पनौती। तस्बिरः प्रशान्त श्रेष्ठ
फ्रान्समा एउटा सहर छ– सेन्ट म्यामस। राजधानी पेरिसबाट ६१ किलोमिटर दूरीको यो सहर ‘सेन’ र ‘लोइन’ नदी बीचमा छ।
सन् १९७० मा फ्रान्सेली दूतावासमार्फत् जेरार्ड टोफिनको समूह नेपाली सम्पदा र वास्तुकला अध्ययन गर्न आएको थियो। समूह सदस्यहरु धेरै ठाउँ घुमे। यही क्रममा १९७६ मा काभ्रेको पनौती पुगे।
रोशी र पुण्यमती नदीबीचको पनौती बस्तीले उनीहरूलाई सेन्ट म्यामसकै झल्को दियो।
टोफिनको समूहले दूतावासको सहायतामा पनौतीका मठ–मन्दिर अध्ययन-अनुसन्धान गर्यो।
‘पनौतीका सम्पदा र वास्तुकलामा काम गर्न पाउनु मेरा लागि सबभन्दा खुसीको क्षण थियो,’ ददि सापकोटाले लेखेको ‘त्यो नेपाल’ नामक किताबमा टोफिनले भनेका छन्, ‘मन्दिर जिर्णोद्धार र अन्य विकासका काम गर्दा मैले त्यहाँको जातीय सँस्कृतिबारे अध्ययन गर्ने मौका पाएँ।’
फ्रान्सेली टोलीले काम सकेपछि यहाँका सम्पदा र वास्तुकलाबारे ‘पनौती’ नामक किताब लेखे। यही किताबमार्फत पनौती जिर्णोद्धार सजिलो भएको स्थानीय बताउँछन्।
पनौती प्राचीन सहर हो। स्थानीय नेवारभाषी यसलाई ‘पलाँती’ भन्छन्। यसको अर्थ हो, ‘पाइला राख’। यो ठाउँमा सबैले एकपटक पाइला राख्नुपर्ने धार्मिक मान्यता छ।
संस्कृतिविद् ओम धौभडेलका अनुसार गोपाल राजवंशावलीमा सर्वप्रथम नेवारी भाषामा ‘पुनन्ती’ भनी पनौती उल्लेख भएको पाइन्छ। बिसं १४१८ मा ‘सुग्रिवशास्त्र’ नामक किताबमा पनौतीलाई पुण्यमती नगर भनिएको छ। यो किताब राष्ट्रिय अभिलेखालयमा छ।
त्यस्तै, बिसं १४५२ को हस्तलिखित ग्रन्थ ‘दसकर्म पद्धति’ मा पनौतीको इन्द्रेश्वर महादेवबारे उल्लेख छ। पाटनको हरिहर मूर्ति स्थापनाताका पनौतीलाई ‘पूर्णमत्या पट्टमण्डप’ भनी उल्लेख गरिएको थियो।
धौभडेलका अनुसार नेसं ६०२ मा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर थियो। भक्तपुरका अन्तिम राजा यक्ष मल्लको मृत्युपछि पनौतीसँग भक्तपुरको प्रत्यक्ष सम्बन्ध कायम भयो।
भक्तपुरका प्रभावशाली गंगा महारानीले तलेजुभित्र दिक्षा लिएको घटनालाई लिएर कान्तिपुरका राजा नरेन्द्र मल्लले भक्तपुरमाथि आक्रमण गरेको धौभडेल बताउँछन्। यस क्रममा पनौतीमा पनि युद्ध भएको उल्लेख छ।
‘उनै महारानी पालाका केही घटनाक्रममा पनौती उल्लेख भएको अर्को महत्वपूर्ण प्रसंग हो। महारानीले पनौती इन्द्रेश्वर महादेव पछाडिको नारायण मूर्ति स्थापना गरेकी थिइन्। यसबाट पनौती नगर विकासमा ध्यान दिइएको पुष्टि हुन्छ,’ धौभडेलले भने।
