News Portal

  • एकतर्फी सुनुवाइबाट ‘सिद्धबाबा’ लाई सफाइ

    हिमालीसंचार संवाददाता
    ३२० पटक

    धरान – जिल्ला अदालत सुनसरीले हनुमान मन्दिर आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार आरोपबाट सफाइ दिएको छ ।

    पीडितको किटानी जाहेरीका साथै आरोपलाई स्थापित गर्ने कम्तीमा चार प्रमाण हुँदासमेत न्यायाधीश अर्जुन कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको हो। सरकारी वकिल कार्यालयले सोमबार सुनुवाइ रोक्नुपर्ने भनी दिएको निवेदनलाई बेवास्ता गर्दै जिल्ला अदालतले आरोपितको एकतर्फी सुनुवाइका आधारमा मुद्दा टुंग्याएको हो । 

    साधनाका लागि भनेर आश्रममा बोलाएर सिद्धबाबाले आफूलाई बलात्कार गरेको भनी एक महिलाले २०७६ पुस १० गते प्रहरीमा जाहेरी दिएकी थिइन् । अनुसन्धानपछि प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत सुनसरीका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले फैसलाको रायकिताबमा ‘अभियोग दाबी पुष्टि हुने प्रमाण नभेटिएकाले सफाइ हुने ठहर्छ’ भन्ने उल्लेख भएको जानकारी दिए । फैसलाको पूर्णपाठ तयार भइसकेको छैन । पक्राउ परेपछि आरोपित सिद्धबाबाले आफूलाई छाड्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । 

    सर्वोच्च अदालतले केही साताअघि उनलाई थुनामै राख्ने आदेश गरेको थियो । त्यस क्रममा महान्यायाधिवक्ता कार्यालयमा ल्याइएको मुद्दाको मिसिल जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीमा फिर्ता भइसकेको थिएन । महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार त्यसैलाई कारण देखाउँदै सुनसरीको सरकारी वकिलको कार्यालयले सोमबारको सुनुवाइ रोक्न निवेदन दिएको थियो ।

    सरकारी वकिलहरूले इजलासमा त्यही कुरा राखेपछि न्यायाधीश कोइरालाले ‘यही रहेको मिसिल हेरेर बहस गर्नू’ भनेका थिए । त्यसलाई इन्कार गरेका सरकारी वकिलहरूले मुद्दा स्थगन गर्ने निवेदन इजलासमै छाडेर फर्केका थिए । त्यसपछि अदालतका कर्मचारीले उक्त पत्र सरकारी वकिलको कार्यकक्षमै पुगेर फिर्ता गरेका थिए । दर्ता नहुने जोखिम देखेपछि उनीहरूले स्रेस्तेदारको कक्षमा पनि निवेदन पेस गरेको जिल्ला अदालत स्रोतले बताएका छन्।

    ‘केही सीप नलागेपछि हामीले इमेलबाट सुनुवाइ स्थगनको निवेदन दिएका थियौं,’ सरकारी वकिल कार्यालय स्रोतले भन्यो, ‘मुद्दाको सुनुवाइ रोकियो होला भनेको त फैसला आएको रहेछ।’ जिल्ला अदालत स्रोतबाट प्राप्त पत्रमा मिसिल नभएकाले मुद्दाको अध्ययन गर्न असमर्थ भएको उल्लेख गर्दै सुनुवाइ स्थगितको अनुरोध गरिएको छ ।

    प्राकृतिक न्यायको सिद्धान्तअनुसार न्यायनिरुपण गर्ने न्यायाधीशहरूले विवादित दुवै पक्षको सुनुवाइ गर्नुपर्छ । दुवैतर्फको सुनुवाइपछि मात्रै न्यायनिरुपण गर्नुपर्ने आधारभूत सिद्धान्त उल्लंघन हुने गरी न्यायाधीश कोइरालाले फैसला गरेका हुन् । उनको कार्यक्षमतामाथि यसअघि पनि प्रश्न उठेका थियो । गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छानबिन गर्न न्यायपरिषद्मा पत्राचार नै गरेको थियो ।

    घटनाको सम्पूर्ण विवरण 

    सोलुखुम्बुको साबिक जुबु गाविस स्थायी ठेगाना भएका चतरा बस्ने सिद्धबाबा रामकृष्णाचार्य वैष्णव कृष्णदास भनी चिनिन्थे । किटानीजाहेरीमा उल्लेख भएको विवरणअनुसार उनले आफ्नो नियमित सम्पर्कमा रहेकी एक भक्तलाई गत कात्तिक ३ गते राति साढे ११ बजे फोन र म्यासेन्जर कल गरे ।

