News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • भिजिट भिसा प्रकरण : दैनिक करिब एक करोड घुस लेनदेन

    अध्यागमनका कर्मचारीलाई हरेक हप्ता नयाँ मोबाइल

    पत्रपत्रिकाबाट
    ५९२ पटक

    पौष-४,बुधबार/काठमाडौं – भिजिट भिसामा हुने मानवतस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको संस्थागत संलग्नता देखिएको छ।पक्राउ परेका एक अध्यागमन अधिकृत र एजेन्टहरूमाथिको अनुसन्धानले दैनिक करिब एक करोड रुपैयाँ घुस लेनदेन हुने गरेको उजागर गरेको छ ।

    प्रहरीले नक्कली कागजपत्र बनाउने र भिजिट भिसामा विदेश पठाउने ३४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। जसमा अध्यागमन अधिकृत नरवीर खड्कासमेत छन् । एजेन्टसँग दुई लाख रुपैयाँ लिँदै गर्दा प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको थियो । प्रहरीको सोधपुछमा उनले अध्यागमन कार्यालयभित्र संस्थागत रूपमै पैसा लेनदेन हुने गरेको स्वीकार गरेका हुन्। अध्यागमनका अन्य कर्मचारीविरुद्ध प्रहरीले प्रमाण संकलन गरिरहेको छ । 

    प्रहरीका अनुसार दैनिक सेटिङमा दुई सयदेखि तीन सयजना भिजिट भिसामा रोजगारीका लागि विदेश जाने गर्दथे । उनीहरूसँग ३० हजारदेखि ५० हजार रुपैयाँ एजेन्टमार्फत अध्यागमनका कर्मचारीले घुस लिन्थे । यसअनुसार औसतमा दैनिक करोड रुपैयाँ घुस लेनदेन हुने गरेको प्रहरी अधिकारी बताउँछन् । 

    पक्राउ परेका एजेन्ट मनोज लामाले मात्र पछिल्लो तीन महिनामा अध्यागमन कर्मचारीलाई दुई करोड रुपैयाँ बुझाइसकेको बताएका छन् । उनीजस्ता दर्जनौँ एजेन्ट अध्यागमनमा सेटिङ मिलाउँथे । खासगरी कुवेत र संयुक्त अरब इमिरेट्समा भिजिट भिसामा पठाउन यस्तो सेटिङ हुने गरेको थियो । त्यसरी गएकाहरू कतिपय बेचिएका छन् भने केही बिचल्लीमा परेर फर्किएका छन् । 

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा मानवतस्करी गर्ने चारवटा समूहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा भिजिट भिसामा हुने मानवतस्करीमा अध्यागमनका कर्मचारीको पनि मिलेमतो देखिएको र यसमा विस्तृत अनुसन्धान भइरहेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले बताए । उनले भने, ‘प्रमाणले भेटेसम्म कसैलाई छाड्दैनौँ ।’ अध्यागमनभित्र संस्थागत रूपमै भिजिट भिसाको सेटिङ हुने र लेनदेन हुने गरेको पर्याप्त आधार भेटिएको प्रहरी स्रोतको दाबी छ । 

    अध्यागमनमा तीन सिफ्टमा ड्युटी खटाइएको हुन्छ । कार्यालय प्रमुखसहितको टिमले यसको निर्णय गर्छ । कतिपय अवस्थामा यसरी ड्युटी खटाउने वेलामा मिलेमतो हुने गरेको स्रोत बताउँछ । हरेक दिन ड्युटी फरक परे पनि सेटिङ निरन्तर चल्ने भएकाले यसमा संस्थागत रूपमै मानवतस्करी हुने गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । 

    कर्मचारीलाई हरेक हप्ता नयाँ मोबाइल: अनुसन्धानबाट जोगिन अध्यागमनका कर्मचारीले छुट्टै मोबाइल बोक्ने गर्थे, त्यो मोबाइल पनि हरेक हप्ता परिवर्तन हुन्थ्यो । अपराध अनुसन्धान कार्यालयका अधिकारीकाहरूका अनुसार हरेक एजेन्टहरूले नयाँ सिम र मोबाइल अध्यागमनका कर्मचारीलाई उपलब्ध गराउँथे । तिनै मोबाइलमा भिजिट भिसामा जानेहरूको सूची ह्वाट्सएपमा पठाइन्थ्यो । त्यहीअनुसार अध्यागमनका कर्मचारीले सेटिङका व्यक्तिलाई प्रस्थान अनुमति दिन्थे । पक्राउ परेका अधिकृत नरवीर खड्काको मोबाइलमा ६६ जनाको लिस्ट भेटिएको छ । 

    कर्मचारीले विमानस्थल आपपासका होटेल र रेस्टुरेन्टलाई पैसा लेनदेनको अखडा बनाएका थिए । अनुसन्धानबाट जोगिनका लागि सीधै पैसा लिँदैन थिए । होटेल तथा रेस्टुरेन्टका काउन्टरबाट धेरैले पैसा लिने गरेको र बाँडफाँट गर्दै आएको प्रहरीले जनाएको छ । 

