एजेन्सी। इजरायलबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ।
त्यहाँको प्रधानमन्त्री कार्यालयले जोशीसहित एक सय २२ विदेशी नागरिकलाई हमासले बन्धक बनाएर राखेको बताएको हो।
तीमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना छन्। नेपालका जोशी पनि ती मध्ये एक हुन्। जोशी अक्टोबर ७ देखि बेपत्ता थिए।
इजरायलको प्रधानमन्त्री कार्यालयले उनी हमासको बन्धक रहेको पुष्टि गरेको हो। तर, अपहरणमा परेकालाई गाजापट्टीको कुन क्षेत्रमा राखिएको छ भनेर इजरायलले प्रस्ट बताउन भने सकेको छैन।