
रुपन्देही, जेठ १५ – गणतन्त्र दिवसको अवसरमा रुपन्देहीको बुटवलमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा नेकपा माओवादीका महासचिव तथा समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी आन्दोलनको प्रमुख कमजोरी २०६४ सालपछि स्थायित्व दिन नसक्नु भएको स्वीकार गरेका छन्।
‘गणतन्त्र, जनपक्षीय पत्रकारिता र कृष्ण सेनको भूमिका’ शीर्षकमा जनपत्रकार संगठनले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै विप्लवले जनताले दिएको बलियो समर्थनलाई संस्थागत गर्न नसक्दा आन्दोलन कमजोर बन्दै गएको स्पष्ट पारे।
“२०६४ मा जनताले ठूलो विश्वास व्यक्त गरेका थिए। जनयुद्धको क्रममा पनि जनताको साथ उल्लेखनीय थियो। तर माओवादी आन्दोलन त्यो जनविश्वासलाई स्थायित्वमा रूपान्तरण गर्न असफल रह्यो। यही नै आन्दोलनको मूल दोष हो,” उनले भने।
उनले राजनीतिक स्थायित्व र समाजिक रूपान्तरणका लागि अब पुराना प्रवृत्ति, सोच र अभ्यासबाट बाहिर ननिस्किए परिवर्तन सम्भव नहुने उल्लेख गरे। “सिस्टम परिवर्तनको कुरा गरेर पुरानै शैली दोहोर्याउने हो भने जनताको आशा फेरि विफल हुन्छ,” उनले चेतावनी दिए।
काठमाडौंका मेयर बालेन शाहको उदयलाई उनले परम्परागत दलहरूको असफलता र जनतामा निराशाको परिणामका रूपमा व्याख्या गरे। “शासक वर्गमा नेतृत्व परिवर्तन र श्रमिक वर्गमा चेतनाको पुनर्जागरण अपरिहार्य छ,” उनको भनाइ थियो।
गणतन्त्रको आलोचना बढ्दो क्रममा रहेको सन्दर्भमा उनले गणतन्त्र प्रणाली आफैंमा दोषी नभई, त्यसको कमजोर कार्यान्वयन नै समस्या भएको बताए। “व्यवस्था होइन, यसलाई सञ्चालन गर्ने तरिकामा समस्या छ। जनतामा निराशा यही कमजोरीले ल्याएको हो,” उनले उल्लेख गरे।
विप्लवले राजसंस्थाको पुनर्स्थापनाको बहसलाई खारेज गर्दै भने, “अब राजा आएर देशको समस्या हल हुन्छ भन्ने सोच आत्मघाती हो। समाजवादका विकल्पहरूमाथि बहस गर्नुपर्ने बेला आएको छ।”
उनले समाजवादी विचारमा आस्था राख्ने दलहरू सडकमा उत्रिनु पर्ने आवश्यकता औंल्याए। “राजावादीहरू सडकमा देखिन्छन्, समाजवादीहरू किन चुप? अब हामी पनि सडकमा देखिनुपर्छ,” उनले उद्घोष गरे।
संविधान संशोधन र जनमत संग्रह जस्ता विषयमा खुलेर बहस हुनुपर्ने धारणा राख्दै उनले विदेशी समाजवादका मोडलहरू नेपालमा लागू नहुने तर्क प्रस्तुत गरे। “रूस वा चीनको समाजवाद यहाँको समाजसँग मेल खाँदैन। हामीले हाम्रो समाज, संस्कार र सन्दर्भअनुसार समाजवादको नेपाली मोडल तयार गर्नुपर्छ,” उनले प्रस्ट पारे।
उनले देशभित्रै रमाएर, वैचारिक रूपान्तरण गर्दै, स्वदेशमै विकल्प खोज्नुपर्ने समय आएको उल्लेख गरे। “सारा कुरा पैसा र पावरको पछि लागेर मात्र समाधान हुँदैन, वैचारिक जागरण अपरिहार्य छ,” उनले जोड दिए।
कार्यक्रमको अन्त्यमा महासचिव चन्दले गणतन्त्रप्रति आस्था गुमाउँदै राजसंस्थाको पक्षमा उभिन खोज्ने शक्तिहरूको दुस्साहसविरुद्ध लोकतन्त्रवादी र गणतन्त्र समर्थक शक्ति एकजुट हुनुपर्ने बताए। “राजतन्त्र ल्याउने सपना फेरि पलाएको छ। यो व्यवस्था गलत भएर होइन, यसलाई सही रूपमा कार्यान्वयन गर्न नसकेर हो। त्यसैले अब हामीले सामूहिक सन्देश दिनुपर्ने बेला आएको छ,” उनले निष्कर्ष निकाले।
