सरिता तामाङ हत्या: परिवारले विश्वास तामाङलाई सरिताको हेरचाह गर्न जिम्मा, विश्वासघातिले नै गर्यो बलात्कार पछि हत्या

काठमाडौँ – धादिङ गजुरीकी १७ वर्षीया सरिता तामाङलाई पढ्न भन्दै दुई वर्षअघि काठमाडौं पठाइएको थियो। चन्द्रागिरि-११, सतुंगलमा दिदीसँग बसेकी सरिता दिदीको विवाहपछि एक्लै बस्दै आएकी थिइन्। दाजु अर्जुन तामाङ वैदेशिक रोजगारीका लागि कुवेत उड्नुअघि विश्वास तामाङलाई सरिताको हेरचाह गर्न जिम्मा दिएका थिए।
तर, २८ मंसिरमा विश्वासले सरिताको डेरामा पुगेर बलात्कार गरेपछि हत्या गरेको खुलेको छ। प्रहरीका अनुसार, बलात्कारपछि सरिताले प्रतिकार गरेपछि घाँटी थिचेर हत्या गरिएको हो। शव लुकाउन पलङको बक्सभित्र राखी विश्वास भागेका थिए।
सरिता सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। खोजतलासको क्रममा १ पुसमा उनको शव कोठाभित्र भेटियो। अनुसन्धानका क्रममा विश्वासले अपराध स्वीकारेका छन् । उनलाई जबरजस्ती करणी, कर्तव्य ज्यान, र डाँका चोरी अभियोगमा थुनामा राखिएको छ।
प्रकरणमा जिल्ला अदालतले उनीविरुद्ध पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
















