प्रदेश सरकारले दिएको कोट रक्सी खान राउटेले बेचेपछी…
दिपकजंग शाही
सुर्खेत : कर्णालीको सामाजिक विकास मन्त्रालयले जाडो छल्न दिएका कोट राउटेहरूले सस्तो मूल्यमा बिक्री गरेको पाइएको छ।
सुर्खेतको लेकवेशी नगरपालिका–१ थोत्रीखोलामा बस्दै आएका राउटे समुदायका लागि न्यानो कपडाका रूपमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले केही दिनअघि कोटलगायतका अन्य विभिन्न सामग्री वितरण गरेको थियो। राउटेहरुले मदिरा सेवनका लागि पैसा जुटाउन कोटलगायत अन्य सामान बेचेका हुन्।
सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी मणिराम खरालका अनुसार राउटे समुदायमा पुरुषका लागि कोट, महिलाहरुका लागि गुन्यु, चोलो, ओछ्याउने फर्मलगायतका सामाग्री वितरण गरिएको थियो।
लेकवेशी नगरपालिकाकी कार्यपालिका सदस्य धनसरा सुनारले राउटेहरुले महंगो सामान सस्तो मूल्यमा बिक्री गरेको आफूले सुनेको बताइन्।
‘राउटेले कोट बिक्री गरे भन्ने सुनेर बुझ्न यही समुदायमा आएकी छु,’ उनले भनिन्, ‘उनीहरुले हामीसँग बिक्री गर्यौं त भन्न सकेका छैनन्। तर वरिपरिका मानिसले कोट ५०० देखि १ हजार रूपैयाँसम्ममा बिक्री गरेर सस्तो खालको रक्सी खाने गरेको सुनाएका छन्।
सुनारले महिलाहरूले लगाउने सामाग्री बिक्री नगरेको र पुरुषहरूलाई दिइएको कोट, जुत्ता, ब्लांकेट लगायतका सामानहरु बेच्ने गरेको पाइएको बताइन्। राउटेले सामान बेचेको पाइए पनि किन्ने व्यक्तिहरु भने पत्ता लगाउन नसकिएको उनले बताइन्। राउटेहरुबाट सामान किन्नेहरूबारे बुझ्ने र उनीहरुलाई कारबाही गरिने सदस्य सुनारले बताइन्।
‘लोपोन्मुख जातिलाई सहयोग गर्नुको साटो राउटेहरु बाटै कोट, जुत्ता किन्ने व्यक्तिको बुझाइ कस्तो होला,’ उनले भनिन्, ‘सहयोग स्वरूप दिइएको सामग्री राउटेहरूबाट किन्ने व्यक्ति पत्ता लगाएर कारबाही गर्छौं।


















