News Portal

भिजिट भिसा प्रकरण : दलहरूबीच सहमति, सरकार संयन्त्र बनाएर छानबिन गर्ने

२५६ पटक

काठमाडौं, जेठ ३० – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि संसद् अवरुद्ध हुँदै आएको अवस्थामा प्रमुख राजनीतिक दलहरूबीच अन्ततः सहमति जुटेको छ । सहमतिअनुसार सरकारले अध्ययन तथा छानबिनका लागि छुट्टै संयन्त्र बनाउने र भिजिट भिसासम्बन्धी समस्या गहिरिएर अध्ययन गरिनेछ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अनुसार, भिजिट भिसामा विदेश जानेक्रममा भइरहेका अपारदर्शी आर्थिक लेनदेनहरूबारे व्यापक छानबिन गरिने सहमति भइसकेको छ । तर, सहमतिमा प्रयोग हुने केही भाषागत शब्दावली मिलाउन बाँकी रहेको उनको भनाइ छ ।

‘सत्तापक्षबाट छानबिन र अध्ययनका लागि आवश्यक संरचना बनाउने प्रतिवद्धता आएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यस्तो प्रतिवद्धता आएपछि सकारात्मक वातावरण बनेको हो ।’

प्रचण्ड भिजिट भिसा प्रकरणमा निरन्तर सत्तापक्षसँग संवादमा सक्रिय छन् । बिहीबार मात्रै पनि उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर र फोनमा कुराकानी गरेर सहमति निर्माणको प्रयास गरेका थिए । साथै सत्तारुढ दलका अन्य शीर्ष नेताहरूसँग पनि उनको संवाद भएको थियो ।

भिजिट भिसा प्रकरणको छानबिन दुई फरक तहमा हुनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाइरहेको अनुसन्धान अलगै रूपमा अगाडि बढ्नेछ भने सरकारले बनाउने संयन्त्रले २०६४ सालदेखि देखिएका समस्याहरू अध्ययन गर्नेछ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सहमतिको प्रारम्भिक मस्यौदा तयार भइसकेको जानकारी दिए । तर, अन्तिम सहमतिपछि मात्रै औपचारिक रूपमा सार्वजनिक गरिने उनले बताए । ‘सहमतिको मस्यौदा तयार छ, केही कुरा मिलाउन बाँकी छ,’ उनले भने ।

मस्यौदामा उल्लेखित दुई मुख्य बुँदामध्ये पहिलो बुँदा अख्तियारलाई सहयोग पुर्‍याउनेछ भने दोस्रो बुँदाले अध्यागमन र भिजिट भिसासम्बन्धी समस्या अध्ययन गरी आवश्यक सुधारका लागि कदम चाल्न सरकारलाई आग्रह गर्नेछ ।

बिहीबार साँझ नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा प्रमुख तीन दल — कांग्रेस, एमाले र माओवादी केन्द्र — का शीर्ष नेताहरूबीच यो विषयमा विस्तृत छलफल भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सरकारको छानबिन गर्ने तयारीलाई सकारात्मक रूपमा लिएको छ ।

रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार भिजिट भिसा मार्फत भइरहेको मानव तस्करी र गृहमन्त्रीमाथि उठेका आरोपहरू छानबिन गर्न सत्तापक्ष सैद्धान्तिक रूपमा सहमत भइसकेको छ । ‘अब प्राविधिक पक्षमा छलफल गरी निष्कर्षमा पुग्ने सहमति छ,’ उनले बताए ।

यसअघि छानबिन गर्न नचाहेको देखिएको सत्तापक्ष अन्ततः किन सहमत भयो भन्ने प्रश्न उठेको छ । नेताहरूको भनाइमा कांग्रेस र माओवादीबीच बाक्लिदो संवाद र प्रतिपक्षी दलहरूको निरन्तर दबाबकै कारण सरकार लचक बन्न पुगेको हो ।

विशेषतः कांग्रेस र माओवादीबीचको गहिरिंदो समन्वयले नेकपा एमालेलाई झस्काएको बताइन्छ । एमालेले चाहेको थियो — माओवादी र कांग्रेसबीच दूरी रहोस्, तर भिजिट भिसा प्रकरणले उल्टो यी दुई दलबीच निकटता बढाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पछिल्लो दिनहरूमा कांग्रेस नेताहरूसँग संवादलाई तीव्र बनाएका थिए । सोमबार र बिहीबार बिहान बालुवाटारमा भएका बैठकहरूमा प्रधानमन्त्री ओली केही लचक बन्न पुगेका थिए ।

यही लचकता पछि कांग्रेसले मध्यमार्गी प्रस्ताव अगाडि सारेको थियो — छानबिन र अध्ययनको संयन्त्र सरकारले नै बनाओस् । माओवादी र रास्वपाले पनि सो प्रस्तावलाई समर्थन गरेपछि दलहरूबीच लिखित सहमतिमा पुग्ने वातावरण बन्यो ।

यसैबीच, सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूलाई संसद् चलाउँदै संघर्षलाई निरन्तरता दिन सुझाव दिएका छन् । ‘संघर्षमा हुनुहुन्छ भन्ने सबैलाई थाहा छ, तर संसद् चलाउँदै समस्या समाधानतर्फ जानुपर्छ,’ उनले बैठकमा भनेका थिए ।

यदि सरकारले तयार गर्न लागेको संयन्त्र प्रभावकारी रूपमा अघि नबढे भने पुनः संसद् अवरोध गर्न सकिने प्रतिपक्षी दलहरूको रणनीति छ । यसबाट गृहमन्त्रीमाथि नैतिक प्रश्न उठिरहने र सरकारमाथि पनि निरन्तर दबाब कायम हुने प्रतिपक्षीहरूको दाबी छ ।

यसरी भिजिट भिसा प्रकरणले संसद् मात्र होइन, सत्ता समीकरणमै तरंग ल्याएको छ । अब छानबिनको संयन्त्र बनेर काम कसरी अघि बढ्छ भन्ने चासो तीव्र बनेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...