गंगा महारानीपछि उनका नाति नरेश मल्लको नाममा भक्तपुरका कृष्णराम चित्रकारले इन्द्रेश्वर महादेवमा सिंह स्थापना गरे। नरेश मल्लले भक्तपुरमै आफ्नो प्रभाव बढाउन सकेनन्। उनीपछि जगतप्रकाश मल्लको पालामा पनि अवस्था उस्तै रह्यो।
धौभडेलका अनुसार पनौती २ सय २२ वर्षभन्दा बढी भक्तपुरे मल्लहरूको शासनमा थियो। त्यो बेला भक्तपुरका पूर्वमा ७ र पश्चिममा ७ गाउँ थिए। पूर्वका सात गाउँमध्ये पनौती एक थियो।
‘विसं १८२० असारमा पृथ्वीनारायण शाहले भक्तपुरका गाउँ जित्ने व्यवस्था मिलाउन आफ्ना भारदार रामकृष्ण कुँवरलाई पनौती पठाएका थिए। यही क्रममा नुवाकोटबाट पृथ्वीनारायण शाहले कुँवरलाई पठाएका चिठीमा पनि पनौतीको कुरा उल्लेख छ,’ उनले भने।
कुँवरलाई चिठी पठाएलगत्तै पृथ्वीनारायण शाह साउनमा काभ्रे पुगे। गोर्खाली फौजलाई धुलिखेल, चौकोट, खड्पु, पनौती आक्रमण गर्न सजिलो होस् भनेर काभ्रेलाई मुकाम बनाए। कात्तिक १० गते उनीहरूले धुलिखेल जिते। भोलिपल्ट चौकोट, खड्पु र पनौती पनि जिते। यसरी मल्लकालीन पनौती इतिहासको एक अध्याय सकियो।
पनौती सभ्यता भक्तपुरबाटै अभिप्रेरित छ। धौभडेलका अनुसार भक्तपुर र पनौतीका यालाछेँ, चोछेँ लगायत ठाउँ मिल्छन्। मल्लकालमा पनौतीमा मुख्य पदका व्यक्ति नियुक्ति भक्तपुरबाटै हुन्थ्यो। इन्द्रेश्वर महादेव मन्दिरमा भक्तपुरका जगंम मठका पुजारी पठाइन्थ्यो। ती मानिस पनौतीमै बसाइ सर्थे। यसैले भक्तपुरका सैंजु, दुवाल, प्रजापति लगायत थर पनौतीमा पनि छन्। यी दुई सहरबीच वैवाहिक सम्बन्ध पनि हुन्छ।
पनौती खेतीका लागि प्रसिद्ध छ। हावापानी राम्रो छ। चिसो ठाउँ र सिँचाइ पनि राम्रो भएकाले उब्जनी राम्रो हुन्छ। धौभडेलका अनुसार मल्लकालमा भक्तपुरको अन्न भण्डार नै पनौती थियो। त्यहाँका राजाहरूले पनौतीबाट अन्न ल्याउँथे।
स्थानीय तुयुकाजी ताम्राकारका अनुसार पनौती बस्ती योजनाबद्ध र वैज्ञानिक तरिकाको छ। प्रत्येक सय मिटरमा पाटी–पौवा छन्। बाटो ६ देखि १८ फिटसम्मका छन्। बस्ती बीचमा चोक छन्। प्रत्येक गल्ली र चोकमा पानी बग्ने नाली छ। यसैले जस्तोसुकै वर्षामा पनि पानी जम्दैन।
‘भूकम्पीय दृष्टिकोणले यस्तो बस्तीमा जोखिम कम हुन्छ,’ उनले भने, ‘यहाँका घर आपसमा जोडिएका छन्। भुइँचालोमा भत्किने जोखिम कम छ।’
वास्तुविद्हरू पनौती नमूनायोग्य बस्ती भएको बताउँछन्। १९९० र २०७२ सालको भुइँचालोमा पनि बस्तीमा असर नहुनुले यसको पुष्टि गर्छ।खोलाकिनारको यो बस्ती एउटै ढुंगामाथि बसेको उनीहरू बताउँछन्।
