News Portal

  • ३० महिना जेल बसेर निर्दोष साबित सैनिक जवानले दिए ४ सैनिक अधिकृतविरुद्ध जाहेरी

    हिमालीसंचार संवाददाता
    २५८ पटक

    चितवन। सेनाको कोतबाट हतियार चोरी गरेको अभियोगमा ३० महिना जेल बसेपछि निर्दोष साबित भएका सैनिक जवान लवकुमार गुरूङले सेनाका ४ जना अधिकृतविरूद्ध आइतबार किटानी जाहेरी दिएका छन्।

    गुरूङले सरकारी वकिलको कार्यालय भरतपुरमा पुगेर घटना हुँदा कालीबहादुर गणमा कार्यरत महासेनानी राजेन्द्रमणि गिरी, सेनानी दीपेन्द्र श्रेष्ठ, सहसेनानीद्वय विज्ञान विष्ट र गणेश भट्टराईविरूद्ध किटानी जाहेरी दिएका हुन्। गुरूङ निर्दोष साबित भएपछि २०७८ भदौ १८ गते भरतपुर कारागारबाट रिहा भएका थिए।

    जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै जाहेरी लिन नमानेपछि उनले आइतबार सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ता गराएका हुन्। गुरूङले आफूलाई चरम यातना दिएर जबर्जस्ती दोषी साबित गराएको भन्दै न्यायका लागि सोही गणमा कार्यरत सैनिक अधिकृतहरूविरूद्ध किटानी जाहेरी दर्ता गराएको सरकारी वकिलको कार्यालयले जनाएको छ।

    उनी न्यायका लागि एड्भोकेसी फोरम नेपालका कानुन अधिकृत अधिवक्ता कुमारप्रसाद थपलियालाई लिएर सरकारी वकिलको कार्यालय पुगेका थिए। गणको सैनिक हिरासतभित्र रहँदा मानसिक र शारीरिक यातना दिएर जबर्जस्ती आफूलाई दोषी ठहर्‍याइएको उनले जाहेरीमा उल्लेख गरेका छन्।

    उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–९, हँडिया स्थायी घर भई तत्कालीन समय उक्त गणमा कार्यरत गुरूङलाई ‘केआर १००७९३’ एसएमजी (सर्ट मेसिनगन) चोरी गरेको अभियोगमा २०७५ पुस २ गते हिरासतमा राखिएको थियो। उनीसँगै सिपाही सरोज गुरूङ र चुबी गुरूङलाई पनि सोही अभियोगमा हिरासतमा राखिएको थियो।

    समरी अदालतबाट कारागार चलान भएका लवकुमारलाई १० र सरोजलाई ७ वर्ष जेल सजाय तोकिएको थियो। चुबीलाई भने सेवाबाटै बर्खास्त गरिएको थियो।

    कालीबहादुर गणबाट हराएको हतियार अर्कै व्यक्तिले चोरी गरेको खुलेपछि उनीहरूले सफाइ पाएका थिए। काठमाडौंको दी फेमस महिन्द्र दल गणमा कार्यरत नीलकण्ठ–१०, धादिङका भरत गुरूङको हत्या अनुसन्धान क्रममा उक्त हतियार सोही गणका गंगाधर ढकालले चोरी गरेको पाइएपछि सैनिक अदालतको फैसला गलत साबित भएको थियो।

    चितवन घर भएका ढकाल विगतमा कालीबहादुर गणमा काम गरेर दी फेमस महिन्द्र दल गणमा सरूवा भएका थिए। गत साउन ७ गते बिहान भरतपुर–१७ स्थित नालामा गोली लागेको अवस्थामा भरत गुरूङको शव फेला परेको थियो।

    भरतको हत्या आरोपमा चितवन प्रहरीले ढकाललाई भरतपुर महानगरपालिकाको चनौली बजारबाट पक्राउ गरेर अनुसन्धान गर्दा हत्यामा ‘केआर १००७९३’ एसएमजी नै प्रयोग भएको देखिएको थियो। ढकालले बयान क्रममा उक्त हतियार र गोली कालीबहादुर गणबाटै चोरेर ल्याएको स्वीकारेका थिए। साथै, सोही हतियार चोरीको अभियोगमा जेलमा रहेका कसैलाई नचिनेको बयान उनले दिएका थिए।

