आज : २०२६-०६-१२, शुक्रबार

जेन–जी आन्दोलनमा टीओबी सदस्यले पेस्तोल बोकेको दाबी, प्रहरीको अनुसन्धान सुरु

काठमाडौं, असोज २६ – राजधानीमा जारी जेन–जी आन्दोलनका क्रममा टीओबी समूहका एक सदस्यले पेस्तोल बोकेको भन्दै सामाजिक सञ्जालमा फैलिएको तस्वीरले सुरक्षा निकायको ध्यान तानेको छ।

टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिले कम्मर पछाडिबाट पेस्तोल निकाल्दै गरेको जस्तो देखिने तस्वीर अहिले भाइरल बनेको छ। तर, उक्त तस्वीरको प्रामाणिकता अहिलेसम्म पुष्टि हुन सकेको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीका अनुसार, तस्वीरबारे यकिन तथ्य नखुले पनि अनुसन्धान सुरु गरिएको छ। “पेस्तोल बोकेको हो वा होइन भन्ने कुरा स्पष्ट छैन, तर हामी यसबारे आन्तरिक रूपमा बुझ्दैछौं,” अधिकारीले भने।

प्रहरीले हाल जेन–जी आन्दोलनसँग सम्बन्धित अराजक गतिविधि, आगजनी र तोडफोडलगायत घटनाबारे पनि छुट्टै अनुसन्धान गरिरहेको जनाएको छ।