News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • निलम्बनविरुद्ध गभर्नरका वकिलका दुई तर्क

    हिमालीसंचार संवाददाता
    ७७ पटक

    काठमाडौं – गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले थालेको पदमुक्त गर्ने प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा परेको निवेदनमा मंगलबारदेखि सुनुवाइ सुरु भएको छ । गत चैत २४ मा गभर्नरमाथि जाँचबुझ गर्न समिति गठन भएसँगै स्वतः निलम्बनमा परेका उनले वैशाख ५ मा सर्वोच्चमा निवेदन दिएर आफूलाई नियमित काममा फर्काउने आदेश मागेका थिए ।

    वैशाख ६ मा न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उनलाई काममा फर्कन आदेश दिँदै मुद्दाको अन्तिम टुंगो नलागुन्जेल उनको निलम्बन कायम रहने वा नरहने निर्णय गर्न मंगलबार दुवै पक्षलाई छलफलमा बोलाएका थिए । त्यसै आदेशअनुसार मंगलबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक मोक्तानको इजलासमा सुनुवाइ सुरु भएकामा गभर्नर अधिकारीका कानुन व्यवसायीले मात्रै बहस सके । 

    सरकारी वकिलको बहस बिहीबार हुनेछ । महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायत पाँच जना सरकारी वकिल र सरकारद्वारा नियुक्त १२ जना कानुन व्यवसायीले सरकारको प्रतिरक्षा गर्नेछन् । फेरि गभर्नर अधिकारीका वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि मात्रै सर्वोच्चले अधिकारीमाथि गर्न लागिएको जाँचबुझले निरन्तरता पाउने वा अन्तरिम आदेशमार्फत त्यसमा रोक लगाउने भन्ने आदेश गर्नेछ ।

    मंगलबारको सुनुवाइमा गभर्नर अधिकारीका कानुन व्यवसायीले प्रमुख दुई तर्क पेस गरेका छन् । उनीहरूले राष्ट्र बैंक ऐनअनुसार गभर्नरलाई पदमुक्त गर्ने पूर्वावस्था अहिले नरहेको र जाँचबुझ समितिको वैधानिकता नरहेको तर्क गरे ।

    ‘पदमुक्त गर्नुपर्ने अवस्था छैन’

    मन्त्रिपरिषद्ले गत चैत २४ मा गभर्नरमाथि जाँचबुझ गर्ने समिति बनाउँदा प्रमुख तीन कारणलाई आधार मानेको देखिन्छ । अर्थमन्त्री जनार्दन शर्माले निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गरेको राजस्व सचिव कृष्णहरि पुष्करमार्फत तयार पारिएको टिप्पणीमा ‘नेपाल राष्ट्र बैंकको उद्देश्य हासिल गर्न बैंकले गर्नुपर्ने कार्यहरू कार्यान्वयन गर्न/गराउन गभर्नरमा कार्यक्षमताको अभाव देखिएको’ उल्लेख छ । 

    त्यस्तै सोही टिप्पणीमा ‘मुलुकको बैंकिङ तथा वित्तीय व्यवस्थामा हानिनोक्सानी पुग्ने कार्य गरेको र राष्ट्र बैंकको कामकारबाहीमा बदनियतसमेत देखिएको’ भन्दै गभर्नरलाई पदमुक्त गर्न आवश्यक रहेको उल्लेख छ । मंगलबारको बहसका क्रममा गभर्नर अधिकारीका कानुन व्यवसायीले यी आधारहरू पर्याप्त नरहेको दाबी गरे । 

    मन्त्रिपरिषद्ले निर्णय गर्दा नेपाल राष्ट्र बैंक ऐनको दफा २२.५ (ख, ग र घ) मा गभर्नरलाई पदमुक्त गर्ने आधारका रूपमा रहेका यी व्यवस्थालाई हुबहु आफ्नो निर्णयमा राखेको देखिन्छ । उक्त ऐनको दफा २२.५ मा गभर्नर पदमुक्त हुने थप तीन अवस्थाहरू (सञ्चालक हुन अयोग्य भएमा, खराब आचरणको कारण कुनै पेसा/व्यवसाय गर्नबाट अयोग्य ठहरिएर प्रमाणपत्र खोसिएको वा व्यवसाय गर्न रोक लगाइएकोमा वा कुनै स्पष्ट कारणबिना लगातार तीन पटकभन्दा बढी सञ्चालक समितिको बैठकमा अनुपस्थित भएमा) पनि छन् । 