    लवकुमारले आफूलाई पक्राउ गरी हतकडी र आँखामा पट्टी बाँधेर असह्य पीडा हुने गरी कुटपिट गरिएको, कुटीकुटी बेहोस बनाएर झ्यालको डन्डीमा झुन्ड्याइएको किटानी जाहेरीमा उल्लेख गरेका छन्। अनुसन्धानकै क्रममा हातखुट्टा बाँधेर नाक, मुख, मलद्वार र मुत्रनलीबाट खुर्सानीको धुलो भिजाएर सिरिन्जमार्फत भित्र पसाई चरम यातना दिइएको पनि उनले उल्लेख गरेका छन्।

    कसुर स्वीकार नगरे श्रीमतीलाई भारतको बम्बई लगेर बेचिदिन्छु, त्यही पैसाले हराएको हतियार किन्छु भनेर धम्क्याउँदै मानसिक यातना दिने गरेको उनको आरोप छ। उक्त सजायका कारण आफू अहिले मानसिक तथा शारीरिक रूपमै विक्षिप्त भएको उनले बताए।

    बस्न, सुत्न र उठ्न अरूको सहारा आवश्यक पर्ने अवस्थामा पुगेको भन्दै उनले सेनाले लगाउने पहिरन देख्दा पनि मन आत्तिने गरेको बताए। उनले जाहेरीमा निर्दाेष व्यक्तिलाई दोषी साबित गरी कारबाही गराएर मानहानि गरेको भन्दै दोषीमाथि हदैसम्म कारबाही र क्षतिपूर्तिसमेत माग गरेको बताएका छन्।

    २०७८ साउन ७ गते गंगाधर ढकाल दोषी देखिएपछि लवकुमार जेलमुक्त भएका थिए। हत्या आरोप लागेका गंगाधर २५ वर्ष कैद सजाय पाएर हाल कारागारमा छन्। लवकुमार भने २०७८ पुस १ देखि लागू हुने गरी स्वेच्छिक अवकाश लिएर बसेका छन्। उनीसँगै छुटेका तामाङ गणमै कार्यरत छन्।

    जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले लवकुमारले दिएको जाहेरीलाई सम्बन्धित गणमा पठाइएको बताए। ‘प्रहरीले अफ्नो क्षेत्राधिकारमा नपर्ने भनेपछि हामीकहाँ आउनुभएको थियो। सैनिकले सैनिकलाई यातना दिएको जाहेरी भएकाले हामीले जाहेरी दर्ता गरेर सम्बन्धित अड्डा कालीबहादुर गणमा पठाएका छौं,’ उनले भने, ‘अब यो प्रक्रियागत रूपमा अघि बढ्दै जाला।’

    न्यायका लागि एड्भोकेसी फोरम नेपालका कानुन अधिकृत अधिवक्ता कुमारप्रसाद थपलियाले गुरूङ सैनिक हिरासतमा रहँदा आफूलाई कठोर यातना दिइएको र त्यसको असर अझै बाँकी रहेको भन्दै न्यायको खोजी गर्दै संस्थामा आइपुगेपछि सहयोग गरेको सेतोपाटीलाई बताए।

    ‘यातनालाई सैनिक अदालतको मात्रै विषय नबनाइयोस् भनेर नीतिगत तहमै ध्यानाकर्षण गराउन प्रयास गरिरहेका छौं। फौजदारी संहिताअनुसार यातनाको उजुरी दिने हदम्याद ६ महिनाको हुने र त्यो हदम्याद १८ गतेसम्म मात्रै हुने भएकाले हामीले दर्ता गरेका छौं,’ उनले भने, ‘अब हाम्रो संस्थाले उनको पक्षमा निशुल्क बहस पैरबी गर्ने छ।’ थपलियाले लवकुमारको अहिलेको शारीरिक अवस्थाको स्वास्थ्य जाँच पनि चलिरहेको बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...