    ती भक्त महिलाले रेस्पोन्स नगरेपछि रोमन अंग्रेजीमा ‘हेलो, मैले मौका दिएका बेलामा चुप किन’ भनी कुटीमा बोलाए । साधनाबाट प्राप्त हुने दीक्षाका लागि गुरुले अवसर दिएको ठानी उनी आश्रममा गइन् । सिद्धबाबाले आफ्ना कक्षमा लगेर ती महिलालाई ‘आफूले भनेअनुसार नगरे अनिष्ट हुने’ धम्की दिई चुप लागेर बस्न बाध्य बनाएर र बलात्कार गरे । त्यसपछि सिद्धबाबाले ‘यो कुरा कसैलाई नभन्नु, भनेमा अनिष्ट हुन्छ’ भनेर फेरि धम्की दिए ।

    घटनापछि डरले चुप लागेर बसेकी ती महिला काठमाडौं फर्किइन् । केही सातापछि श्रीमान्‌ले सिद्धबाबा र उनीबीच भएको म्यासेजको विवरण हेर्दा ‘शारीरिक सम्पर्क’ को कुरा उल्लेख भएको थाहा पाए । त्यसपछि ती महिलाले सबै यथार्थ श्रीमान्‌लाई बताइन् । श्रीमान्को अग्रसरतामा ती महिलाले प्रहरीमा किटानीजाहेरी दिइन् ।

    किटानीजाहेरीपछि प्रहरीले सिद्धबाबालाई पक्राउ गरी बयान लियो । उनले आरोप अस्वीकार गर्दै बयानमा भनेका छन्, ‘म त्रिदण्डधारी साधु संन्यासी हुँ । मैले अग्नि र स्त्रीलाई स्पर्शसमेत गर्न हुँदैन ।’ ती महिलाले एक वर्षदेखि एकोहोरो म्यासेज गरेको अनि शिष्य र भक्तजनले समेत आग्रह गरेकाले एकपटक फोनमा कुरा गरेको सिद्धबाबाले दाबी गरेका थिए । भोला बराल भन्ने व्यक्तिको फोनबाट भएको कुराकानीमा नै सिद्धबाबाले ‘मबाट एकपटक गल्ती भयो, माफ पाऊँ, अब त्यस्तो हँदैन, भयो भने म लिंग नै काटेर फालिदिन्छु’ भनेका थिए । उक्त कल रेकर्ड सिद्धबाबाकै भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भयो । 

    प्रहरीले बलात्कार गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता गरायो । त्यही मुद्दामा जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीले सिद्धबाबालाई धरौटीमा छाड्ने आदेश गरेका थिए । पछि उच्च अदालतले गिरीलाई थुनामा पठाउने आदेश गर्‍यो भने सर्वोच्च अदालतबाट पनि त्यो आदेश सदर भयो ।

    धटनाका यथेष्ट प्रमाण

    बलात्कारजस्ता घटनामा अपराधीले अरूले थाहा नपाउने गरी गोप्य स्थान छनोट गरेका हुन्छन् भने सकेसम्म आफूलाई त्यससम्बन्धी प्रमाणबाट जोगाउँछन् । त्यसैले यस्तो घटनामा पीडितलाई नै प्रमाणका रूपमा ग्रहण गरिन्छ र अन्यथा प्रमाणित नभएको अवस्थामा पीडितको भनाइलाई प्रमुख प्रमाण मानिन्छ । जिल्ला अदालत स्रोतबाट कान्तिपुरलाई प्राप्त मिसिलको फोटोकपीमा उक्त बलात्कार घटना पुष्टि गर्ने कम्तीमा चार फरक प्रमाण छन् ।

    पीडितले सिद्धबाबाको नाम किटानीका साथ उल्लेख गरी आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् भने अर्कोतर्फ घटना हुनुअघि सिद्धबाबाले पीडितलाई साधनाका लागि आश्रममा बोलाएको म्यासेज प्राविधिक परीक्षणबाट पनि पुष्टि भएको छ । पीडित त्यस दिन आश्रममा गएको पनि पुष्टि भएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा घटनापछि सिद्धबाबाले पीडितलाई फोन गरेर माफी मागेका छन् । पीडितले रेकर्ड गरी उपलब्ध गराएको उक्त ‘अडियो फाइल’ को आवाज सिद्धबाबाको हो भनी विधिविज्ञान प्रयोगशालाबाट पुष्टि पनि भएको छ ।

    सिद्धबाबाले घटनापछि आफ्ना भक्त भोला बरालको फोनबाट एक घण्टा २० मिनेट पीडितसँग फोन गरेका थिए । उनले कुराकानीका क्रममा क्षमायाचना गरेको अडियो रेकर्डबारे पछि बयानमा आफ्नो होइन भनेका थिए तर उनले अन्य सवालजवाफमा ‘आफूले धर्मरक्षाका लागि साधकहरूको अनुरोधमा घटनाबारे भावविह्वल भई पीडितसँग माफी मागेको’ स्विकारेका थिए ।

