तराईमा राजवंशी समुदायले सिरुवा पर्व मनाए

मोरङ, चैत्र ३१ – नयाँ वर्षको उपलक्ष्यमा राजवंशी समाज विकास समितिले मोरङको रंगेली नगरपालिका–८ स्थित दर्वेशा चोकमा “काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम”को आयोजना गरेको छ। राजवंशी समुदायले रङ र पानी खेल्दै परम्परागत शैलीमा काद सिरुवा पर्व मनाएका छन्।
उनीहरूले २०८१ साललाई बिदाइ गर्दै २०८२ साललाई स्वागत गर्न विशेष कार्यक्रमसहित सिरुवा पर्वलाई हर्षोल्लासपूर्वक मनाएका हुन्। राजवंशी समुदायले आफ्नो पहिचान जोगाउने उद्देश्यले हरेक वर्ष नयाँ वर्षको अवसरमा विविध कार्यक्रम आयोजना गर्दै आएको पाइन्छ।
परम्पराअनुसार, चैत्र ३१ गते विभिन्न प्रकारका मिष्ठान्न परिकारहरू पकाइन्छ र त्यही दिन ती परिकारहरू खाइन्छन्। ती परिकारहरू पुनः वैशाख १ गते पनि खाने चलन रहेको छ। त्यस्तै, वैशाख १ गते ‘काद सिरुवा’, २ गते ‘सिरुवा’ र ३ गतेदेखि मोरङका सीमाक्षेत्रमा रहेका विभिन्न थानहरूमा विशेष पूजा–पाठसहित मेलाहरू समेत लाग्ने गर्दछ।
कार्यक्रमका प्रमुख अतिथि रंगेली नगरपालिकाका मेयर दिलीप बगडिया, विशिष्ट अतिथि उपमेयर भुमा पराजुली, राजवंशी समाज विकास समितिका केन्द्रीय उपाध्यक्ष बद्री नारायण राजवंशी, केन्द्रीय महासचिव राजकुमार राजवंशी, राजपुरिया समाज कल्याण परिषद्का पूर्णलाल पाँचपुरिया, स्थानीय अगुवाहरू केशव राजवंशी, मानबहादुर तजपुरिया, वडा अध्यक्ष टंक आचार्य लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूलाई राजवंशी गीतमा आधारित नृत्य प्रस्तुत गरेर मनोरञ्जन गरिएको थियो। वक्ताहरूले राजवंशी समुदायको मौलिक पर्वहरू लोप हुँदै गएको र नयाँ पुस्ताले यसको महत्व नबुझ्दा संस्कृति संकटमा परेको तर्क गरे।
साथै, राजवंशी समुदायमा मेलाको अवसरमा युवायुवतीबीच विवाहको प्रस्ताव अघि बढाउने चलन पनि रहेको छ। मेलामा केटा र केटीहरूले एकअर्कालाई मन पराएमा केटी पक्षको घरमा विवाहको प्रस्ताव लिएर जानेसम्मको परम्परा रहेको जनाइएको छ।


