    तस्करीमा केही एयरलाइन्स कम्पनीहरूको समेत मिलेमतो देखिएको प्रहरी दाबी छ । नेपाल एयरलाइन्सका त कर्मचारी नै पक्राउ परेका छन् । उनीहरूले नक्कली दुईतर्फी टिकटकै आधारमा बोर्डिङ पास उपलब्ध गराएर मानवतस्करीमा सघाउँदै आएको प्रहरीले जनाएको छ । जसबापत प्रतिव्यक्ति करिब १० हजार रुपैयाँ लिँदै आएका थिए । 

    अध्यागमनमा संस्थागत भ्रष्टाचार नै देखिँदा पनि गृह मन्त्रालयले भने आन्तरिक छानबिनमा चासो दिएको छैन । प्रहरी पनि गृह मन्त्रालयमातहतकै भएकाले प्रहरीबाटै यसमा विस्तृत अनुसन्धान हुने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । मन्त्रालयले शुक्रबार लामो समयदेखि अध्यागमनमा बस्दै आएका केही अधिकृतलाई पनि हटाएको छ । 

    अध्यागमनमा एक सय ३० अधिकृत कार्यरत छन् । पहुँचवाला कर्मचारीको मात्र अध्यागमनमा सरुवा हुने गरेको मन्त्रालयका अधिकारी बताउँछन् । भिजिट भिसाकै सेटिङका लागि अध्यागमन लामो समयदेखि बदनाम छ। विगतका वर्षमा पनि कर्मचारीकै मिलेमतोमा तस्करी भएको विषयमा छानबिन भए पनि कसैलाई कारबाही भएको थिएन । 

    सुन तस्करीमा नागरिक उड्डयनकै कर्मचारीको संलग्नता: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा नागरिक उड्डयन कार्यालयकै कर्मचारीको पनि संलग्नता पुष्टि भएको छ । त्यहाँका चार कर्मचारीलाई भन्सारले पक्राउ गरेको छ । उनीहरूले विगतमा पटक–पटक सुन पास गरेकोसमेत अनुसन्धानबाट पुष्टि भएको छ । दुईजना स्थायी र दुईजना करारका कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले बताए । उनले भने, ‘नागरिक उड्डयनका चार कर्मचारी नियन्त्रणमा छन्, उनीहरूको संलग्नताबारे विस्तृत अनुसन्धान भइरहेको छ ।’ नागरिक उड्डयनका कर्मचारी सुन तस्करीमा पक्राउ परेको पहिलोपटक हो । भन्सार, एयरलाइन्स र प्रहरीका कर्मचारी भने विगतमा पनि पक्राउ परेका थिए । 

    पक्राउ परेकाहरू तल्लो तहका कर्मचारी हुन् । पक्राउ पर्नेमा प्लम्बर, सुरक्षागार्ड तथा अप्रेटरहरू रहेको भन्सार स्रोत बताउँछ । उनीहरूले विमानस्थलको सुरक्षा कमजोरी पत्ता लगाई सुन पास गराउने गरेका थिए । विमानस्थलमा सरसफाइको काम गर्ने तीन कर्मचारी पनि पक्राउ परिसकेका छन् । विदेशबाट आउनेसँग शौचालयमा सुन लिने र उनीहरूले फोहोरभित्र राखेर पास गराउँदै आएका थिए । यसरी लामो समयदेखि सयौँ केजी सुन तस्करी भइसकेको आशंका गरिएको छ । 

    गत २२ मंसिरमा भन्सारले १४ किलो सुन बरामद गरेपछि यसमा छानबिन सुरु भएको हो । दुबईबाट आएका मीनबहादुर घले १४ किलो सुनसहित पक्राउ परेका थिए । उनीजस्तै विगतमा सुन ल्याउने श्रीकृष्ण श्रेष्ठ पनि पक्राउ परेका छन् । तस्करीको व्यवस्थापनमा संलग्न चन्द्र घलेसहित १० जना पक्राउ परिसकेका छन् ।

    सुन तस्करी गर्ने भरियाहरूले पाँच रुपैयाँको नोट लिएर जाने, सो नोट दुबईका एजेन्टलाई दिने गर्दथे । ती एजेन्टहरूले उनीहरूलाई सुन दिएर पठाउने गरेको खुलेको छ । ‘एक तहबाट अर्को तहबीच सम्बन्ध टुटाएर संगठित रूपमा तस्करी हुने गरेको देखिन्छ,’ भन्सार प्रमुख पाण्डेले भने । आजको नया पत्रिका दैनिकले लेखेको छ।

    प्रतिकृया दिनुहोस्

    प्रहरी विधयेक आइतबार मन्त्रिपरिषद्‍मा पेस

    काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न वनेको...

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...

    मंसिर ९ गते आईतबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ मंसिर ९ गते आईतबार || सन् २०२४ नोभेम्बर २४ तारिख || नेपाल...

    ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराज गुरुङको आरोप

    काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई षड्यन्त्र गरेर सहकारी ठग बनाइएको बताएका छन्। शुक्रबार...

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...