    धटना पछिको अनुसन्धान

    पीडितको दाबीअनुसार त्यतिबेला अनुसन्धान अधिकृत डीएसपी विनोद शर्माले किटानीजाहेरी पर्नासाथ मिलापत्रका लागि दबाब दिएका थिए । अनुसन्धानका दौरान घटनास्थल लैजाने क्रममा सुनसरीका एसपी यज्ञविनोद पोखरेलले आफूलाई एकान्तमा लगेर घटनाबारे मिहिन रूपमा बयान गर्न लगाएको पीडितको प्रतिक्रिया थियो । अनुसन्धान अधिकृत शर्माले अनुसन्धानका दौरान करिब २४ जनासँग मौकाको कागज गराएका छन्, जसले सिद्धबाबाको पक्ष लिएर घटना भएको होइन भन्ने तथ्य स्थापित गर्न बल पुर्‍याएको देखिन्छ ।

    सिद्धबाबालाई जोगाउन अनुसन्धानदेखि नै चलाखी गरिएको थियो । मौकामा कागज गराइएका सुरक्षागार्ड भनिने मुकेश साह त्यसका उदाहरण हुन् । पीडितको दाबीअनुसार सिद्धबाबाले बोलाएका दिन उनी आश्रममा पुग्दा कोही थिएनन् तर पछि सिद्धबाबाले साहलाई सुरक्षागार्डका रूपमा प्रस्तुत गरे । घटना भएको रात आश्रममा गार्ड बसेको दाबी गर्ने साहले ‘त्यो दिन गुरु सुतेपछि मूलगेटको ताला लगाएर साथैमा चाबी राखेर खाटमा पल्टिएको’ बयान दिएका थिए ।

    अनुसन्धान बलियो बनाउनुपर्ने प्रहरीले पीडितको दाबीलाई खण्डन गर्न बल पुग्ने यस्ता प्रमाण जुटाएर आरोपपत्र पेस गरेको थियो । सोधपुछका दौरान उभ्याइएका सबैजसोले पीडितलाई दोष दिएका छन् । सिद्धबाबाका पक्षमा उभिएका उनीहरूले पीडितलाई ‘दिमागी रूपमा बिरामी भएको’ आरोप लगाएका छन्, जसलाई आरोपपत्रमा महत्त्वका साथ समावेश गरिएको थियो ।

    अभियुक्त  शिद्धबाबा

    सोलुखुम्बुको जुबुमा २०३१ फागुन १९ गते जन्मेका कृष्णबहादुर गिरी स्थानीय स्कुलमा कक्षा ७ मा फेल भएपछि २०४९ सालतिर घर छाडेर भारत गएका थिए । भारत प्रबासिनुभन्दा अघि गाउँमा जग्गाको सिमानाको विषय भएको विवादमा छिमेकीलाई मरणासन्न हुने गरी कुटपिट गरेकामा उनीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दासमेत परेको थियो । त्यो मुद्दा अझै छ । पछि उनले २०३० मंसिर १० गते जन्मेको भनेर सुनसरी जिल्ला प्रशासन कार्यालयबाट २०६५ पुस १७ गते अर्को नागरिकता पनि लिएका छन् । यसबारे स्थानीय प्रशासन ‘मौन’ छ ।

    घर छाडेको ६ वर्षपछि नेपाल आएर परिवारसँग उनको भेटघाट भएको थियो । घर आउँदा उनी युवा सन्तको भेषमा थिए । बालसन्तसँग बस्दाबस्दै उनले बराहक्षेत्रको चतरानहर पश्चिम किनारमा पर्ने सुनसरी मोरङ सिँचाइ आयोजनाको १३ बिघा जग्गा कब्जा गरेर आयुर्वेदको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरे । स्वास्थ्य शिविर सम्पन्न भइनसक्दै घेराबारा गरेर मन्दिर, हनुमानको प्रतिमा, रामानन्दचार्य सेवा पीठका भवनहरू धमाधम निर्माण गरे ।

    २०६५ सालदेखि उनले आफूलाई आयुर्वेदमा विद्यावारिधि गरेको डा. महासिद्ध योगी भनिएको पर्चा पम्प्लेटमा लेखाए । उनले आफू भारतमा रहँदा विभिन्न विषयमा आचार्य गरेको भन्न थालिसकेका थिए । पछिल्लो समय अयोध्यामा अनन्तश्री र सिद्धबाबा उपाधि पनि पाएका उनले चतराको जग्गामा आयुर्वेद विश्वविद्यालय खोल्न राजनीतिक दलका शीर्षस्थ नेतादेखि प्रहरी र सेना, प्रशासनिक निकायका सचिवहरूसम्म लबिङ गर्दै आएका थिए ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    रंगेलीका अग्नि पिडित परिवारका लागि घर निर्माण गरिदिने

    बैशाख-१५, शनिबार/मोरङ – मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा चैत्र ३ गते भएको आगलागी  पिडित...

    कूवेतमा संखुवासभा समाज कुबेत गठन,अध्यक्ष विजय लामा

    कुबेत -“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी...

    जन-जागृतिको साताै अधिवेशन सम्पन्न, राम बहादुर योन्जन तामाङ अध्यक्षमा चयन

    कुवेत–   जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal