सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

माघ २५, काठमाडौं – सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका-४ निवासी ३१ वर्षीय विश्वराज राई रहेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरोका अनुसार, राईले सम्बन्धविच्छेदपछि पीडित महिलालाई निरन्तर गाली गलौज गर्दै प्रेम सम्बन्धका क्रममा खिचिएका व्यक्तिगत भिडियो तथा तस्वीरहरू उनका आफन्तलाई पठाएका थिए। यसरी मानसिक तथा सामाजिक रूपमा दबाब सिर्जना गरेको भन्दै पीडित महिलाले उजुरी दिएकी थिइन्।
प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार, राईलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार, सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी कानूनी प्रावधानअनुसार उनीमाथि आवश्यक कारबाही अघि बढाइनेछ।

















