
धरान । धरान उपमहानगर धरानमा समुदायमा कोरोना भाइरसको संक्रमित थपिँदै गएपछि धरान नगरले आइसोलेशन बनाउने तयारी गर्दै ५० बेड क्षमताको आइसोलेशन थप्ने भएको छ ।
धरानमा कोरोना भाइरस संक्रमितको चाप बढ्दै गएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको आइसोलेशन अभाव हुन थालेपछि नगरले आइसोलेसनका लागि थप पहल थालेको हो । नगरमा सोमबार मात्रै २ महिलासहित ९ जनामा कोरोना संक्रमण देखिएको थियो । वीपी प्रतिष्ठान भित्रको कोभिड १९ अस्पताल अझै सञ्चालनमा नआएपछि नगरले बाध्य भएर ५० बेडसम्मको आइसोलेसन बनाउने तयारी थालेको धरानका नगर प्रमुख तिलक राईले जानकारी दिए ।
नगर प्रमुख राईका अनुसार धरानमा कोरोना संक्रमित दैनिक बढ्न थाल्यो, कोभिड १९ अस्पताल अझै पनि सञ्चालन भएन, वीपीमा रहेको आइसोलेशन पनि भरिँदै गएको छ, बिरामीको चाप थेग्न वीपीमा थप समस्या भइरहेको छ । नगरभित्रैका होटल तथा धर्मशालाहरूसँग आग्रह गरेका छौं । नगरले धरान नगरभित्रका केही होटल तथा धर्मशालासँग आइसोलेसन बनाउनका लागि छलफल अधिबढाएको समेत बताए ।
नगरले कम्तिमा पनि ५० बेड क्षमताको आइसोलेशन बनाएर थप हुनसक्ने संक्रमण रोक्ने तयारी थालेको हो । धरानमा सोमबारसम्म ५५ जना संक्रमित पुगिसकेका छ । गत साउन १४ गते धरानको औद्योगिक क्षेत्रको प्रीति भल्भ एण्ड फिटिङ्स इण्डष्ट्रिज प्रालिमा अडिटरका रूपमा कार्यरत धरान–१३ का २८ वर्षीय युवकमा कोरोना पुष्टि भएपछि नगरमा समुदायमा कोरोना फैलिएको अनुमान गरिएको थियो । त्यसयता प्रीति भल्भमा मात्रै काम गर्ने ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो भने प्रीति भल्भकै कर्मचारीका कारण धरान ३ का एकै परिवारका ५ जनालाई कोरोना पुष्टि भएको थियो ।