News Portal

नेविसंघमा उमेर हदबन्दी तोकिएसँगै अध्यक्षका दाबेदार आउट, नेतृत्वमा क-कसको दाबी ?

८५१ पटक

काठमाडौं – नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लागू भएको छ । आइतबार राति अबेर सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघमा ३२ वर्षे उमेर हद लागू गर्ने गरी विधान स्वीकृत गरेको हो ।

तर, यो निर्णयमा पार्टी सभापति शेरबहादुर देउवा इतरको रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंहलगायत नेताले नोटअफ डिसेन्ट लेखेका छन् ।

११ औं महाधिवेशनबाट स्वीकृत विधानमा १२ औं महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागू गर्ने उल्लेख थियो । तर, महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा ३२ वर्षे उमेर हद हटाउन पार्टीलाई आग्रह गर्‍याे ।

यसको पछाडि उनीहरुको तर्क थियो, नियमित अधिवेशन हुने भएपछि ३२ वर्षे लागू गरौं । अहिले पार्टीको संस्थापन समूहले आफ्नो स्वार्थअनुकुल उमेर हद ल्यायो ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेता ३२ वर्ष उमेर हदको अडानमा रहे । रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहका नेताहरुले विधान सम्मेलनको माग गरे तर, ३२ वर्षे उमेर हद कायम राख्ने निर्णय कांग्रेसले नै गर्‍याे ।

११ औं महाधिवेशनबाट नै प्रवन्ध भइसकेको वैधानिक व्यवस्थालाई हटाउनु उपयुक्त नहुने नेविसंघ अध्यक्ष नैनसिंह महरले जानकारी दिए । महरले भने, ‘अन्तिम अथोरिटी पार्टीको केन्द्रीय समिति हो । त्योभन्दा माथि हाम्रो सुनुवाइ हुने ठाउँ छैन । नेविसंघको महाधिवेशन अब पार्टीले स्वीकृत गरेको विधानअनुसार हुन्छ ।’

नेविसंघको वर्तमान कार्यसमितिको थपिएको तीन महिने म्याद मंसिर २ मा सकिँदैछ । त्यसैले दशैं–तिहारको बीचमा भएपनि महाधिवेशन गर्नुपर्ने दबाव छ ।

तर, पौडेल र सिटौला समूहका नेताहरु भने यो अवधिमा महाधिवेशन नहुने दाबी गर्छन् । ‘विवाद नै नभएपनि हुम्ला, जुम्लाबाट दशैंतिहारको बीचमा कसरी प्रतिनिधि आउँछन् ?’ एक नेताले भने, ‘अहिले त पार्टीका वरिष्ठ नेताहरुले नै नोट अफ डिसेन्ट लेखेका छन् । यस्तो अवस्थामा नैनसिंहले अधिवेशन गर्न सक्दैनन् ।’

‘३२ वर्ष उमेर हदको कुरा झिकेर अधिवेशन नगरेको अपजस छल्न मात्र खोजिएको हो,’ ति नेताले भने ।

कुन्दन आउट ! जोशीलाई चिठ्ठा

युवाबाट प्रौढ उमेरमा प्रवेश गर्दा पनि विद्यार्थी नेता हुनेहरु नेविसंघमा थुप्रै छन् । वर्तमान अध्यक्ष महर स्वयम् ४० कटिसकेका छन् । त्यसैले ३२ वर्षे उमेर हद नेविसंघको दीर्घकालीन हितका लागि उपयुक्त मात्र होइन, अनिवार्य भइसकेको देउवा, पौडेल, सिटौला सबै समूहका नेताहरु स्वीकार गर्दछन् ।

त्यसो भए पौडेल र सिटौला समूहको गलफत्ति किन त ? नेविसंघंमा अहिले देखिएको ३२ वर्षे उमेर हदको समर्थन र विरोध आसन्न महाधिवेशनलाई हेरेर भएको छ ।

नेविसंघको अध्यक्षका लागि थुप्रै नेता आकांक्षी छन् । प्रमुख दावेदारका रुपमा कुन्दनराज काफ्ले देखिएका छन् । हाल महामन्त्री रहेका उनी कृष्ण सिटौलासँग निकट हुन् र चुनाव भएको अवस्थामा उनकै पल्ला भारी हुने नेताहरु बताउँछन् ।

तर, ३२ वर्षे उमेर हद लागू भएपछि कुन्दन नेविसंघको नेतृत्व दौडबाट बाहिरिएका छन् । नेताहरुका अनुसार ३२ वर्षे उमेर हदमा सिटौला समूहले चर्को विरोध गर्नुका मुख्य कारण यही हो ।

रामचन्द्र पौडेल समूहको अवस्था पनि यो भन्दा फरक छैन । भावी अध्यक्षका रुपमा अघि सार्न खोजिएका नेताहरु ३२ वर्ष कटेका छन् । उसो त शेरबहादुर देउवा समूहका सरोज थापाहरुलाई पनि ३२ वर्षे उमेर हदले रोक्छ ।

तर, यो पटक देउवा समूहले प्रेमराज जोशीलाई नेविसंघको अध्यक्ष बनाउन चाहेको छ । सहमहामन्त्री प्रकाशशरण महत निकट उनलाई ३२ वर्ष उमेर हदले छैक्दैन ।

नेविसंघको पदाधिकारीमा ६ जनालाई उमेर हदले छुँदैन । उपाध्यक्षद्वय पवन यादव र सागर परियार, सहमहामन्त्रीत्रय प्रेमराज जोशी, प्रकाश घिमिरे र अम्बिका चलाउने तथा कोषाध्यक्ष शिव रिमाल मात्र ३२ वर्ष उमेर नपुगेका छन् ।

पवन र चलाउने संस्थापन समूहकै हुन् । सागर परियार महामन्त्री शशांक कोइराला निकट मानिन्छन् । उनले आफूलाई रामचन्द्र पौडेलको पनि साथ रहेको दाबी गर्ने गरेका छन् । यसैगरी कोषाध्यक्ष शिव रिमाल नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णका विश्वास पात्र मानिन्छन् । कर्ण रामचन्द्र पौडेल प्यानलका हुन् ।

जोशीलाई शेर्पाको चुनौती !

नेविसंघमा ३२ वर्षे उमेर हद लागू भएपछि प्रेमराज जोशीलाई निकै सहज भएको मानिएको छ ।

तर, रामचन्द्र पौडेल–कृष्ण सिटौला समूह मिल्यो भने उनीहरुले सोचे जस्तो सहज पनि हुने छैन । किनभने सिटौला समूहको बलमा नैनसिंह अध्यक्ष भएका थिए । यो पटक सिटौला समूह पौडेल समूहसँग मोर्चाबन्दी गर्ने रणनीतिमा छ ।

सिटौैला समूहले यदि ३२ वर्षे लागू भइहाल्यो र अधिवेशन हुने भयो भने कसलाई अघि सार्ने भन्ने समेत तय गरेको छ । स्रोतका अनुसार हाल आदिवासी जनजाति विद्यार्थी संघको अध्यक्ष रहेका दुजाङ शेर्पालाई सिटौला समूहले अघि सार्ने तयारीमा छ । पौडेल समूहमा भने व्यक्ति टुंगिएको छैन ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...