News Portal

रुसी सेनामा भर्ती भएका नेपाली युवाले किन गुहारे भारत ?

योगेन्द्र योगी
२७४ पटक

काठमाडौं। रुसी सेनामा भर्ती भएका ५ नेपाली युवाले आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन भारत सरकारसँग अनुरोध गरेका छन्।

सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै ५ नेपाली युवाले नेपाल सरकारबाट कुनै सहयोग नभएको भन्दै हिन्दी भाषामै बोल्दै आफूहरूलाई उद्धार गरिदिन छिमेकी मुलुक भारतलाई अनुरोध गरेका हुन्।

उनीहरूले आफूहरूलाई एजेन्टले हेल्परको काम दिने भनेर झुक्याएर रुसी सेनामा भर्ना गराएको र उद्धार गर्न नेपाल सरकार र मस्कोस्थित नेपाली दूतावासले कुनै चासो नदिएको भन्दै भारत सरकारलाई उद्धार गरिदिन भनेका हुन्।

आफूहरूसँगै रहेका तीन जना भारतीय नागरिकलाई भारत सरकारले उद्धार गरेपछि आफूहरू झन समस्यामा परेकाले भारत सरकारको साथ खोजेको उनीहरूले बताएका छन्।

उनीहरूले आफूहरूसँगै ३० जना नेपाली रुस पुगेको भए पनि अहिले आफूहरू पाँच जना मात्रै बाँकी रहेको बताएका छन्। कोही साथीलाई कतै पठाएको र कोही गम्भीर घाइते भएको उनीहरूले बताएका छन्।

उनीहरूले भनेका छन्, ‘हाम्रो नेपालबाट केही पनि भइरहेको छैन। यहाँ भएका सबै नेपाली स्वदेश फर्कन चाहन्छौं। नेपाल र भारतबीच राम्रो सम्बन्ध छ। भारत र भारतीय दूतावास शक्तिशाली छ।’

रुसमा फसेका नेपालीले नेपाल सरकारसमक्ष गरेको गुनासो बेकार भएकाले उद्धार गर्न भारत सरकारसँग अपिल गर्नुपरेको उनीहरूले बताएका छन्। उनीहरूले आफूहरूलाई रुसी सेनामा सहयोगीको कामको बहानामा रुस पठाउने ट्राभल एजेन्टहरूले ठगेको समेत गुनासो गरेका छन्।

‘यसकारण हामी तपाईंहरूसँग मद्दत माग्न चाहन्छौं,’ उनीहरूले हिन्दी भाषामै भनेका छन्, ‘हमारे नेपालसे कुछ नहीं हो रहा है। हम चाहते हैं कि यहाँ मौजुद सभी नेपाली अपने वतन लौट चाहते हैं। नेपाल और भारतकेबीच अच्छे सम्बन्ध हैं। भारत और भारतीय दूतावास शक्तिशाली है। इसलिए हम आपसे मदत माँगना चाहते है।’

उनीहरूले भारत सरकारले भारतीयलाई जस्तै आफूहरूलाई पनि उद्धार गर्नेमा ढुक्क रहेको बताएका छन्। हरेक दिनजसो रुसी सेनामा भर्ती भएका नेपालीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै रुस नआउन र आफूहरूलाई उद्धार गर्न अपिल गर्ने गरेका छन्।

अहिलेसम्म रुसी सेनामा कार्यरत १३ नेपालीले ज्यान गुमाइसकेका छन् भने धेरै नेपाली घाइते तथा अंगभंग भएका छन्। सीएनएनका अनुसार रुसी सरकारले गत वर्ष विदेशी लडाकुलाई देशको सेनामा भर्ना हुन आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार नेपाली रुसी सेनामा भर्ना भएको अनुमान गरिएको छ।

यस्तै रुसी सेनामा भर्ती भएका ४ नेपाली युक्रेनमा बन्धक बनेका छन्। युक्रेनमा बन्धक हुनेहरूमा बर्दियाको राजापुर गाउँपालिका–१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका–२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका–८ का प्रतीक पुन रहेका छन्।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...