शिव मुखिया
काठमाडौं – सर्वत्र तीजको रमझम । काठमाडौंका चोक र गल्लीमा गीत घन्किइरहेको थियो । अरुका छोरीचेली सडकमा निस्केर छमछम नाचिरहेका थिए । तर, अनामनगरमा निर्मला पन्तका बुबा र आमा रुमालले आँशु पुछ्दै थिए ।
आज तीजको दिन । छोरी निर्मला पन्त काखबाट लुटिएको डेढ महिना बित्यो । तर, खोई अपराधी ? खोई कारबाही ? अहिलेसम्म अत्तोपत्तो छैन । पन्त परिवारलाई यस वर्ष तीज आएको, नआएको केही पत्तै भएन ।
एकातिर छोरी गुमाउनुको पीडा, अर्कोतिर टाँढिदै गएको न्याय । ‘न्याय नपाए गोर्खा जानु’ भन्थे । अब त न्याय खोज्ने ठाउँ पनि छैन । जहाँ पुग्यो, त्यही संशयले घेरा हाल्छ । पन्त दम्पतीलाई कम्ता सास्ती छैन । तैपनि छोरीको खातिर लड्नुपरेको छ । जिउँदै पटक-पटक मर्नुपरेको छ ।
छोरी निर्मला पन्तको निर्जीव शरीर देखेको क्षणदेखि नै उनीहरु बेचैनीले घेरिएका छन् । खाने, सुत्नेको कुनै टुंगो छैन । छोरीको हत्यारा पत्ता लगाएर सजाय नदिलाएसम्म यी आमाबुबाको मनको जलन कसरी शान्त होस् ?
जति-जति दिनहरु लम्बिँदै जान्छन्, उनीहरुको छटपटी बढ्दै जान्छ । त्यही छटपटी, पीडा र वेदनाले थिलथिलो भएको ज्यान लिएर काठमाडौं आएका उनीहरु भन्छन्, ‘छोरीले न्याय नपाएसम्म घर फर्कदैनौं ।’
पन्त दम्पतीका दुई जोर फिका आँखा यही रंगीन महानगरमा मृतक छोरीका निम्ति न्याय खोजिरहेका छन् । त्यसैका निम्ति त हो, कञ्चनपुरबाट उनीहरु काठमाडौं हिँडेका । ठाउँ-ठाउँको पहिरो र जाम छिचोल्दै तीन दिनमा महानगर टेकेका छन्यी दम्पतीले ।
बुधबार अनामनगरको एउटा सभाहलमा निर्मलाका बुबा र आमा सन्तापले जलेको शरीर लिएर पत्रकारसामु उपस्थित भए ।
आमा दुर्गादेवी र बुबा यज्ञराज पन्त थपक्क कुर्सीमा बसेका थिए । अघिल्तिरबाट सञ्चारकर्मीले घेरा हाले । पछिल्तिर उनीहरुकै साथमा आएका अधिकारकर्मी उभिएका थिए ।
उनीहरुका भासिएका गहिरा आँखाहरु ओसिला देखिन्थे । अनुहार थकित थियो । हप्तौदेखि ती अनुहारबाट खुसीको रंग लुटिएको प्रष्टै बुझ्न सकिन्थ्यो । कति उदास, कति विक्षिप्त !
त्यतिका दिनसम्म कति लडे होलान् न्यायको लडाइँ । कति कराए होलान्, कति उफ्रिए होलान् । कराउँदा कराउँदै आवाज भासियो ।
उफ्रिदा उफ्रिदै ताकत निख्रियो रुँदा-रुँदै आँखा भासिए । तर, यी निरीह दम्पतीले अहिलेसम्म न्याय पाएनन् । न्यायका निम्ति कहाँ-कहाँ भौंतारिए उनीहरु ? कति चोटपटक सहे । कति आरोप-प्रत्यारोप झेले । तर, न्याय साह्रै महंगो !
ठेलामा चटपटे बेचेर गुजारा चलाउने पन्त दम्पतीले घाँटी सुक्नेगरी कराए पनि कसैले ठाडो कान गरेनन् । भीमदत्त नगरपालिकाका स्थानीयवासीले भने उनीहरुसँग दहि्रलो हातेमालो गरे । हत्यारा पत्ता लगाउन दवाब दिँदै सडकमा उत्रिए । तर, उल्टै उनीहरुमाथि दमन गरियो । लाठी, गोली बर्साइयो । त्यसै क्रममा अर्को एक दम्पतीले छोरो गुमाउनुपर्यो । कतिका छोराछोरी अस्पतालका शैयामा छटपटाइरहेका छन् अझै पनि ।
निर्मलाका परिवारलाई सञ्चार माध्यमले साथ दिएका छन् । सारा समाज उर्लिएको छ निर्मलाको पक्षमा । देश-विदेशबाट दबाव आइरहेका छन् । तर, न्यायदाताले टेरपुच्छर लगाएका छैनन् । अनेकन नाटक मञ्चन भइरहेको छ सिंहदरबारमा ।
‘यति धेरै साथ पाउँदा त न्याय पाइँदैन’ निर्मलाकी आमा दुर्गादेवीले सञ्चारकर्मीमाझ गुनासो पोखिन्, ‘साथ नपाउनेहरुको अवस्था कस्तो होला ?’
छोरी त्यसदिन आफूसँगै थिई । विद्यालय विदा थियो । छोरीलाई चटपटे दोकानमा छाडेर उनी किनमेलका लागि बाहिर गइन् । र्फकदाँ छोरी घरमा थिइनन् । साँझ पर्यो, छोरी फर्किइनन् । त्यसअघि निर्मला त्यसरी हराएकै थिइनन् ।
मनमा चिसो पस्यो । कान्छी छोरीले भनिन्, ‘रोशनी दिदीले बोलाएर त्यतै गएकी छिन् । चटपटेको पैसा लिन बाँकी छ, नोटबुक पनि ल्याउनु छ ।’
आमा दुर्गादेवी साँझमा रोशनी बम बस्ने घरको गेट अघिल्तिर पुगिन् । ‘निर्मला खोइ’ भनिन् । निर्मला दिउँसै घर फर्किएको जवाफ आयो । तर, छोरी त्यहाँबाट काहाँ जान्छे ? जाने ठाउँ थिएन । दुर्गादेवीले उनै रोशनीलाई केरकार गरिन् । रोशनीकी दिदी बबिता झर्किँदै आइन् र हप्काइन्, ‘तिम्री छोरी पोइल गइन् होला, त्यतै खोज । यहाँ आउने होइन ।’
दुर्गादेवी घर फर्किइन् । छोरीको अत्तोपत्तो थिएन । प्रहरीलाई फोन गरिन् । प्रहरीले भन्यो, ‘आज राति भयो, भोलि खोजौंला ।’
यसरी न्यायको आशा गरिएकाबाटै निराशा हात लाग्यो । र, त्यो उपक्रम आजसम्म जारी छ । न्याय कहिले पाउने ? थाहा छैन । तर, जबसम्म न्याय पाइँदैन, तबसम्म उनीहरु थाक्ने छैनन् । ‘न्याय नपाएसम्म हामी र्फकंदैनौं’ यसो भनिरहँदा निर्मलाका बुबा यज्ञराज रुमालले आँशु पुछिरहेका थिए ।