
काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न आग्रह गरेका छन्। बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुझाइएको राजीनामा पत्रमार्फत उनले लोकतान्त्रिक मूल्यअनुसार नेतृत्वले परिणामको जिम्मेवारी लिनु पर्ने भएकाले सो निर्णय गरेको स्पष्ट पारे।
थापाले नेतृत्वमा रहँदा गरेका निर्णयहरू देश, लोकतन्त्र र पार्टीको हितलाई केन्द्रमा राखेर गरिएको दाबी गरेका छन्। पदबाट अलग भए पनि पार्टी रूपान्तरण र पुनर्निर्माणको अभियानमा आफ्नो सक्रियता निरन्तर रहने उनको भनाइ छ।
उनले आगामी दिनमा देशका विभिन्न स्थानमा पुगेर पार्टीका नेता–कार्यकर्ता र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने योजना समेत सार्वजनिक गरेका छन्। जनभावना बुझ्दै सुझाव संकलन गरेर पार्टीलाई थप सुदृढ बनाउने अभियानमा सक्रिय रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
थापाले पार्टीका विभिन्न तहबाट प्राप्त समर्थन र शुभेच्छा सन्देशहरूले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गरेका छन्। ती सन्देशहरू भविष्यप्रतिको विश्वास र अपेक्षाको प्रतीक भएकाले त्यसलाई कायम राख्न आफू दृढ रहेको उनले बताएका छन्।