक ठाउँमा सुत्न पनि छोडे ।

विदेशमा दुःख पाएर आएकी रामकलीलाई यतिबेला घरपरिवारले पनि कष्ट थपिदिएको छ । स्थानीयदेखि काठमाडौंका दलालविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरेर कारबाही प्रक्रिया अघि बढाएकी रामकलीलाई घरपरिवारले उल्टै पीडा थपिदिएको छ । ‘अब म श्रीमानसँग सम्बन्ध बिच्छेद गर्छु र दलाललाई कारबाही गराउँछु, रामकलीले भन्नुभयो ।

रामकलीको पनि दोस्रो विवाह हो । उनका पहिलाका पतिबाट ५ सन्तान छन् । दोस्रो विवाह गरेको साढे ५ वर्ष भएपनि बच्चा भइसकेको छैन । रामकलीलाई काठमाडौंको दलालसमक्ष पुर्‍याउने दलबहादुर श्रीमानका आफन्त नै हुन् । दलबहादुरलाई बचाउन श्रीमान लागेका छन् । केआई नेपालको सहयोगमा यतिबेला रामकली दलाललाई कारबाही गराउन लागि परेकी छन् । (नेस)

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...