    यी तीनवटै अवस्था स्पष्ट रूपमा मापन गर्न सकिने प्रकृतिका भएकाले सरकारले निर्णयमा यिनलाई राखेको देखिँदैन । त्यसैले गभर्नरलाई पदमुक्त गर्ने प्रक्रिया सुरु गर्दा सरकारले बहुअर्थी र वस्तुगत रूपमा स्थापित नभए पनि आरोपित गर्न सकिने प्रावधान मात्रै राखेको देखिन्छ । 

    यद्यपि गभर्नर अधिकारीलाई जाँचबुझ प्रारम्भ भएपछि उनी स्वतः पदमुक्त हुन पुगेको जानकारी दिनलाई चैत २५ मा पठाइएको पत्रमा भने मन्त्रिपरिषद्को निर्णयमा उल्लेखित तीन आधार पनि समावेश छैन । उक्त पत्रमा ‘राष्ट्र बैंकको उद्देश्य हासिल गर्न गभर्नरमा कार्यक्षमताको अभाव देखिएको’ मात्र उल्लेख छ ।

    अधिवक्ता नरेन्द्रप्रसाद गौतमले गभर्नर अधिकारी तीन दशकसम्म राष्ट्र बैंकमा रहँदा कहिल्यै नउठाइएको कार्यक्षमताको अभावको प्रश्न अहिले एकाएक ल्याइएको बताए । ‘पदमुक्त हुने अवस्थामा पुगेको गभर्नरविरुद्ध मात्रै ऊ निलम्बित हुने गरी जाँचबुझ गराउन पाइन्छ । पदमुक्त हुने अवस्थामा पुग्न राष्ट्र बैंक ऐनले नै पूर्वावस्थाहरूको व्यवस्था गरेको छ । 

    अहिले ती अवस्थाहरू विद्यमान छैनन्,’ अधिवक्ता गौतमले भने, ‘उसमा कार्यक्षमताको अभाव देखिएको वस्तुगत रूपमा मापन हुनुपर्छ । उसले के काम गर्न सकेन ? कार्यक्षमताको अभावले बैंकको कुन काम प्रभावित भयो ? यसबारे निलम्बित नहुँदै गभर्नरले जान्न पाउनुपर्छ । तर, गभर्नरलाई कुनै पूर्वजानकारी नदिएरै निलम्बित गरियो ।’

    अर्का अधिवक्ता सुरेन्द्र थापाले राष्ट्र बैंक ऐनले तोकेको बैंकको उद्देश्य, सञ्चालक समिति र गभर्नरको काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा गभर्नर अधिकारीमा कार्यक्षमताको अभाव देखिएको हो भने त्यो स्पष्ट रूपमा निर्णयमा आउनुपर्ने बताए ।

    ‘गभर्नरले ल्याएको मौद्रिक नीति, सरकारको आर्थिक नीति कार्यान्वयनमा पुर्‍याएको सहयोगमा कहीं पनि कार्यक्षमताको अभाव देखिएन । बैंक सञ्चालक समितिको बैठकमा सरकारको प्रतिनिधिका रूपमा रहने अर्थसचिवले कहिल्यै पनि निर्णयमा असहमति जनाएको देखिँदैन,’ उनले भने, ‘सरकारले केन्द्रीय बैंकको स्वायत्ततामा असर पर्ने गरी गभर्नरमाथि कारबाहीको डन्डा चलाउन खोजेको छ ।’

    न्यायाधीश मल्लले सरकारले गभर्नरमाथि जाँचबुझ गर्ने समिति बनाउँदैमा केन्द्रीय बैंकको स्वायत्ततामा हस्तक्षेप गरेको कसरी भन्न मिल्छ ? भन्ने प्रश्न राखिन् । जवाफमा अधिवक्ता थापाले जाँचबुझ समिति गठन गर्नुपूर्व गभर्नरलाई पदमुक्त गर्ने अवस्था हुनुपर्ने बताउँदै त्यस्तो अवस्था नहुँदा नहुँदै पनि हटाउने सरकारी तयारीलाई बैंकमाथिको हस्तक्षेपकै रूपमा बुझ्नुपर्ने बताए । 

    थापाको जवाफमा न्यायाधीश मल्ल सन्तुष्ट हुन सकिनन् । उनले थापापछि बहस गर्न आएका वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तलाई व्यक्तिगत कार्यक्षमताको अभावमा हुने जाँचबुझ र बैंकको स्वायत्तता आपसमा कहाँ जोडिन्छ ? भनी सोधिन् । साथै उनले जाँचबुझ समिति गठन गर्नेबित्तिकै हस्तक्षेप भइसकेको निष्कर्षमा पुग्न सकिन्छ र भन्ने पुछ्रे प्रश्न पनि राखिन् । 

