
काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गायक प्रकाश सपुतको सार्वजनिक गीतमा समर्थन जनाएका छन् । उनको नयाँ गीत पिर विवादमा तानिएपछि भट्टराईले गायक सपुतको समर्थन गरेका हुन् ।
जनयुद्धमा सहभागी जनमुक्ति सेनाले पाएको दुःखमा आधारित रहेर तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा गायक सपुतले माओवादी जनयुद्धका वृत्त देखाएका छन्। गीतको विवादबारे डा. भट्टराई भन्छन्, म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन। गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्साएको छ। भट्टराईले भनेका छन्; ‘क्रान्तिलाई नयाँ ढङ्गले अगाडि बढाउने पो हो। गीतका सर्जकलाई किन धम्काउने ?’
नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सर्जक सपुतलाई गीत हटाउन चेतावनी नै दिएकी छिन् । उनले सर्वाजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने समेत बताएकी छन् ।