News Portal

झापाको मेची पारिको विद्यालय बन्द, नेपाली विद्यार्थी भारतको विद्यालयमा पढ्न बाध्य

हिमालीसंचार संवाददाता
२२८ पटक

झापा। सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन्। आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि पढ्नैका लागि उनी सीमा नाघेर भारत धाउन बाध्य छिन्।

सडक, सञ्चार, खानेपानी, सुरक्षालगायतका कुनै पनि भौतिक विकासका पूर्वाधार नपुगेको ‘मेचीपारिको नेपाल’ भनेर चिनिएको मेचीनगर वडा नं १५ को ग्वालाबस्ती र सिसौडाँगीका धेरै बालबालिका लख्खीले जस्तै दिनहुँ सीमा पार गर्ने चुनौती खेप्दै पढ्नका लागि भारतीय विद्यालय जाने गर्छन्।

सिसौडाँगीका २० वर्षीय कमल बाँस्के पढाइ छाडेर अहिले खेतीपाती र चिया मजदुरीमा लागेका छन्। ग्वालाबस्तीको मेची प्राथमिक विद्यालयमा कक्षा २ पढेपछि मेची तरेर नेपालतिरकै कालिका आधारभूत विद्यालयमा कक्षा ३ उत्तीर्ण गरेका उनले मेची नदीको बाढीमा कुनबेला बगिएला भन्ने डरले पढाइ नै छाडिदिएको सुनाए।

डेढ सय जनसङ्ख्या भएको ग्वालाबस्ती र सिसौडाँगी मेची नदी पारिको नेपाली भू-भाग हो। जहाँ विकासका कुनै पूर्वाधार पु¥याउन सकिएको छैन। स्थानीयवासीले दशकौँदेखि सडक, पुल, शिक्षा, स्वास्थ्य, सुरक्षा र कृषिमा अनुदान माग गर्दै आएका छन् तर उनीहरुको आवाजको सुनुवाइ भएको छैन।

ग्वालाबस्तीमा नेपाल चिनाउने एउटा निशानीको रुपमा विसं २०५७ मा मेची प्राथमिक विद्यालय स्थापना भएको थियो।

कुनै समय ४ जनासम्म शिक्षकले पठनपाठन गराउने सो विद्यालय हाल बन्द भएको छ। विद्यालयको दुई ब्लकमध्ये पहिलो ब्लकको एउटा कोठालाई कार्यालय बनाइएको छ। अरु तीन कक्षा कोठा हुन्। चारवटै कोठा बन्द गरेर ताला लगाइएको छ।

“शिक्षक आउँदैनन्, अनि विद्यार्थी पनि आउन छाडे”, विद्यालयका लागि पाँच कठ्ठा जग्गादान गरेको दाता परिवारका सदस्य कुमार राजवंशीले भने, “नियमित विद्यालयमा आउनुहोस् भनेर धेरैपटक शिक्षकलाई सम्झायौँ तर, उहाँहरु मन लागे आउने र नलागे नआउने गर्थे। अहिले त विद्यालय नै बन्द भयो।”

उनका अनुसार सो विद्यालयमा विगतदेखि बाल कक्षा, कक्षा १ र कक्षा २ को मात्र पढाइ हुँदै आएको थियो। पढाइ नियमित नभएपछि पढिरहेका विद्यार्थीले पनि विद्यालय छाडे।

जसमध्ये कोही भारतीय विद्यालयतिर पढ्न गइरहेका छन् भने अधिकांश खेतीपातीतिर लागेको उनले जानकारी दिए।

विद्यालय सञ्चालनको समयमा हरेक दिन विद्यार्थीले राष्ट्र गान गुञ्जाउँथे। अहिले बन्द रहेको कार्यालय कोठामा बाल कक्षाका विद्यार्थीलाई पकाएर खुवाउने एउटा थोत्रो ग्यास चुलो, प्लास्टिकका भाडाकुँडा र एउटा स्टीलको दराज माकुराको जालोभित्र छोपिएको छ। कक्षा कोठामा डेक्स र बेञ्च एउटा पनि छैनन्।

मेचीनगर शिक्षा शाखाका स्रोत व्यक्ति लोकबहादुर दाहालले विद्यार्थी आउन छाडेपछि मेची प्राथमिक विद्यालयको पठनपाठन प्रभावित भएको स्वीकार गरे। उनले सेवा सुविधा धेरै पाइन्छ भन्दै विद्यार्थी भारतीय स्कुलमा जाने गरेको बताए।

गत वर्षको अभिलेखअनुसार सो विद्यालयमा १६ विद्यार्थी पढ्थे। पढाउने एक जना शिक्षक भवराज जोशी काज सरुवा लिएर कालिका आधारभूत विद्यालयमा गए। अर्का बाल शिक्षक रेवती राजवंशीले शिक्षा आयोगको परीक्षा उत्तीर्ण गरेर आदर्श माध्यमिक विद्यालयमा गए। शिक्षा शाखाले विद्यालय नेतृत्वविहीन नहोस् भनेर मेची वारीको कालिका आधारभूत विद्यालयका शिक्षक युवराज ढकाललाई मेची प्राथमिक विद्यालयको प्रधानाध्यापक तोकेको छ। कालिकामा नियमित अध्यापन गइरहेका ढकाल मेची प्राथमिक विद्यालय जाँदेनन्।

शिक्षक एकपछि अर्को गर्दै बाहिरिए पछि विद्यालयको सम्पूर्ण रेखदेख कर्मचारी राजेश राजवंशीले गर्दै आएका हुन्। उनी पनि मेची वारी भिन्डीबस्तीमा घर भएकाले मेची नदी तरेर नियमित विद्यालय नजाने गरेको स्थानीयको दावी छ।

विसं २०७० तिर मेची प्राथमिक विद्यालयमा ५० विद्यार्थीले पढ्ने गरेको र विकासका कुनै पूर्वाधार नबनेपछि स्थानीयले गाउँ नै छाडेर बसाई हिँड्दा विद्यार्थी घटेको विद्यालयका कर्मचारी राजेश राजवंशीले बताउनुभयो। उहाँले भारतीय सीमा सुरक्षा वल (एसएसबी)को दस्ता विद्यालयमै आएर ‘यो स्कुल नेपालको कि भारतको ?’ भनेर सोध्ने गरेको बताउछन्।

मेचीनगर शिक्षा शाखाका स्रोत व्यक्ति दाहालले ग्वालाबस्ती र सिसौडाँगी नेपालकै भूभाग हो भनेर चिनाउनसमेत त्यहाँको एकमात्र विद्यालय बन्द गर्न नहुने धारणा व्यक्त गरे। बरु विद्यालयलाई कसरी सुविधासम्पन्न बनाउन र विद्यार्थीलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर सोच्नुपर्ने उहाँ बताउछन्। न्यूज२४नेपाल

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...