News Portal

काभ्रे प्रशासन विदेशीलाई नागरिकता बेच्ने ‘अखडा’, सुन तस्कर दावासँगै ४ विदेशीले नागरिकता लिएको खुलासा

हिमालीसंचार संवाददाता
२९४ पटक

काभ्रे। विमानस्थल बाहिरबाट बरामद गरिएको ६० किलो सुन तस्करी अभियोगमा पक्राउ परेका निमा भनिने दावा छिरिङसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेबाट थप ४ जना विदेशीले एकैपटक नागरिकता लिएको खुलेको छ।

प्रहरीले निमा तामाङका नाममा दावा छिरिङलाई सुन तस्करी प्रकरणमा पक्राउ गरेपछि खुलेको अनुसन्धानबाट ४ जना चिनियाँ मूलका नागरिकले काभ्रेबाट गैरकानुनी तरिकाबाट नागरिकता र राहदानी बनाएको खुलासा भएको हो। दावाले नागरिकता बनाएकै दिन वि.सं. २०७४ पुष २० गते सोही ठेगाना र बाबुको नाम पनि एउटै राखेर जिल्ला प्रशासन कार्यालय काभ्रेबाट पासाङ लामाले नागरिकता लिएका थिए।

उनको नागरिकता नम्बर ११८६५ हो। दावा र पासाङका बाबुको नाम पेमा तामाङ राखिएको छ भने ठेगाना नमोबुद्ध ११ राखिएको छ। यिनै दुई जना दावा र पासाङले कर्मचारीको सेटिङ्गमा अनुसूची गायव बनाएर अभिलेख राखेर नागरिकता लिएका हुन्। प्रहरीको सीआईबीले सुन तस्करकै अनुसन्धानका क्रममा दावासँग सम्बन्ध भएका थप ४ जना चिनियाँ नागरिक पक्राउ परेसँगै काभ्रेबाट राहदानी लिएको खुलासा भएको हो। पासाङको राहदानी नम्बर १०७४२५७१ हो। उनको राहदानी २०७४ माघ ११ गते बिहीबार जारी भएको हो।

चिनियाँ नागरिक ली नेङकाईको साथमा राम लामा र सोनाम लामा नामका दुईवटा राहदानी बरामद भएको जानकारी दिँदै स्रोतले बतायो–‘राम र सोनामले एकै दिन २०७८ पुष ८ गते काभ्रेबाट राहदानी लिएका हुन्। उनीहरूले लिएको राहदानीअनुसारको नागरिकता नम्बर भने गृहमन्त्रालयको रेकर्डमा भेटिँदैन।’ राम लामाको जन्म २०५३ वैशाख १५ गते राखिएको छ। नागरिकता नभएकाले ठेगाना प्रष्ट छैन।

१२५८९४५७ नम्बरको राहदानी लिएका रामको नागरिकता नम्बर ३०३०४१–२२५४ हो। यस्तो खालको नम्बर काभ्रेबाट जारी भएको नागरिकतामा छैन। सोनामको राहादानी नम्बर १२५८९४५६ र नागरिकता नम्बर ३०३०४२–२२५४ हो। जन्म मिति २०५३ भदौ ७ राखिएको छ। उनीहरू दुवैजनाको नागरिकता र राहदानीको नम्बर सँगै छ। उनीहरू दुवै विदेशी हुन्।

जिल्ला प्रशासन कार्यालय काभ्रेका कर्मचारीहरूले राजनीतिक संरक्षण र दावाको प्रभावमा परी दावासहित चार जना विदेशीलाई नागरिकता दिएर ठुलो अपराध गरेको खुलासा भएको हो। यसअघि आर्थिक प्रभावमा परी दावालगायत अन्य ३ सय ५० जनालाई नागरिकता बिक्री गरिएको खुलासा भएको थियो। त्यस्ता गलत कार्य हुँदै आएको देखिएपछि हाल जिल्ला प्रशासन कार्यालय काभ्रेले नागरिकता वितरणमा विशेष सतर्कता र कडाइ गर्न थालेको छ।

