रविन्द्र बराल/मोरङ – मोरङ जिल्लामा गत शनिवारदेखि रोकिएको रंगेली नगरपालिकाको मतगणना सोमबार साँझबाट शुरु भएको छ । वडा नं. ८ को मतपेटीको फोरिएको र गणनामा नियोजित रुपमा धाँधली भएको भन्दै गठबन्धनका दलहरुले नारावाजि गरेपछि रोकिएको मतगणना पुनः शुरु भएको हो ।
मुख्य निर्वाचन अधिकृत रामहरी काफ्लेका अनुसार दलहरुसँगको सर्वदलीय बैठक पश्चात मतगणना शुरु गरिएको हो । उनका अनुसार रोकिएको ३ नं. वडाको गणनालाई निरन्तरता दिइँदैछ । सोमबार नै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया रंगेली पुगेर गणना प्रक्रिया चाँडो शुरु गर्न निर्देशन दिएका थिए ।
शनिबार राति होहल्ला हुन थालेपछि मतगणना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै मतगणना स्थगित गरिएको थियो । शनिबारसम्म गणना भएको मत परिणाम अनुसार एमालेबाट मेयरका उम्मेदवार बगडीया अग्र स्थानमा रहेका छन् । उनी आफ्ना प्रतिस्पर्धी कांग्रेसका मोदराज घिमिरे भन्दा ५ सय ६४ मतान्तरले अगाडी छन् । ३ हजार १ सय ३२ मत गणना हुँदा बगडीयाले १ हजार ६ सय ३१ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका मोदराज धिमिरेले १हजार ६७ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि एमालेकै भूमा पराजुली अगाडी छिन् । उनले १ हजार ६७ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार जसपाका पन्नालाल मण्डलले ४ सय २२ मत मात्र प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।