
युवा राई/हङकङ – गत बुधबार चिमसा चुईको अस्टिन रोडस्थित एउटा सेभेन इलिभेन पसलमा एक नेपाली युवाले लुटपाट गरेको प्रहरीले बताएको छ । दुईजना युवा पेय पदार्थ किन्ने बहानामा पसलभित्र प्रवेश गरेर काउन्टरमा पुगेका थिए। जब महिला क्लर्कले नगद बक्स खोलिन् तब दुईले आफ्नो फोल्डिंग चक्कु देखाएर करिब ८ सय ४० हङकङ डलर लुटेर भागेका थिए।
क्लर्क महिलाको बायाँ पाखुरामा चोट लागेको थियो । घटनालाई डकैतीको रूपमा वर्गीकृत गरेर हङकङ प्रहरीले अनुसन्धान थालेका केही समयमा अपराध गर्ने एक युवा पक्राउ परेका हुन् । हङकङ सथित याउ सिम जिल्ला प्रहरीको अपराध अनुसन्धान टोलीले सीसीटीभि फूटेजको गहिरो अनुसन्धान गरेर अपराधीको खोजीमा लागेको थिए।
प्रहरीले घटनामा संलग्न ४३ वर्षीय एक नेपालीलाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका नेपाली हङकङ आईडी होल्डर भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार अपराधको बेला लगाएका कपडा सहित ६ सय डलर प्रहरीले बरामद समेत गरेको छ। प्रहरीका अनुसार उनी लागुऔषधको बानी परेका निर्माण मजदुर हुन् । उनले लागुऔषधका लागि पैसा लुटेको स्वीकार गरेका छन्।
प्रहरीले घटनामा संलग्न अर्को नेपालीको खोजी गरिरहेको जनाएको छ। प्रहरीले अपराधीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने बताएको छ। प्रहरीले लुटपाट गम्भीर अपराध बताउदै यस्तो अपराधको बाटोमा नलाग्न सर्वसाधरण समक्ष अनुरोध समेत गरेको छ ।