    जवाफमा वरिष्ठ अधिवक्ता पन्तले राष्ट्र बैंक ऐनको दफा ५.३ ले नै बैंकको अधिकारको अतिक्रमण कतैबाट नहुने सुनिश्चित गरेको बताए । ‘गभर्नरले गरेका कामले बैंकको उद्देश्य पूरा गर्न नसकेको भनी वस्तुगत रूपमा आधार–कारणसहित जाँचबुझ गर्दा स्वायत्तता रहन्छ,’ उनले भने, ‘मनोगत आधारमा कारबाही गर्न खोजिन्छ भने त्यहाँ स्वायत्ततामा हस्तक्षेप हुन्छ । मलाई गभर्नरको अनुहार मन परेन अब कारबाही गर्छु भनेजसरी कसैलाई कारबाही गर्न मिल्दैन ।’

    त्यसपछि बहस गर्न आएका अर्का वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले सरकारी निर्णयको औचित्यमाथि प्रश्न गरे । ‘गभर्नरले के त्यस्तो काम गर्नुपर्थ्यो, जुन उनले गरेनन् र पदमुक्त गराउन थालियो ? मन्त्रिपरिषद्को निर्णय र गभर्नरलाई निलम्बन गरिएको सूचित गर्ने पत्र दुवैमा यो देखिँदैन,’ उनले इजलासलाई सुझाए, ‘यो विवाद सरकार र गभर्नर अधिकारीको मात्र होइन । 

    अर्थ व्यवस्थामा संकट थप्ने कि घटाउने भन्ने प्रश्न छ । त्यसैले सर्वोच्च अदालतको निर्णय अर्थतन्त्रको आगामी दिशानिर्देश गर्नेगरी आओस् ।’ न्यायाधीश मोक्तानले वरिष्ठ अधिवक्ता अधिकारीलाई सरकारले यसअघि गभर्नरको कार्यसम्पादनमा चित्त नबुझाएर कहिल्यै केही सोधेको थियो कि ? भन्ने जिज्ञासा राखे । जवाफमा वरिष्ठ अधिवक्ता अधिकारीले भने– ‘कहिल्यै पनि थिएन ।’

    जाँचबुझ समितिको वैधतामा प्रश्न: मन्त्रिपरिषद्को चैत २४ कै बैठकले गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारी (पारिश्रमिक एक लाख रुपैयाँ) को अध्यक्षतामा सूर्यबहादुर थापा र चन्द्रकान्त पौडेल (पारिश्रमिक ७५/७५ हजार रुपैयाँ) रहेको समिति गठन गरेको थियो । अधिकारीको पक्षमा बहस गरेका कानुन व्यवसायीहरूले पूर्वन्यायाधीश भण्डारी गभर्नरमाथि पदमुक्तको कारबाही प्रारम्भ गर्ने अर्थमन्त्री शर्माका नातेदार रहेको तथा बाँकी दुई सदस्यहरू पनि शर्मा आबद्ध पार्टी माओवादी केन्द्रमा आबद्ध रहेको बताए ।

    वरिष्ठ अधिवक्ता पन्तले यस्तो समितिले निष्पक्ष रूपमा काम गर्न नसक्ने दाबी गरे । वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्णमान शाक्य, तुलसी भट्ट, अधिवक्ता टीकाराम भट्टराईलगायतले त सर्वोच्चका पूर्वन्यायाधीशको नेतृत्वमा समिति बनाउने राष्ट्र बैंकको प्रावधान नै संविधानसँग बाझिएको भन्दै त्यो स्वतः अमान्य भएको दाबी गरे ।

    संविधानको धारा १३२ (२) मा ‘प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति संविधानमा उल्लेख भएबाहेकका सरकारी पदमा नियुक्तिका लागि ग्राह्य नमानिने’ व्यवस्था छ । संविधानले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष र सदस्य (धारा २४८) र निर्वाचन क्षेत्र निर्धारण आयोगको अध्यक्ष (धारा २८६) मा मात्र सर्वोच्च अदालतको सेवानिवृत्त न्यायाधीश नियुक्त हुन सक्ने व्यवस्था गरेको छ । 

    तर, अन्य कतिपय प्रचलित ऐनमा सर्वोच्चका सेवानिवृत्त न्यायाधीशहरूलाई काममा लगाउन मिल्ने व्यवस्था छ । जस्तो, गभर्नरमाथिको जाँचबुझ समितिको अध्यक्ष बनाउने राष्ट्र बैंक ऐनको व्यवस्था वा प्रेस काउन्सिलको अध्यक्ष बनाउन सक्ने प्रेस काउन्सिल ऐनको व्यवस्था । न्यायाधीश मल्लले संविधान जारी भएपछि पनि बारम्बार संशोधन भएका ऐनका यी व्यवस्था कायमै रहेको सन्दर्भमा सर्वोच्चका सेवानिवृत्त न्यायाधीशलाई संविधानमा तोकिएबाहेक काममा लगाउन नमिल्ने भन्ने कानुन व्यवसायीको तर्कमा स्पष्टता खोजिन् । 