जेरार्ड टोफिनको टोलीपछि पनि फ्रान्सेलीको चासो पनौतीमा रहिरह्यो। सन् १९८२ मा फ्रान्सकै ख्रेजी–ले–मो सहरका सांसद रोबर्ट–ले–फोल पहिलोपटक पनौती आए। उनले यहाँ कृषियोग्य फाँट देखे। यसको सुधारनिम्ति उनलाई कृषि औजार सामग्री निर्माण गर्ने शिक्षालय बनाउन मन लागेछ। उनले सुरुमा फ्रान्समै ‘फ्राँस नेपाल ब्रि पनौती’ नामको संस्था खोले। उनी फ्रान्सको ब्री क्षेत्रका थिए। सांसद रोबर्टले ब्री क्षेत्र र पनौतीको मित लगाए। पनौतीमा पनि ‘पनौती ब्री नेपाल फ्राँस’ नामक संस्था खोल्न सुझाए।
‘यो संस्थामार्फत् प्रत्येक तीन वर्षमा नेपालबाट दुई विद्यार्थी फ्रान्समा कृषि औजार निर्माण र डिजेल मोटर इन्जिन पढ्न पुग्थे। फ्रान्सेली पनि नेपाल आउँथे,’ संस्थासँग आबद्ध शिव जंगमले भने, ‘पछि संस्थामा आपसी मतभेद भयो। लामो समय टिकेन। नयाँ पुस्ताले त्यति राम्रो अवसर उपभोग गर्न पाएनन्।’
फ्रान्ससँग मितेरी साइनो जोडेको यो संस्थाले पनौतीमा खानेपानी, अस्पताल, बाटो, मठ–मन्दिर पुनर्निर्मार्ण र जिर्णोद्धार गर्यो। ख्रेजी–ले–मो सहरका उनै सांसद रोबर्टले ब्री क्षेत्रका दुई गल्लीको नाम पनौती र गोरखा राखे।
‘म सांसद हुँदा वैदेशिक सम्बन्ध विस्तार गर्न चाहन्थेँ। मलाई लाग्थ्यो यहाँका बस्तीले पनि अन्तर्राष्ट्रिय सम्बन्ध देखाऊन्,’ ‘त्यो नेपाल’ किताबमा रोबर्टको भनाइ छ, ‘मेरो संस्थाले पनौती र गोरखामा काम गरेको सम्झना जीवित राख्न मैले गल्ली नामाकरण गरेँ। यहाँ हिँड्दा मलाई नेपालको पनौती र गोरखाको सम्झना ताजा हुन्छ। यो गल्ली ती दुई ठाउँका साथीभाइ, इष्टमित्रसँगको चिनजान र मित्रताको प्रतीक पनि हो।’
रोर्बटका अनुसार फ्रान्सका गोरखा र पनौतीमा खेलकुदका लागि ठाउँ, कलेज र पसल छन्। कृषियोग्य फाँट छन्। सेन नदीको प्रभाव छ। पनौतीमै जस्तो। यहाँका घर, संरचना डिजाइन र वास्तुकला भने युरोपेली शैलीमा छ।
ब्री क्षेत्रका यी दुई गल्लीले गोरखा र पनौतीको माया, ममता, स्नेह, सम्झना र मित्रताको चिनो बोकेका छन्। यी गल्लीलाई फ्रान्समा रहेका नेपालीले तीर्थस्थल मान्ने गरेको लेखक ददि सापकोटाले बताए। उनका अनुसार फ्रान्समा गोरखालाई ‘गोका’ र पनौतीलाई ‘पानोती’ भनिन्छ।
पनौती युनेस्कोको विश्व सम्पदा सूचीमा प्रस्तावित छ। केही आधुनिक घरका कारण सूचीकृत हुन नसकिरहेको स्थानीय प्रशान्त श्रेष्ठले बताए।
‘विश्व सम्पदामा सूचीकृत भए पनौतीको पहिचान विश्वभर फैलिने थियो,’ उनले भने, ‘यसले पर्यटकीय, धार्मिक, ऐतिहासिक, सांस्कृतिक सबै रुपमा संरक्षणमा टेवा पुग्थ्यो।’
‘सायद, फ्रान्सेलीले मन पराएको यो सहर विश्वले मन पराउँथ्यो।’सेतोपाटीबाट