एकपछि अर्काे शंकास्पद विवरण भएका नागरिकता फेला पर्न थालेपछि नयाँ र प्रतिलिपिमा कडाइ गरिएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो – ‘अनुसूची गायव पारिएका तथा अन्य शंकास्पद नागरिकताका सन्दर्भमा अनुसन्धान गरी कारबाही शुरू गरिएको छ। साउनको एक महिनामा मात्रै झुटा विवरण पेस गरेर नागरिकता बनाउने १६ जनाको नागरिकता रद्द गरी कारबाहीका लागि प्रहरी कार्यालय पठाइएको छ।’ निमालगायतका केहीको हकमा भने गृह मन्त्रालयले छानबिन गरिरहेकाले निर्णय भएको छैन।

कर्मचारीहरूकै मिलेमतोमा पछिल्ला दिनमा पनि नागरिकता बिक्री भइरहेको अनुसन्धानबाट खुले पनि अनुसन्धानका लागि कुनै पनि कर्मचारीलाई छानबिनको दायरामा ल्याउन सकेको छैन। ठुलो गिरोहको संलग्नतामा त्यति ठुलो अपराध भएको पुष्टि हुँदासमेत गृह मन्त्रालयले कर्मचारीहरूलाई तत्काल छानबिन तथा कारबाही गर्न पहल नगर्नुले ठुलो आशंका जन्माएको छ।

दावाले दिलाएका थिए दर्जनौं व्यक्तिलाई नेपाली नागरिकता

सुन तस्कर प्रकरणका हालसम्मका मुख्य पात्रमध्येका एक तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले आफूजस्तै दर्जनौं व्यक्तिलाई नेपाली नागरिकता र राहदानी दिलाएको खुलासा भएको छ। उनी १७ वर्षअघि पनि नेपालमा पक्राउ परेको तथ्य पनि फेला परेको छ।

प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार प्रहरी प्रधान कार्यालयको अभिलेखमा दावा वि.सं. २०६३ मंसिर २४ गते बौद्धबाट पक्राउ परेका थिए। उनीविरुद्ध सार्वजनिक अपराधमा मुद्दा चलाइएको थियो। त्यतिबेला तिब्बती चिनियाँ भनेर मुद्दा चलाइएका दावालाई के–कस्तो सजाय भयो भन्ने विस्तृत अभिलेख फेला परेको छैन।

त्यसपछि उनी दोस्रोपटक वि.सं. २०७६ मा अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ र अश्लिल भिडिओ देखाएर चिनियाँ नागरिकलाई ठगी गरेको आरोपमा पक्राउ परेका थिए। त्यसबेला उनीसहित १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए। उनीहरूलाई पक्राउ गर्न नेपालस्थित चिनियाँ दूतावासले सूचना दिएको थियो। तर, लामो समयदेखि नेपालमै रहेका दावाले अन्य चिनियाँ अपराधीहरूलाई पनि सहयोग गर्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन्।

दोस्रो पटक पक्राउ पर्नु अगाडि नै उनले काभ्रेबाट वि.सं. २०७४ मा नेपाली नागरिकता र राहदानी किर्ते कागजात पेस गरेर लिएका थिए। त्यसमा उनलाई कारबाही गरिएको थिएन। वि.सं. २०७८ मा नै उनको नागरिकता किर्ते भएको सरकारी अनुसन्धानले नै देखाएको भए तापनि अहिलेसम्म उनको नागरिकता रद्द भएको छैन।

गत साउन २ गते विमानस्थल बाहिरबाट बरामद गरेको करिब एक क्विन्टल सुन प्रकरणमा दावाको पनि संलग्नता देखिए पछि उनलाई ठमेलको होटल भियनाबाट पक्राउ गरिएको थियो। अहिले उनीमाथि अनुसन्धान जारी छ। उनको पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र उनका छोरा दिपेश पुन, माओवादी नेता वर्षमान पुन र पत्नी ओनसरी घर्ती लगायतसँग सम्वन्ध देखिएको छ।

यद्यपि, माओवादी नेताहरूले दावाले रोल्पाकी अमलासँग विवाह गरेको र त्यही कारण मात्र भेटघाट भएको प्रष्टीकरण दिएको छ। अहिले दावासँगै अन्य नागरिक पक्राउ पर्ने क्रम जारी भए पनि नागरिकता बिक्री गर्ने गिरोहका बारेमा भने प्रहरीले अनुसन्धान गरेको छैन। – नेपालसमाचारपत्र

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...