सानो उमेरमा ठूलो मन : आदर्श माविका विद्यार्थीले जुटाए राहत रकम

रंगेली-रसुवामा भदौ १० गते आएको भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले मोरङको रंगेली नगरपालिका–७ स्थित श्री आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरूले आर्थिक सहयोग रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेका छन्।
विद्यालयका कक्षा ३ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट केही रकम बचत गर्दै कक्षागत रूपमा सहयोग रकम संकलन गरेका हुन्। विद्यार्थीहरूले आफ्नो गच्छेअनुसार जम्मा गरेको रकमबाट कुल ६ हजार २५४ रुपैयाँ संकलन भएको विद्यालयले जनाएको छ।
विपद्को समयमा साना बालबालिकाले समेत सहयोगको भावना देखाउँदै राहत कोषमा योगदान गर्नु मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगी संस्कारको सकारात्मक उदाहरण भएको विद्यालयको भनाइ छ।
विद्यालयका प्रधानाध्यापक विश्वरसिंह मेवाहाङले विद्यार्थीहरूले संकलन गरेको रकम क्यूआरमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको जानकारी दिए।
सानै उमेरमा आफ्नो खाजा खर्चबाट रकम बचत गरी विपद्मा परेका परिवारलाई सहयोग गर्ने विद्यार्थीहरूको प्रयासले समाजमा सहयोग र मानवीयताको सकारात्मक सन्देश दिएको छ।


















