आज : २०२६-०७-२०, सोमबार

सत्ता यताउता हुँदैन, अराजकताले ठाउँ पनि पाउँदैन – प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशमा कुनै अराजकताले ठाउँ नपाउने बताएका छन्। नेपाल समाजवादी पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको टोलीबाट १९ बुँदे ध्यानाकर्षणपत्र बुझ्दै उनले सत्ता समीकरण पनि यताउता हुने सम्भावना नरहेको बताए।

उनले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने आश्वासन पनि दिए। भेटमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले संक्रमकालीन न्यायसम्बन्धीको बाँकी कामलाई छिटो सम्पन्न गर्न सरकारसँग आग्रह गरेको छ।

शुक्रवार सिंहदरवारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. भट्टराईले दलीय सहमतिका आधारमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन तत्काल गरी सो काम छिटो सम्पन्न गर्नुपर्ने लगायतका १९ बुँदे काम प्रस्तुत गरेका थिए।

आफूहरुले तत्कालीन द्वन्द्वरत पक्षहरुको सहमतिमा मात्रै ती दुवै आयोग बनाउने र संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम छिटो टुंगोमा पु¥याउने आशयका साथ १९ बुँदे मागपत्र सरकारलाई सुझाएको डा. भट्टराईले बताए।

माग पत्रमा ती दुवै आयोगको प्रमुख राजनीतिक र कानून दुवै विषय बुझेको हुनुपर्ने कुरामा पनि जोड दिइएको छ। अध्यक्ष भट्टराइले संक्रमणकालीन न्याय विषयलाई अन्य अपराध कर्मको रुपमा लिने र त्यही अनुसार अदालती प्रक्रियामा जाने हो भने सो कुरा आफूहरुलाई मान्य नहुने अडान पनि स्पष्ट पारेका थिए।