रुपा शर्मा काठमाडौं – गुल्मी जिल्लाबाट काठमाडौं आएकी एक बहिनी गोंगबुको होटलमा काम गर्छिन् भन्ने सुनेकी थिएँ । बूढाले कान्छी श्रीमती ल्याएपछि काखमा सानो बच्चा च्यापेर सहर छिरेकी उनी कहाँ के गर्दै छिन् भन्ने वर्षौंसम्म कसैलाई पत्तो भएन ।
तर, एक दिन गोंगबुको पुलमाथि धेरै मान्छेको भीडमा मैले उनलाई एक्कासि भेटें ।
‘दिदी,’ उनले च्याप्प मेरो हात समातिन् । एक छिन उनलाई चिन्न मलाई गाह्रो भयो । अनुहारको मास्क हटाउँदै उनले भनिन्— दिदी, नचिनेको हो कि के हो ? अनुहार प्रस्टै देखेपछि उनलाई चिन्न मलाई कुनै गाह्रो भएन ।
तिमी कहाँ बस्छ्यौ ? के गर्दै छौ ?’ मैले एकै सासमा सोधें । मलीन स्वरमा उनले भनिन्— यो बाटोमा उभिएर के भनौं ? मलाई तपाईंको सहयोग चाहिएको छ ।
हेर्नुस् न, मेरो बच्चालाई कुनै संस्थाले राखिदिन्थ्यो कि ?’उनले सुरुमै बच्चाको कुरा निकालेपछि मैले सोधें, ‘किन र ? कहाँ राख्नुपर्यो बच्चा ?’कुरा गर्दागर्दै एक जना पुरुष उनको छेउमा आइपुग्यो, उनले अलि अनकनाउँदै भनिन्, ‘दिदी, म तपाईंलाई पछि फोन गर्छु, हजुरको नम्बर दिनुस् न ।
उनी फोन नम्बर लिएर मेरोमा मिसकल गर्दै बाटो लागिन् ।काठमाडौंबाट बाहिरिने अधिकांश गाडी छुट्ने स्थान हो— गोंगबु ।
जहाँबाट दैनिक सयौं सवारी साधन बाहिरी जिल्लाका लागि छुट्छन् । विदेशबाट आउने अथवा जाने यात्रुका लागि बास बस्ने ‘ट्रान्जिट’ झैं रहेको गोंगबु वरपर होटल, गेस्टहाउस तथा खाजाघरहरू प्रशस्तै देखिन्छन् ।
पछिल्लो समय केही सपिङ मलसमेत खुेले पनि सडकपेटीमा असरल्ल बसेका पसले तथा तिनका ग्राहक र बस टिकट काट्न आउने—जानेकै बढी घुइँचो देखिन्छ । अझ पछिल्लो समय गोंगबु आसपासका होटल, गेसटहाउस तथा खाजाघरमा खुलेरै यौन गतिविधि हुने गरेको खबर बाहिर आउन थालेको छ ।
अझ होटलहरूले ग्राहक खोज्न उक्साउँदै गाेंगबु पुल वरिपरि बालिका तथा किशोरीलाई पठाउने र ग्राहकअनुसार कमिसन दिने गरेको समाचार पनि मैले धेरै पटक सुनिसकेकी थिएँ । गोंगबुमा भेटिएकी बहिनीलाई त्यसैगरी पुलमाथि देख्नु र उनको अतालिएको हाउभाउ देख्नासाथै मेरो मन गरुङ्गो भयो ।
गाउँ छँदा सुकिला लुगामा देखिने उनी झुत्रे–फोहोरी कपडामा थिइन् तर अनुहारमा पिठो दलेझैं पाउडर पोतेर एकदमै नसुहाउँदो (भद्दा) रातो लिपिस्टिकमा पुलमाथि उभिरहेका बेला मेरो जम्काभेट भएको थियो ।गुल्मीको रिडी गाउँमा जन्मिएकी यी चिनारु बहिनीकी आमा सानैमा बितेकी रहिछन् । बुवाले कान्छी आमा ल्याएपछि कलिलैमा बहिनीले अरूका घरमा काम गर्न थालेकी रहिछन् । पाल्पाका एक सरकारी जागिरेका घरमा काम गर्दै उनी स्कुल जान्थिन् । स्कुले तहको पढाइ पनि नसक्दै यी बहिनीका बाउले जबरजस्ती बिहे गरिदिएका रहेछन् । यो खबर मैले धेरैअघि सुनेकी थिएँ । तर, संयोगले एकाएक भेट भयो, बडो असजिलो अवस्थामा ।
