खोरेत महामारी नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

मोरङ -मोरङको रंगेली नगरपालिकामा खोरेत (Foot and Mouth Disease) रोगको नियन्त्रण तथा रोकथामका विषयमा सरोकारवालाबीच एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत पशु सेवा विभागको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरको आयोजनामा रंगेली नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय विराटनगरका प्रमुख विदुर प्रसाद गौतम, रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार साह, इलाका प्रशासन कार्यालय रंगेलीका प्रमुख निर्मल खतिवडा, पशु सेवा शाखाका डा. विवेक यादव, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, पशु हाटबजार सञ्चालन समितिका प्रतिनिधि, दुग्ध सहकारी संस्थाका प्रतिनिधि, कृषक तथा स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो।
अन्तरक्रियामा खोरेत रोगको परिचय, संक्रमण फैलिने माध्यम, रोगका लक्षण, रोकथाम तथा नियन्त्रणका उपायबारे विस्तृत जानकारी दिइएको थियो।
पशु क्वारेन्टाइन कार्यालयका प्रमुख विदुर प्रसाद गौतमले खोरेत अत्यन्त संक्रामक भाइरल रोग भएकाले पशुको अनियन्त्रित ओसारपसार, संक्रमित पशुसँगको प्रत्यक्ष सम्पर्क, दूषित हावा, पानी तथा दूध, दही, मक्खनलगायत पशुजन्य पदार्थबाट समेत सजिलै फैलिन सक्ने बताए। उनले रोग नियन्त्रणका लागि पशु आवागमनमा कडा निगरानी, क्वारेन्टाइन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा नियमित खोप अभियान सञ्चालन अपरिहार्य रहेको उल्लेख गरे।
उनका अनुसार रोग लागेका पशुमा मुखभित्र फोका तथा घाउ आउने, अत्यधिक र्याल चुहिने, ज्वरो आउने, खुरमा घाउ देखिने, हिँड्न कठिन हुने, दूध उत्पादन घट्ने, गर्भ तुहिने तथा साना बाच्छाबाच्छीको मृत्यु हुनेजस्ता लक्षण देखिन सक्छन्। रोगको निश्चित उपचार नभएकाले लक्षणका आधारमा उपचार गरिने, संक्रमित पशुको उचित हेरचाह, गोठको सरसफाइ, आवश्यक औषधिको प्रयोग तथा जैविक सुरक्षा (बायोसेक्युरिटी) का उपाय अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका थिए।
सहभागीहरूले खुला सीमा क्षेत्रबाट हुने पशु ओसारपसारमा कडाइ, नियमित खोप अभियान सञ्चालन, पशु हाटबजारको व्यवस्थित सञ्चालन तथा कृषकमा जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको सुझाव दिएका थिए।
कार्यक्रममा खोरेत रोग नियन्त्रणका लागि सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, पशु व्यवसायी तथा कृषकबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।



















