भिजिट भिसामा विदेश जान लागेका ७३ महिला विमानस्थलबाट फर्काइए

भदौ ९, २०७९ बिहीबार
काठमाडौं। भिजिट भिसामा विदेश जान लागेका ७३ महिलालाई त्रिभुबन विमानस्थल प्रहरीले फर्काइ दिएको छ। सरकारले तोकेको मापदण्ड पूरा नगरी विदेश जान लागेका महिलालाई फिर्ता गरिएको हो।
त्रिभुबन विमानस्थल सुरक्षा कार्यालयका डिआइजी श्यामलाल ज्ञवालीका अनुसार, हिजो र आज गरी ७३ महिलालाई विमानस्थलबाट फर्काइएको हो। विमानस्थल प्रहरीले हिजो ३९ जनालाई फर्काएको थियो भने आज ३४ जनालाई फर्काएको छ। अहिले पनि थप अनुसन्धान भइरहेको भन्दै प्रहरीले फर्काउनेको संख्या बढ्ने अनुमान गरेको छ।
रातको उडानमार्फत महिलाहरु विदेश उड्ने गरेका थिए। उनीहरुको भिसा सक्कली नै भएपनि भिसाको लागि पेश गरेको कागजात नक्कली भएको प्रहरीको भनाइ छ। धेरै जसो खाडी मुलुक र मध्यपूर्वी देशमा जान लागेका महिलाहरु विमानस्थलबाट फर्काइएका हुन्।
फर्काइएका महिलाहरलाई माइती नेपालको संरक्षणमा राखिएको छ। प्रहरीले पाएको गोप्य सूचनाको आधारमा भिजिट भिसामा जाने महिलाहरुलाई फर्काएका हुन्। ती महिलाहरु दलालहरुमार्फत भिजिट भिसामा रोजगारीका लागि जाँदै गरेको सूचना प्रहरीले पाएको छ।