गोंगबुको अप्रत्याशित भेटपछि मलाई हतार भयो, ती बहिनीसँग भेट गरिहाल्न । रातभर मनमा अनेक कुरा खेलिरहे । भोलिपल्टै बिहानै मैले फोनमा सोधें, ‘तिमी कहाँ बस्छौ, भन त । म त्यहीं भेट्न आउँछु ।’‘म गोंगबुतिरै बस्छु दिदी, यस्तो ठाउँमा के आउनुहुन्छ ? बरु म नै आउँछु नि,’ उनले भनिन् । तर, उनको कुरा नमानी म गोंगबु पुगें, उनलाई भेट्न । गोंगबु पुलमुनिबाट दाहिनेतिर लागेपछि एउटा सानो गल्लीभित्र रहेछ, उनले काम गर्ने होटल । उनले आफ्नो कोठामा लगिन् मलाई ।
होटलकै एउटा कोठामा बस्ने रहिछन् । कोठाभरि चुरोटका ठुटाहरू । रक्सी र चुरोटको गन्धले कोठा पसिसक्नु थिएन, वरिपरि ठूलाठूला घर झ्याल खोल्दा पनि हावा कतैबाट नछिर्ने । ४/५ वर्षेजस्तो देखिने उनको छोरा त्यही चुरोटका ठुटामाझ खेलिरहेको थियो ।सुरुआतमा उनलाई आफ्नो कुरा खोल्न धेरै नै गाह्रो भैरहेको थियो, मैले अनुभुत गरें ।
बिस्तारै कुरा आउन थाल्यो ।‘गाउँमा बूढाले बस्नै नदिएपछि छोरा च्यापेर काठमाडौं आएँ । भाँडा माझेर भए नि छोरा पाल्छु भन्ने हिम्मत राखेर आएकी थिएँ । तर यहाँ त भाँडा माझ्दा–माझ्दै मलाई नै माझ्न थाले, म नै जुठो बर्तनजस्तो भएँ । पहिलेको ठाउँमा काम छाडेर यो होटल आएकी तर यहाँ पनि… !’
उनी बीचमै सुकसुकाउन थालिन् । आमा रोएको देखेर सामुको छोरा पनि रुन थाल्यो । उनले छोरालाई काखमा च्यापिन् र भन्दै गइन्, ‘यहाँ पनि भाँडा माझ्ने कामबाटै सबै सुरु भयो । एउटा कोठा दिन्छौं, दिनभरि यही काम गर भने ।
तर, बिस्तारै कोठामा ग्राहकहरू पठाउन थाले । कि उनीहरूलाई रमाइलो गराउनुपर्ने कि त निस्केर जानुपर्ने । जतिवटा होटल फेरे पनि यो गोंगबुमा भएका धेरैजसो होटलमा यस्तै हालत हुने रैछ ।’ ‘होटलमा ग्राहक आउँदा पनि यही कोठामा सुत्ने हो । छोरा सँगै हुन्छ ।
उसकै अगाडि रक्सी–चुरोट चलाउनुपर्ने बाध्यता । कतिपय ग्राहकलाई ‘छोरा निदाओस् अनि गरौंला’ भन्दा पनि रक्सीको सुरमा पर्खनै मान्दैनन् । छोराकै सामु नहुने र नगर्ने काम पनि गरिन्छ… । लौ न, मेरो छोरालाई यो नर्कबाट निकालेर कतै स्कुलमा बोर्डस राखिदिनुपर्यो,’ एकोहोरिंदै उनी बोलिरहेकी थिइन् । मसँग उनलाई सान्त्वना दिने शब्दसमेत थिएन ।
चुपै रहें । एकै छिनमा चिया पिउनका लागि हामी होटलको तल रिसेप्सनमा आएर बस्यौं । एकै छिनमा झन्डै १३/१४ वर्षे जस्ती देखिने केटी ५० नाघेको एक पुरुषसँगै काउन्टरमा आएर चिच्याई— अंकल, ए अंकल… । होटलको एउटा स्टाफ काउन्टरमा आयो । केटीले ठाडै सोधिन्— कोठा छ ?
उसले ‘छ’ भन्यो । उनले चाबी मागिन् । चाबी लिएपछि त्यो अधबैंसे पुरुष पनि केटीका पछि लाग्यो । उनले काउन्टरमै ‘दुइटा कन्डम दिनुस्’ भनेर पेन्टको गोजीमा अघि नै हालिसकेकी थिइन् ।
मैले उनलाई हेरिरहेकी थिएँ । वरिपरि मानिसहरू भए पनि उनमा कुनै धक थिएन । घुँडामा च्यातिएको डिजाइनको पाइन्ट, गलामा पोते, ओठमा कालो लिपिस्टिक, कालो अनुहारमा सेतै देखिने गरी मेकअप । हेर्दा कलिलो उमेरकी भएप नि उनको शृंगार हेर्दा बिहे भइसकेकी महिलाजस्तै भान पथ्र्यो ।