
काठमाडौं – त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा मंगलबार साँझ फ्लाई दुबईको जहाजमा चरो ठोकिएको छ। चरा ठोक्किएपछि जहाजको बायाँतर्फको पङ्खामा क्षति पुगेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले जानकारी दिएका छन्।
बाँस्तोलाका अनुसार उडान नम्बर एफजेड-५७४ को विमानमा चरो ठोक्किएको हो। उक्त जहाज साँझ ७.१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका लागि गुडिरहेको थियो।
यो जहाज मंगलबारै साँझ दुबई फर्किने तयारीमा रहेको थियो। तर चरा ठोक्किएपछि प्राविधिक परीक्षणका लागि जहाज ग्राउन्डेड गरिएको छ।
चरा ठोकिएर जहाज ग्राउन्डेड भएपछि दुबई जान विमानस्थल पुगेका १ सय ७९ यात्रुलाई काठमाडौंकै होटलमा राखिएको छ। यसअघि मंगलबार बिहान सवा ६ बजेको समयमा नेपालगञ्ज विमानस्थलबाट १४ यात्रुसहित हुम्लाको सिमको जान धावनमार्गमा गुडिरहेका बेला सीता एयरको विमान बँदेलसँग ठोक्किएको थियो।
जहाजसँग ठोक्किएका तीनै बँदेल मरेका थिए। जहाजको केही भागमा क्षति भएपछि नेपालगञ्जमै उक्त जहाज रोकिएर राखिएको छ।