
युवा राई/हङकङ – कोभिड-१९ बाट २४ घण्टाभित्र हङकङमा ६६ जना बिरामीको मृत्यु भएको छ। त्यस्तै, १७,०६३ संक्रमित पुष्टि भएको छ। यो संख्या हङकङमा अहिलेसम्मको उच्च हो।
हङकङ अस्पताल प्राधिकरणका अनुसार मृत्यु हुनेमा १९ वर्षदेखि १०१ वर्ष उमेरबीचका ३९ पुरुष र २७ महिला रहेका छन्। मृत्यु हुनेमा बृद्धबृद्धा र दीर्घ रोगी समेत रहेका छन्।हङकङमा कोरोनाको पाँचौं लहरमा मात्रै सार्वजनिक अस्पतालमा मृत्यु हुनेको संख्या ४०२ पुगेको छ। कोरोनाबाट हङकङमा मृत्यु हुनेको कुल संख्या ६०७ पुगेको छ। सेन्टर फर हेल्थ प्रोटेक्शनका डा चुआङ शुक-क्वान अनुसार १७,०६३ संक्रमितमध्ये ६ आयातित रहेका छन्।
अस्पताल प्राधिकरणले हङकङका विभिन्न अस्पतालहरूमा कोभिडका ५४८५ बिरामीहरूको उपचार भइरहेको जनाएको छ। पेनी बे आइसोलेसन सेन्टरमा ५५० र चुन वान आइसोलेसन सेन्टरमा हाल ५०० भन्दा बढी विरामी रहेका छन्। ४० जना विरामीको अवस्था चिन्ताजनक र ९७ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। २९३ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।