News Portal

बल्ल सकियो सिंहदरबार प्रबलीकरण, नयाँ भवनमा प्रम कार्यालय स्थानन्तर गरियो

हिमालीसंचार संवाददाता
३९० पटक

काठमाडौँ – विस. २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको मुख्य भवनको प्रबलीकरण सकिएको छ । प्रबलीकरण गरिएको सिंहदरबार अब आठ रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्ने क्षमता सहितको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवनका प्रमुख कोषनाथ अधिकारीले बताए ।

प्रबलीकरण सकिएसँगै नया भवनमा प्रधानमन्त्रीको कार्यालय पश्चिमी मोहडामा सारिएको छ । भूकम्पपछि प्रधानमन्त्रीको कार्यालय तत्कालीन गृह मन्त्रालय रहेको भवनमा सारिएको थियो । त्यहाँबाट यसअघि प्रधानमन्त्री कार्यालय मुख्य प्रशासनिक भवनको पूर्वी मोहडा (उत्तरी, पूर्वी र दक्षिणी भाग) स्थानान्तरण भएको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बुधबार पूर्वी मोहडाबाट पश्चिमी मोहडामा स्थानान्तरण भएको हो । आयोजना प्रमुख कोषनाथ अधिकारीका अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पश्चिमी मोहडा पहिलो तलाको पश्चिम–दक्षिण कुनामा स्थानान्तरण भएको हो ।

सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय नयाँ भवनमा सरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ ठाउँबाट काम गर्दा नयाँ ऊर्जा प्राप्त हुने उल्लेख गरेका थिए । प्रधानमन्त्रीले नयाँ भवनबाट राष्ट्र र जनताको पक्षमा काम गर्ने प्रेरणा मिल्ने बताउँदै मुख्यसचिव, सुरक्षाकर्मी, सबै कर्मचारीलाई नयाँ उत्साहसाथ राष्ट्र र जनताका पक्षमा सेवा गर्ने अवसर भएको बताए ।

प्रधानमन्त्री कार्यालय पछिल्लो भागबाट अगाडि सारिएको छ । यो खाली ठाउँ मात्रै सारिएको होइन । कामको प्रकृति र गुण पनि नयाँ ढङ्गले जाने सङ्कल्पका रूपमा महसुस गरेको छु, उनको भनाई थियो ।  

प्रधानमन्त्री कार्यालय ‘स्पेसल जोन’ भवनको पहिलो तलामा प्रधानमन्त्रीको कार्यालय रहने क्षेत्रलाई आधुनिकीकरण तथा सुरक्षाको दृष्टिकोणले ‘स्पेसल जोन’ का रूपमा विकास गरिएको आयोजना प्रमुख अधिकारीले बताए ।

प्रधानमन्त्रीले स्वदेशी र विदेशी पहुनासँग भेट्न छुट्टाछुट्टै कक्ष, क्याबिनेट हल, एक्सन रुम, उद्घाटन तथा सम्बोधन कक्ष, स्टुडियो, अराम कक्ष निर्माण गरिएका छन् । त्यसै गरी मुख्यसचिव र प्रधानमन्त्री कार्यालय अन्तर्गतका सचिवका लागि छुट्टाछुट्टै कक्षको निर्माण समेत गरिएको छ । त्यसै गरी भवनको माथिल्लो तलामा उपप्रधानमन्त्रीको कार्यकक्ष निर्माण गर्नुका साथै मासिक रूपमा हुने सचिवका बैठकका लागि कक्ष निर्माण गरिएको छ । सो क्षेत्रमा पानी वितरणका लागि पानी प्रशोधन प्लान्टसमेत जडान गरिएको छ ।

पूर्वी मोहडाको तुलनामा पश्चिमी मोहडाको निर्माण जटिल प्रकृतिको रहेको तथा बहुमूल्य वस्तु, आकृति रहेकाले न्यूनतम क्षति र अधिकतम संरक्षण गर्ने सिद्धान्त अनुसार विशेष सावधानी अपनाउँदै प्रबलीकरण गरिएको आयोजना प्रमुख अधिकारीले जानकारी दिए । उनका अनुसार स्टिलको प्रयोग गरी भवनको ‘स्ट्रेन्थिङ’ गरी सुर्की र चुनले प्लास्टरसँगै प्रबलीकरण गरिएको जनाकारी दिए ।

उनले विशेष गरी सिसा, चुना, काठ र फलामको प्रयोग गरी निर्माण गरिएको पश्चिमी मोहडाको प्रबलीकरण पनि तत्कालीन शैलीमा भवन निर्माण गरिएको जानकारी दिए । ऐतिहासिक कलाकृतिसमेत रहेको यस भवनको प्रबलीकरणका क्रममा पुरातात्विक सम्पदाको संरक्षण गरिएको छ । नियो क्लासिकल युरोपियन शैलीमा प्रबलीकरण गरिएको यस मोहडाको प्रबलीकरण कुल खर्च करिब ५० करोड रुपियाँ रहेको समेत जानकारी दिए।

सिंहदरबारको पश्चिमी खण्ड राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्मित सिंहदरबारको २०३० सालको आगलागीबाट बँचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको पछि पुनर्निर्माण गरिएको थियो । आगलागीपछि अङ्ग्रेजी अक्षर ‘सी’ आकारको यो भवनको जिर्णोद्धारमा सिमेन्ट, बालुवा, रडलगायतका सामग्री प्रयोग गरिएको थियो ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले आवश्यक सामग्री बेलायतबाट झिकाई आफ्नो निजी निवासका रूपमा सन् १९०३ मा सिंहदरबारको निर्माण गर्न लगाएका थिए । १२० वर्ष पुरानो सिंहदरबारको मुख्य भवनको प्रबलीकरण पूर्वी र पश्चिमी मोहडा गरी दुई भागमा निर्माण गरिएको हो ।   यो समाचार आजको गोरखापत्रमा खबर छ। 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...