News Portal

दशैंका बेला विदेश उड्नुपर्ने बाध्यता

हिमालीसंचार संवाददाता
३६३ पटक

काठमाडौं। ‘एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दशैंको टीका लगाएर प्लेन चढ्छु भनेको थिएँ, मलेसियाबाट कम्पनी साहुले बरु जागिर छाड्न सक्छौ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दशैं र परिवारभन्दा जागिर प्यारो भयो’, सर्लाहीका अजय मेहताले भने।

दशैंको अघिल्लो दिन घरबाट केही थान कपडा बोकेर वैदेशिक रोजगारीमा हिँडेका मेहताका लागि यो बाध्यता रह्यो।

शुक्रबार साँझपख बोर्डिङ पास लिनु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको भीडमा भेटिएका मेहताका लागि दशैंको अघिल्लो दिन घर छाड्नु निकै कष्टकर भयो। सर्लाहीको घरमा हिजो गर्भवती श्रीमती चाँदनीदेवी र आमा उर्मिलादेवीले रुँदै हात हल्लाएर बिदा गरेको क्षण सम्झँदै गर्दा उनका पनि आँखा टिल्पिलाए।

मेहताको जस्तै पीडा सिराहाका घनश्याम यादवको पनि छ। दशैंको टीका र अभिभावकको आशीर्वाद लिएर विमानमा बस्ने योजना समय र परिस्थितिले पूरा हुन दिएन। ‘दशैं मनाएरै जान्छु भन्ने त थियो तर मेरो रहरलाई बाध्यताले जित्यो’ उनले भने।

वैदेशिक रोजगारीका लागि साउदी हिँडेका यादवका अनुसार कम्पनीले दुई महिनाको छुट्टी दिएको थियो। तर दुई महिनाको लामो छुट्टीमा पनि दशैं एक दिनले अट्न सकेन। ‘कम्पनीममा फोन गरेर बिदा लम्बाउन सकिन्छ कि भन्र ट्राइ गरेको हो नि, तर मिलेन, उनीहरुलाई हाम्रो दशैंको महत्व थाहा नभएर पनि हुनसक्छ’, उनले भने।

दशैंको अघिल्लो दिन विमानस्थलको भीडमा धनुषाका विनयकुमार यादव पनि भेटिए। विमान चढ्नुअघि सम्झनाका लागि केही थान तस्बिर लिँदै गरेका उनी पनि कामको सिलसिलामा साउदी अरब हिँडेका रहेछन्।

महान पर्व दशैंका बीचमा परिवार र आफन्त छाड्नुपर्दाको पीडा उनको मनमा पनि गडेर बसेको छ। ‘अरु दशैंमा घर आउँछन्, हामी दशैंमा घर छाड्नु परेको छ। यो हाम्रो बाध्यता भयो, यहाँ म जस्ता हजारौंको पीडा पनि उस्तै त होला भनेर चित्त बुझाएको छु’, उनले भने। उनले साउदी अरबमा मर्मतसम्बन्धी कम्पनीमा काम गरिरहेको बताए।

वैदेशिक रोजगारीका लागि दशैं छाडेर कतार हिँडेका चितवनका अरुण रम्तेलको मन पनि निको छैन। प्लस टुमा होटल व्यवस्थापनको पढाइ पूरा गरेपछि उनी जागिर खोज्दै विदेश हिँडेका रहेछन्। बुबा मलेसियामै काम गरिरहनुभएकाले आफूले पनि विदेश नै रोजेको उनले सुनाए।

आमा सम्झना रम्तेलले आशु पुछ्दै विमानस्थलको टर्मिनलमा छोरालाई नेपालको झण्डा पहिराएर बिदाई गर्दा अरुणका पनि आँखा रसाए। रम्तेलले भने, ‘बाबा पनि विदेशतिरै हुनुहुन्छ, भाइको पढाइ र घरखर्चका लागि म पनि त्यतै जानुपर्ने भयो, भिसा र टिकटको काम सकिएपछि दशैंका लागि कुर्न सकिएन’, उनले भने।

त्यसैगरी लुम्बिनीका ओमप्रकाश चौबे वैदेशिक रोजगारीका लागि दुबईका लागि प्लेन चढ्नु अघि विमानस्थलको टर्मिनलमै भेटिए। केही समयअघि बिदा लिएर घर आएका चौबेले दशैंमा आफैं मात्रै होइन भतिज अजय चौबेलाई पनि सँगै लैजादै थिए। अजय चौबेले कक्षा नौको पढाइलाई अधुरै छाडी विदेश हिँडेका रहेछन्।

नेपालगञ्जकी २४ वर्षीय रेखा खत्रीको पनि जापान जाने टिकट दशैंको अघिल्लो दिन नै परेछ। नेपालमा अध्ययन गरे पनि रोजगार नपाएपछि विदेशिन बाध्य भएको उनले सुनाइन्। ‘प्लस टु सकेर चार वर्ष कृषि विषय पढेँ तर केही पनि काम पाइनँ। अहिले डेढ वर्ष जापानिज भाषा पढेर जापान हिँडेकी छु’, उनले भनिन्।

जापान जाँदै गरेकी बहिनीलाई बिदाइ गर्न विमानस्थल पुगेका काठमाडौं तारकेश्वरका इन्द्र रानामगरले टिकट नमिलेका कारण दशैंको मुखमा छुट्टिनु परेको दुःखेसो पोखे। ‘परिवारका सबै सदस्य सँगै बसेर दशैंको टीका लगाउन त मन थियो नि, परिस्थितिले त्यस्तै गर्यो, टिकट मिलाउनै सकिएन’, उनले भने।

महानवमीको दिन गाउँ तथा शहरमा दशैं मनाइरहँदा उनीहरु जस्ता हजारौंले पैसा कमाउने सपना बोकेर शुक्रबार मुलुक छाडे। विमानस्थलसम्म पुग्नेहरु अधिकांशले भिजेका आँखाले आफन्तलाई बिदाइ गरेको दृश्य अत्यासलाग्दो देखिन्थ्यो। (राससबाट)

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...