News Portal

माधव नेपाललाई ओलीको व्यंग्य- अध्यक्षका लागि हिरिक्क हिरिक्क हिरिक्क गरिराख्या थिए…

हिमालीसंचार संवाददाता
४५१ पटक

काठमाडौँ — प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दलको बैठक नबसी अध्यक्षलाई निष्कासित गरेको र संसदीय दलको बैठक नबसी दलको नेता परिवर्तन गर्ने काम भएको बताएका छन्। प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमपछि तत्कालीन नेकपामा उत्पन्न भएको विवादतर्फ संकेत गर्दै उनले कम्युनिस्ट आन्दोलन बर्बाद गर्नका लागि त्यस्ता कदम चालिएको बताएका हुन्।

एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई भृकुटीमण्डपमा शनिबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले पार्टीमा विधि र पद्धतिको कुरा गर्नेहरूले त्यो पालना नगरेको बताएका हुन्। ‘विधि र पद्धतिका कुरा गर्ने तर बाहिर बाहिर हस्ताक्षर गरेर, विधि र पद्धति भन्या के हो ? पार्टीको बैठक बस्या छैन अध्यक्ष निकाल्या रे। दलको नेता फेर्‍या रे, बैठक बस्या छैन,’ ओलीले नेता नेपालतर्फ संकेत गर्दै भने, ‘अर्को एक जना अध्यक्षका लागि हिरिक्क हिरिक्क हिरिक्क गरिराख्या थिए। अध्यक्ष भए अरे।’

प्रतिनिधिसभा विघटन गर्ने ओलीको असंवैधानिक कदम सर्वोच्च अदालतले खारेज गर्दै प्रतिनिधिसभा पुनःस्थापना गरेपछि तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले चितवनमा खुसीयाली मनाएका थिए। त्यसबारे ओलीले भने ‘सानो कुरा पायो कि दंग, फुरुङ्ग, अबीर जात्रा, लड्डु। मैले भने केका लागि खुसी भएका हुन् यिनीहरू ? केका लागि अबिर जात्रा ? के पाए ? के पाउँछन् ?,’ उनले त्यो कदम आन्दोलन बर्बाद पार्ने, आन्दोलनको नेतृत्व, पार्टी र देशलाई बर्बाद पार्ने भएको बताए।

ओलीले प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गर्दा लोकतन्त्र मासिन्छ भनेको तर अबको डेढ-दुई वर्षमा चुनाव हुँदा लोकतन्त्रको आयु डेढ दुई वर्षमात्रै हो त ? भनेर प्रश्न गरेका थिए। उनले त्यस्तो कुरा गर्नेहरू नक्कली लोकतन्त्रवादी भनेका थिए। केही नेताहरू ‘केपी ओलीलाई हटाउनुपर्‍यो, विकासको लहर ल्यायो। विकास नगर्ने प्रधानमन्त्री ल्याउनुपर्‍यो’ भन्दै विभिन्न ठाउँमा निवेदन हाल्न गइरहेको ओलीको आरोप थियो।

‘हामीबाहेक अर्को देशलाई सही ढंगले नेतृत्व दिने न पार्टी छ न कुनै नेता छ। सोच नै छैन त्यस्तो। कुनै नेताको वक्तव्यमा, भाषणमा विकास छ ?,’ उनले भने। कोही महिला अगाडि बढेमा त्यसलाई अनावश्यक टीकाटिप्पणी हुने गरेको ओलीको भनाइ थियो।

‘एउटा महिला अगाडि बढ्यो भने के भन्दा रहेछ्न् ? के सोच्दा रहेछन् ? भन्ने उनीहरुको भाषणमा देख्नुभएको होला। पुरुष सांसद भयो भने बाहुबलबाट भएको र क्षमताले भएको हुने, महिला सांसद भयो भने कसरी हुर्मत लिने रहेछन् भन्ने देख्नुभएको होला,’ उनले भने।

त्यस्तो सोचको अन्त्य गर्नका लागि सोचमा परिवर्तन गर्नुपर्ने ओलीको भनाइ थियो। उनले भने, ‘मानसिक चिन्तनमा अप्रेसन गर्नुपर्छ, टाउकाको अप्रेसनले हुन्न।’ पार्टीमा आउने समस्याको सामना गर्ने ओलीको भनाइ थियो। उनले कुनै चिन्ता नलिन कार्यकर्ताहरूलाई सुझाव दिएका थिए। अहिले कसैले आफूलाई हटाए आफू अबको चुनावमा बहुमत लिएर सत्तामा पुग्ने दाबी गरे।

‘अहिले हटाउन सक्छ कसैले भने हटाएर देखाओस्। जालझेल गरोस्। मोर्चा कसोस्। मोर्चा कसेर हटाउन सक्छ भने हटाओस्। २० महिनापछि यो पार्टी, सूर्य चिह्नधारी पार्टी दुई तिहाई बहुमतका साथ सिंहदरबारको मूल गेटबाट भित्र छिर्छ। हामीलाई प्रतिपक्षमा रहन कुनै गाह्रो छैन। हामी राजनीतिक प्राणी हौं,’ उनले भने।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...