    उनले ‘संविधानसँग बाझिएका भनेर व्यवस्थापिकाले कानुन संशोधन पनि नगरेको, न्यायिक पुनरावलोकनका लागि सर्वोच्चमा चुनौती पनि नदिएको र ती कानुन जीवितै भएको अवस्थामा वैध छैन भन्न कसरी सकिन्छ ?’ भन्ने जिज्ञासा राखिन् ।

    जवाफमा वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्चले कानुनमा के लेखिएको छ भन्नुभन्दा संविधानमा के लेखिएको छ भनेर हेर्नुपर्ने जवाफ दिए । न्यायाधीश मल्लले उनलाई फेरि सोधिन्, ‘अदालतले संविधानसँग बाझिएको भनेर कुनै कानुन बदर नगर्दै स्वतः अमान्य भएका कुनै अभ्यास हामीकहाँ छ ?’ वरिष्ठ अधिवक्ता थापाले २०४७ सालको संविधानले मृत्युदण्डको व्यवस्था उन्मूलन गरेको, तर कानुनमा रहेको मृत्युदण्डको व्यवस्था बदर हुनुअघि नै पनि निष्क्रिय भएर प्रचलनमा नआएको उदाहरण दिए ।

    अर्का वरिष्ठ अधिवक्ता शाक्यले संविधान र कानुनका प्रावधान एकअर्कासँग बाझिने अवस्थामा पुग्दा संविधानकै प्रावधान लागू हुने तर्क गरे । करिब सवा दुई सय वर्ष पहिलेको अमेरिकाको उदाहरण दिँदै उनले संविधानकै प्रावधान हेर्न इजलासलाई सुझाए । 

    सन् १८०३ मा अमेरिकाको सर्वोच्च अदालतले मर्बरी भर्सेस म्याडिसनको मुद्दामा गरेको व्याख्यालाई उद्धृत गर्दै उनले संविधानले व्यवस्थापिकाको समेत सीमितता तोक्ने कारणले व्यवस्थापिकाले बनाएको कानुनभन्दा संविधान नै सर्वोच्च हुने बताए । 

    त्यसपछि न्यायाधीश मल्लले अमेरिकी अदालतको उक्त फैसला मुद्दाको अन्तिम आदेश गर्दा ‘रिफरेन्स’ हुने भए पनि एकल इजलासले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा कत्तिको सान्दर्भिक हुन्छ ? भनेर सोधिन् । वरिष्ठ अधिवक्ता शाक्यले कानुन प्रथम दृष्टिमै संविधानसँग बाझिएको देखिएमा अन्तरिम आदेश दिने आधार बन्ने बताए । 

    अधिवक्ता टीकाराम भट्टराईले संविधानसँग बाझिएका कानुन निष्क्रिय रहिरहेको अवस्थामा सर्वोच्चले केही गर्न नपर्ने भए पनि त्यस्ता कानुनलाई सरकारले सक्रिय बनाएकाले अहिले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको बताए । ‘अन्तरिम आदेशलाई निरन्तरता नदिने हो भने सरकारले संविधानसँग बाझिने कानुनको साहारामा गरेको गैरसंवैधानिक कार्यले निरन्तरता पाउँछ । त्यसलाई रोक्न अन्तरिम आदेशको निरन्तरता चाहिन्छ ।’

    राष्ट्र बैंक ऐनले गभर्नरमाथि जाँचबुझ गर्ने समितिको अध्यक्षमा सर्वोच्च अदालतबाट सेवानिवृत्त न्यायाधीशबाहेकका व्यक्ति रहने व्यवस्था गरेको छैन । तर, संविधानसँग बाझिन्छ भन्ने आधारमा उक्त व्यवस्थाबमोजिम गठन भएको समितिलाई सर्वोच्चले अवैध ठहर्‍याएमा त्यसपछि अर्को अन्योल निम्तन सक्छ । 

    पूर्वन्यायाधीशबाहेक अरूको अध्यक्षतामा समिति गठन गर्न नमिल्ने ऐनको व्यवस्था तर, त्यसरी बनेको समिति अवैध हुने सर्वोच्चको ठहर भएमा जाँचबुझ समिति नै बनाउन नमिल्ने अवस्था आउन सक्छ । त्यो बेला राष्ट्र बैंक ऐन नै संशोधन गरेर समितिको अध्यक्षतामा पूर्वन्यायाधीशबाहेक अन्य व्यक्ति रहने व्यवस्था गर्नुपर्ने हुन्छ ।आजको कान्तिपुरदैनिकले लेखेको छ। 

    प्रतिकृया दिनुहोस्

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...