
युवा राई/ हङकङ – हङकङको व्यवस्थापिका परिषद् विधान परिषद् चुनावको दिन हङकङका नागरिकहरूले एमटीआर, केएमबी, सिटीबस र ट्रामलगायत सार्वजनिक यातायातमा निःशुल्क हुने भएको छ । सरकारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।
हङकङ सरकारले जनतालाई निर्वाचनमा सक्रिय सहभागिता गराउने उदेश्यले र भोट हाल्न प्रोत्साहित गर्न निःशुल्क यात्राको अवसर प्रदान गरेको जनाएको छ । सरकारले विधान परिषदको चुनाव डिसेम्बर १९ तारिख गर्दै छ । हङकङभर लगभग ६ सय मतदान केन्द्रहरू स्थापना रहने छ । मतदान केन्द्रहरू बिहान ८.३० बजेदेखि राति १०:३० बजेसम्म हने छ ।
निर्वाचनका दिन सर्वसाधारणले केएमबी, सिटीबस, न्यु वल्र्ड फर्स्ट बस, लङ विन बस र नयाँ लान्ताओ बसबाट निःशुल्क बस सेवाको मजा लिन सक्नेछन् । तर यो सुविधा एयरपोर्ट र बोर्डर पोइन्ट जाने रुटहरू, रात्रीकालीन रुटहरू, साइटसिइङ रुटहरू र नयाँ लामो दूरीको बस रुटहरूमा लागू हुने छैन।
एमटीआरले एलआरटी र एमटीआर बसहरुमा पनि त्यस दिन नि:शुल्क सेवाहरू उपलब्ध गराउने जनाएको छ। एयरपोर्ट एक्सप्रेसमा भने यो सुविधा दिइने छैन। त्यस्तै, नागरिकहरूले सबै ट्राम मार्गहरूमा निःशुल्क यात्रा गर्न सक्ने छन् । सरकारले सहयोगका लागि सार्वजनिक यातायात सञ्चालकहरूलाई धन्यवाद दिँदै नागरिकको सहज यात्राको लागि थप समय दिन आह्वान समेत गरेको छ।