
सुनसरी – सुनसरीको बराहक्षेत्रमा टिकाप्रसाद बिश्वकर्माले आफूसंग दैवी शक्ति भएको, महामानव र इश्वरको रुपको उपमा दिएर सुनसरीको बराहक्षेत्र नगरपालिका ६ जब्दी जलपाई चोकमा रहेर विश्वकर्मा र उनी निकट ज्योतिष शिव सेवा केन्द्रले सर्वसाधारण जनतालाई ठगी गरिरहेको उनकै पूर्व चेला एवं भक्तजनहरुले आरोप लगाएका छन्।
उनले विभिन्न समस्या लिएर पुगेका सर्वसाधारणहरुलाई भक्त बनाउने, भक्तमा विभिन्न देवी देवता उतारि दिने, देवी देवताहरुसँग भेट गराउने बहानामा ठगी गरिरहेको विश्वकर्माका पूर्व भक्तजनहरुले आरोप लगाएका हुन्। ठगीएका पीडितहरुले बुधबार सुनसरीको धरानमा पत्रकार सम्मेलन गर्दै विश्वकर्मा रउनी र उनी निकट सेवा केन्द्रको पदाधिकारीहरुले मिलेर सर्वसवाधारणहरुलाई भ्रममा पार्दै ठगी गरिरहेको जानकारी दिएका हुन्। ठगीबारे प्रहरी र सुनसरीको जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी दिएको तर प्रभावमा परेर कारबाही नगरेको पिडीतहरुले गुनासो गरेका छन्।
सुनसरीको धरान ८ का सिताराम मल्लले राती कोशी नदी लगेर विभिन्न देवी देवताहरु उत्पन्न गरेर देखाइ दिएको कारण शुरुमा आफू पनि भक्त भएको तर विगत ९ महिनादेखि भने शंका लागेर गोप्यरुपमा अनुसन्धान गर्दै जाँदा विश्वकर्माले आफ्नै भाइ, भतिजाहरु प्रयोग गरेको थाहा पाएपछि विश्वास गर्न छोडेको बताए। मल्लका अनुसार विश्वकर्माले आफू सृष्टीकर्ता, विश्व ब्रह्माण्ड हुँ भन्ने गरेको र आफ्ना नयाँ भक्त बनेकाहरुलाई कोशी नदीमा लगेर देवलोकबाट आएको विभिन्न भगवानहरुसँग भेट गराइदिने गरेका छन्।
तर, त्यसरी कोशी नदीबाट निस्कने विभिन्न भगवानहरु भने विश्वकर्माका आफन्त, उनीसँग मिलेका व्यक्तिहरुले पैसामा किनेका मानिसहरु भएको आफूहरुले पत्ता लगाएको पनि उनले बताए। ‘कोशीमा राती लैजान्थ्यो, चामल छर्किदिन्थ्यो। अगाडि नजानु भनेर टाढैबाट देखाउथ्यो, देवी देवताहरु निकाल्थ्यो। हामीलाई खुशी लाग्थ्यो,’ उनले भने,‘पछि थाहा भयो, ती सबै उसको भाइ, भतिजा, आफन्तहरु रहेछन्। हामीलाई देखाउन समय मिलाएर खोलामा पहिल्यै पठाएको हुँदो रहेछ।’
आत्मा शुद्धि गर्न भनेर भक्तजनहरुलाई ५ हजार पैसा लिन थालेको बिश्वकर्माले पछिल्लो समय २०/३० हजार रुपैयाँसम्म पनि उठाएर ठगी रहेको पीडितहरुले बताएका छन्। विश्वकर्माले देवलोक घुम्न जाने भन्दै सुन, चाँदी र पैसा उठाएर ३ महिनासम्म पुर्ख्यौली घर भोजपुरमा गएर बसेको पनि आफूहरुले पत्ता लगाएको अर्का पीडित पटेल सिंहले जानकारी दिए। ‘देवी देवताको नाममा पैसा लुट्ने काम भइरहेको छ, देवलोकको लागि सुन र पैसा चढाउनुपर्ने भन्दै ठगी गरिरहेको छ,’ उनले भने, ‘हामीलाई खोलामा लगेर कृष्ण, ब्रह्मा, राम निकालेर देखाउँथ्यो तर मान्छे पहिल्यै तयार पारेको हुँदो रहेछ।’ श्रीमती विरामी भएपछि उपचार गर्न गएको तर श्रीमती अझैं निको नभएको उनको भनाई रहेको थियो ।
अर्का पीडित शान्ति लामिछानेले आफू पनि विरामी भएर जाँदा आफ्नो शरीरमा सरस्वतीको बास छ भन्दै विश्वास दिलाएको बताइन्। राती कोशीमा लगेर मसानहरु देखाएको भन्दै उनले विश्वासमा परेर आमाको गरगहनासमेत बेचेर १ कट्ठा जग्गा पनि किनिदिएको बताइन्। ‘मेरो श्रीमानको मृत्यु नजिक आयो भनेर डर देखायो, र आयु गाँस्नु पर्छ भनेर सुन, चाँदी र पैसा माग्यो,’ उनले भनिन्,‘मैले पनि विश्वासमा दिए, र श्रीमानको आयु ७८ वर्षसम्मको गाँसिदिएको छ, तर पछि थाहा भयो ठगी गरेको रहेछ।’
अर्का पीडित धनबहादुर दियालीले सुन, पैसा नदिए शिवजी खुशी हुँदैन, तिमीहरु मर्छौं भनेर ठगी गरेको बताए। पीडितहरुका अनुसार देशका विभिन्न ठाउँका सर्वसाधारणहरुलाई अनेक भ्रममा पारेर उठाएको पैसा सामाजिक काममा नभै परिवारलाई घर, जग्गा खरिद गरेका छन्। यसरी ठगी गर्नेमा विश्वकर्मा एक्ला भने होइनन्। ज्यातिष शिव सेवा केन्द्रका पदाधिकारीहरु पनि रहेको पीडितहरुको भनाइ छ। ठगीबारे प्रहरीमा उजुरी दिएपनि प्रहरीले कारबाही नगरेको पीडितहरुले बताए। जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी लिएर जाँदा स्थानीय तहलाई नै छानबिन गर्न पठाएको पीडित मल्लले बताए।
स्वधोषित महामानव टिकाप्रसाद विश्वकर्मा
यो विषयमा सम्पर्क गर्दा विश्वकर्माले फोन रिसिभ गरेनन्। केन्द्रका सचिव भपेन्द्र खतिवडाले भने विश्वकर्मालाई आफूहरुले इश्वरको रुपमा मानेको र कसैलाई ठगी नगरेको बताए। ‘उहाँलाई हामीले ईश्वरको रुपमा मानेका छौं, उहाँमा दैवीशक्ति छ, र इश्वरले गर्नसक्ने सबै काम गर्न सक्नुहुन्छ,’ खतिवडाले भने,‘उहाँलाई ठगी गर्यो भन्नेहरु नै ठग हुन्। जोश जाँगर भइरहँदासम्म हुँदैन, तर जब चित्त बुझ्दैन तब ठगी हुन्छ।’ आजको नागरिक दैनिकले लेखेको छ।