विपद् प्रभावितका लागि भन्दै पैसा उठाउँदै थाइल्याण्डकाे एनआरएनए, विज्ञप्ति नै शंकास्पद !

बैंकक। गैरआवासीय नेपाली संघ थाइल्याण्डले नेपालका विपद् प्रभावितको राहत तथा सहयोगका लागि भन्दै पैसा उठाउने अभियान चलाएको छ। अझ पैसा उठाउन सार्वजनिक विज्ञप्ति नै जारी गरेको छ।
राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डले आफ्ना सदस्यहरुको बैठक राखेर सहयोग गर्नका लागि निश्चित मापदण्ड बनाउनुपर्नेमा अध्यक्षको हस्ताक्षर र खाता नम्बर राखेर विज्ञप्ति जारी गर्नुले शंका उब्जिएको सदस्यहरुले बताएका छन्।
अर्कोतिर विज्ञप्तिको भाषा, शुद्धाशुद्धी र ढाँचा नमिलेको तथ्य हेर्दा झनै शंकास्पद देखिन्छ। विज्ञप्तिमा भनिएको छ, ‘विपद्को यस घडीमा यथाशक्य छिटो राहत तथा सहयोगका लागि राष्ट्रिय समन्वय परिषद् थाईलैंड अन्तर्गत रहनुभएका सम्पूर्ण गैरआवासीय नेपालीमा हार्दिक अपिल गर्दछौं। आर्थिक सहयोग देहायको खाता नम्बरमा उपलब्ध गराइदिनु आग्रह गर्दछौं।’ विज्ञप्तिमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाईलैंड लेखिएको छ। जुन मिलेको छैन।
मातृभूमि विपत्तिमा सहयोग गर्नु हरेक नेपालीको दायित्व हो। तर जिम्मेवार संस्था र त्यसका पदाधिकारीले विश्वसनीय रुपमा बैठक राखेर सामूहिकतामा सबैलाई समेटेर देशमा विपत्तिमा परेका दाजुभाइको घाउमा मल्हम पट्टी लगाउनुको सट्टा एकलरुपमा खातामा पैसा हाल भनेर भन्नु शोभनीय नभएको सदस्यहरु बताउँछन्।
(थाइल्याण्डनेपालकाे सहयोगमा।)










