
काठमाडौं – काठमाडौं मुख्य नाका नागढुङ्गा र कोटेश्वर जडीबुटी सडक खण्डमा लामो जाम परेको छ ।
उपत्यका छोड्ने यात्रु र गाडीको चापका कारण जाम भएको हो । नागढुङ्गा नौबिसे सडक खण्डमा गाडीको संख्या धेरै भएर जाम भएको छ भने भक्तपुरको पलाँसेमा गाडी बिग्रँदा कोटेश्वर जडीबुटी सडक खण्डमा जाम भएको ट्राफिक कन्ट्रोलले जनाएको छ ।
आजदेखि फूलपाती दशैँ बिदा सुरु भएकाले गाउँघर जाने यात्रुको संख्या बढेको छ । यसले गर्दा मुख्य नाकामा यात्रुको भीड ठुलो छ । कलङ्की, नयाँ बसपार्क, कोटेश्वर जडीबुटीलगायत ठाउँमा गाडीको चाप छ ।
दशैँका बेला गाउँ घर जाने यात्रुले सधैँ सकसपूर्ण यात्रा गर्नु पर्ने अवस्था छ । मध्यम तथा छोटो दूरीका गाडीमा क्षमताभन्दा धेरै यात्रु चढाउने गरिएकाले यात्रा झन् कष्टकर बन्ने गरेको छ । यसपालि बेलैमा सडक मर्मत हुन नपाउँदा सास्ती झन् थपिएको छ ।
गएको २४ घण्टामा झण्डै ८३ हजार यात्रुले उपत्यका छोडेका छन् । यो सङ्ख्या आज झन् बढ्ने छ । गएको ११ गतेदेखि अहिलेसम्म झण्डै सात लाख यात्रुले काठमाडौं छोडेका ट्राफिक प्रहरीको तथ्याङ्क छ । घटस्थापनादेखिको हिसाब गर्दा अहिलेसम्म ८ लाखभन्दा धेरै उपत्यका बाहिरिएका यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।